भक्तपुर बचतको रजत महोत्सव सूर्यमढीमा

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, २२ कात्तिक


सहकारिताः लगनशीलता र पारदर्शिता हाम्रो प्रतिबद्धता नाराका साथ वि.सं. २०५४ कात्तिक १९ गते ४० जना स्थानीय युवाहरुबाट स्थापित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को रजत वर्ष महोत्सव यही कात्तिक २७ गते शनिवार सूर्यमढीमा हुने भएको छ ।
आइतबार भएको पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाको विगतको इतिहासलाई स्मरण गर्दै भक्तपुर बचतप्रतिको स्थानीयबासीको विश्वासले पच्चीसौं वर्षमा प्रवेश गर्न सफल भएको बताए । उनले सत्य र न्यायको पक्षमा पत्रकार सधै उभिनुपर्ने बताउँदै समुदायमा आधारित भएकै कारण संस्थाको आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिमा अगाडी रहेको बताए । उनले यससँगै शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, साना तथा मझौला व्यवसाय लगायतका क्षेत्रमा एक हजार सात सय जनालाई ऋण सेवा दिइरहेको बताए । साथै नेपाल सरकारको राम्रो नीति तथा कार्यक्रमको अभावले कृषि तथा उत्पादनमूलक क्षेत्रमा काम गर्नेका लागि ऋण प्रवाहमा कमी आएको बताए । सदस्यको विश्वासले हाल संस्थाले २८ आना ३ पैसा साढे २ दाम जग्गा जोड्न सफल भएको स्पष्ट पार्दै उनले ७ करोडको सम्पत्ति सामान रहेको बताए ।

संस्थाका कोषाध्यक्ष राम प्रसाद प्रजापतिले संस्थाले यहि कात्तिक २० गतेसम्मको वासलात ३ अर्ब १२ करोड २२ लाख १० हजार रहेको बताए । उनले निक्षेप जम्मा २ अर्ब ५६ करोड ४१ लाख ७२ हजार, ऋण लगानी २ अर्ब ६८ करोड ३८ वलाख ६९ हजार र जगेडा तथा अन्य कोष १५ करोड ६४ लाख ९५ हजार रहेको जानकारी दिए ।

३ हजार ६ सय ५५ पुरुष सदस्य र ४ हजार १ सय ६७ महिला सदस्यसहित ७ हजार ८ सय २२ जना सदस्य रहेको उक्त संस्थामा १ हजार २ सय ५८ जना बाल सदस्य रहेको संस्थाका कोषाध्यक्ष राम प्रसाद प्रजापतिले बताए । कार्यक्रममा पत्रकारहरुले सोधेका प्रश्नको अध्यक्षबाट जवाफ दिएको थियो ।

रजत वर्ष महोत्सवका अवसरमा संस्थाले साप्ताहिक कार्यक्रमको घोषणा गरेको छ । त्यसैक्रममा कात्तिक २२ गते ७० वर्ष माथिका ज्येष्ठ सदस्य तथा बचतकर्ताहरुलाई पौष्टिक आहार वितरण र महिला भेला कार्यक्रम रहेको छ । कात्तिक २३ गते स्थानीय वाकुपति नारायणस्थानमा कसिमला पाय् प्रतियोगिता, २४ गते सूर्यमढीमा खुला रक्तदान कार्यक्रम, २५ गते सरसफाइ कार्यक्रम, २६ गते साँझ ४ बजे बाँसुरी, भ्वाइलिन, धिमे बाजासहित रजत वर्ष प्रचारार्थ सुकुन्दा र्‍याली र २७ गते विहान ११ बजे सूर्यमढीमा स्मारिका विमोचनसहितको रजत वर्ष महोत्सव गर्ने संस्थाका व्यवस्थापक सत्यनारायण साँयजूले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *