नगर प्रमुख प्रजापतिद्वारा राष्ट्रिय वाणिज्य बैंक लि. कमलविनायक शाखा कार्यालयको उद्घाटन

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट, संवाददाता
भक्तपुर, १४ मंसिर


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बि.सं. २०२२ साल माघ १० गते स्थापना भएको नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय बाणिज्य बैंक लि. कमलविनायक शाखा कार्यालयको मंगलबार एक समारोहबीच समुद्घाटन गरेको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रजापतिले सरकारको पूर्ण स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो बैंकले आगामी दिनहरुमा जनताको विश्वास जितेर जनउत्तरदायी र पारदर्शी ढंगले काम गर्ने विश्वास व्यक्त गर्दै देशको अर्थतन्त्र विकासको लागि बैंकले उपयोगी कदमहरु चाल्दै जानेमा विश्वास व्यक्त गरे ।


बैंक तथा वित्तीय संस्थाहरु राज्य व्यवस्थाको स्नायु केन्द्रको रुपमा रहेको औंल्याउँदै यसको विकास र प्रगति गर्दै लानुपर्छ भन्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आफ्ना सबै आर्थिक कारोबार नेपाल सरकारबाट सञ्चालित बैंकमार्फत गर्दै आइरहेको बताए ।
नेपालले केही अरब रुपैयाँको निम्ति आफ्नो स्वाभिमान बेच्न नहुने तर्क राख्दै उनले एमसीसी अमेरिकी रणनीतिअन्तर्गतको सैनिक गठबन्धनको एक अंग र देशभक्त नेपाली जनता एकजुट भएर एमसीसीको विरुद्धमा आवाज उठाउनुपर्नेमा जोड दिए ।
लामो समयदेखि सिंहदरबारभित्र भारतीय लगानी रहेको निजी बैंकले मात्रै कारोबार गर्दै आएकोमा हाल पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत कारोबार सुरु हुनु सकारात्मक कदम भएको बताउदै विदेशी बैंकलाई पूर्ण रुपमा छुट दिए देशका अन्य बैंकहरु डुब्ने खतरा रहेको औंल्याए ।


कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले नेपालको ७७ वटै जिल्लाहरुमा आफ्नो शाखाहरु विस्तार गर्दै लाने उद्देश्य राखेको बताउदै औद्योगिक, व्यापारिक तथा पूँजी बजार, कर्जालगायत अन्य क्षेत्रहरुमा ग्राहकहरुलाई विविध बैंङ्किङ सेवा पु¥याउँदै आएको बताए । भक्तपुर नपाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्यहरु प्रशंसनीय भएको उल्लेख गर्दै भक्तपुरबाट अरु स्थानीय तहहरुले सिक्नुपर्ने बताए ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले जनताको सेवाको निम्ति गरिएको शाखा बिस्तारको व्यवसायिक सफलताको कामना गर्दै वित्तीय संघ संस्थाहरु जनउत्तरदायी र जनताको विश्वास कार्यम गर्ने ढंगले सञ्चालित हुनुपर्ने बताए ।
राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धर, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, बैंकका जितेन्द्रसिंह थापालगायतले बैंकको उद्देश्यहरुमाथि प्रष्ट पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *