झन्डै पाँच लाखले छोडे उपत्यका

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ बैशाख

झन्डै पाँच लाखले छोडे उपत्यका

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको अनुमान छ ।
कोरोना भाइरस (कोभिड–१९०) महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा निषेधाज्ञा जारी गरिएको हो ।
गोँगबुस्थित नयाँ बसपार्क मङ्गलबार बिहानैदेखि घर फर्किनेहरूले खचाखच भरिएको थियो । यातायात व्यवसायी मिन पनेरुले बसपार्कबाट छुटेका प्रायː सबै सवारी साधन यात्रुले भरिभराउ भएको जानकारी दिए ।
देशका विभिन्न स्थानबाट काठमाडौँ उपत्यका भित्रिएका बस, माइक्रोबस र मिनीबसलाई तत्कालै सम्बन्धित गन्तव्यमा पठाउने काम भइरहेको उनले जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार मात्र झन्डै पाँच लाख जनाले उपत्यका छोडेको अनुमान गरिएको छ ।
महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले सङ्ख्यामा उल्लेख गर्न नसके पनि नाकामा दशैँ–तिहारकै जस्तो भीड बढेको बताए ।
उपत्यका भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर रहेको छ । नागढुङ्गा, भक्तपुरको जगाते, बल्खु–फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका नाकाबाट भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर पुगेको ट्राफिक प्रहरीले जनाएको छ ।
मङ्गलबार लामो दूरीका यात्रुको सङ्ख्या बढी देखिएको छ भने बुधबार छोटो दूरीका यात्रुको चाप बढ्ने अनुमान यातायात व्यवसायीको छ । नागढुङ्गा नाकाबाट मात्र मङ्गलबार १५ हजार सार्वजनिक सवारी साधन बाहिरिएका छन् ।
ती सवारी साधनबाट करिब दुई लाख ५० हजार यात्रु बाहिरिएको प्रहरीको अनुमान छ ।
महानगरीय प्रहरी कार्यालयका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म एउटै नाकाबाट यति धेरै यात्रु बाहिरिएका हुन् । त्यस्तै, जगातेबाट पनि करिब एक लाख बाहिरिएको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *