२६ अस्पतालमा स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा सुरु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २० असार

सामाजिक सुरक्षा कोषले २६ वटा अस्पतालहरुबाट ‘स्वचालित विद्युतीय प्रणाली’मा आधारित स्वास्थ्य सेवा सुरु गरेको छ।  सेवाको  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सोमबार शुभारम्भ गरेका हुन्।

स्वचालित विद्युतीय प्रणालीको शुभारम्भ गर्दै मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषलाई थप व्यवस्थित बनाउने बताए।

उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूको लागि यो सेवा थप बिस्तार गर्दै लगिने बताए।

उनले श्रमिक वर्ग अहिले पनि सबैबाट पीडित रहेकाले सुरक्षा कोषको यो स्वास्थ्य सेवाले उनीहरूलाई सहज बनाउने दाबी गरे।

कोषसँग १२६ अस्पतालहरूले एमओयू गरेको भएपनि हाल २६ वटा अस्पतालबाट  ‘स्वचालित विद्युतीय प्रणाली’मा आधारित स्वास्थ्य सेवा सुरु गरिएको कोषले जानकारी दिएको छ। कोषमा आबद्ध स्वास्थ्य संस्थाहरूको संख्या क्रमशः बढाउँदै लगिने कोषले बताएको छ।

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा बापतको सुविधा लिँदा योगदानकर्ताले २० प्रतिशत भुक्तानी गरी बाँकी ८० प्रतिशत र दुर्घटना बापतको सुविधा लिँदा शतप्रतिशत रकम नै कोषबाट सम्बन्धित स्वास्थ्य संस्थालाई भुक्तानी हुनेछ।

यस प्रणाली कार्यान्वयनमा जाँदा योगदानकर्ताले स्वास्थ्य उपचारको लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम शोधभर्नाको निम्ति कागजातसहित कोष कार्यालयमा जानुपर्ने झन्झटको अन्त्य हुने कोषले आशा व्यक्त गरेको छ।

कोषले सञ्चालन गर्ने सुविधाहरूमध्ये औषधि उपचार, स्वास्थ्य तथा मातृत्व र दुर्घटना तथा अशक्तता सुरक्षा योजना स्वास्थ्यसँग सम्बन्धित योजनाहरू हुन्। योगदानकर्ताको सुविधालाई मध्यनजर गरी परीक्षणका रुपमा स्वास्थ्य संस्थामार्फत औषधि उपचार सेवा प्रारम्भ गरेकाले कोषबाट प्रदान गरिने स्वास्थ्य सुविधाहरू तोकिए बमोजिमका स्वास्थ्य संस्थामा गई प्राप्त गर्न सकिने कोषको भनाइ छ।

अनलाइन प्रणाली जडान भएका अस्पतालहरूमा मनमोहन मेमोरियल पूर्वाञ्चल क्षेत्रीय सामुदायिक अस्पताल, बीएण्ड सी हस्पीटल, मेची दृष्टि आई केयर अस्पताल एण्ड रिसर्च सेन्टर, मोरङका विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, नोवेल मेडिकल कलेज, हाम्रो अस्पताल, सुनसरीको पशुपति मोडेल हस्पिटल, सप्तरीको छिनमस्ता एजुकेशनल एकेडेमी एण्ड मेडिकल कलेज, सर्लाहीको नमूना सामुदायिक अस्पताल, पर्साको नेशनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर र वीरगञ्ज दृष्टि आई केयर सेन्टर रहेका छन् ।

यस्तै, चितवनको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिकल साइन्स, बाँकेको लर्ड बुद्ध एजुकेसनल फाउण्डेसन (नेपालगञ्ज मेडिकल कलेज), काभ्रेपलान्चोकको शिर मेमोरियल अस्पताल, काठमाडौँको हेल्पिङ ह्याण्ड सामुदायिक अस्पताल, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, अर्थाेपेडिक अस्पताल, दृष्टि आई केयर, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र पाटन अस्पताल ललितपुरमा समेत अनलाइन प्रणाली जडान भएकाले योगदानमा आधारित समाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकहरूले परिचयपत्र देखाएर निःशुल्क रूपमा उपचार गर्न सक्ने भएका छन्।

यसअघि कोषमा आबद्ध योगदानकर्ताले तोकिएका अस्पतालमा उपचार गराएको बील बुझाएर कोषबाट भुक्तानी लिनुपर्ने अवस्था थियो। अब योगदानकर्ता कोषले उपलब्ध गराएको परिचयपत्र लिएर उपचारका लागि तोकिएको अस्पताल जानुपर्छ। सम्बन्धित अस्पतालमा कोषको प्रणाली जडान गरिएको छ। सो प्रणालीबाट योगदानकर्ताले पाउने उपचार खर्चको विवरण हेर्न सकिने छ। सोही आधारमा तोकिएमध्येबाट बाँकी रकम बराबरको उपचार योगदानकर्ताले पाउनेछन्।

संविधानको धारा ३४ ले प्रत्याभूत गरेका श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक कार्यान्वयन गर्न २०७५ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सुरु भएको छ। हालसम्म कोषमा १७ हजार १५४ रोजगारदातासँग आबद्ध तीन लाख ४४ हजार ५३१ योगदानकर्ता कोषमा सूचीकृत भएका छन्। हालसम्म करिब ३२ हजार योगदानकर्ताले विभिन्न सुविधा लिएको कोषले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *