भक्तपुर नगरपालिकाको स्पष्टोक्ति

अर्थ/वाणिज्य राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, ६ कात्तिक

मिति २०७७ असोज २९ गतेको ‘नयाँ पत्रिका’ दैनिकले भक्तपुरका स्थानीय तहमा बेथिति शीर्षकको समाचारमा यस भक्तपुर नगरपालिकाको गम्भीर ध्यान आकृष्ट भएको छ । सो समाचारमा महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको २२ करोड ५२ लाख बेरुजु भनी उल्लेख गरिएको छ । यस समाचारले समाजमा केही भ्रम श्रृजना गरेको देखिएको हुदा यसबारे यहाँ प्रष्ट पार्न चाहन्छौं ।

सर्ब प्रथम भक्तपुर नगरपालिकामा हुने अधिकांश विकास निर्माणको कार्य उपभोक्ता समितिमार्फत हुँदै आएको स्पष्ट पार्न चाहन्छौं । महालेखाले लेखा परीक्षण गर्दा प्रत्येक वर्षको आर्थिक मसान्तसम्म सबै पेश्की खर्च फछ्र्यौट भइसकेको हुनुपर्ने कानूनी व्यवस्था छ । चालु रहेका धेरै योजनाहरुको पेश्की खर्चहरु फछर्यौट बाकी नै हुने, चौमासिक सामाजिक सुरक्षा भत्ता समयमा प्राप्त नहुने हुदा कतिपय रकम असार मसान्तसम्ममा फछर्यौट हुन नसकेका जस्ता कारणले बेरुजु रकम केही बढी देखिएको हो । यी सबै रकमहरु कार्य सम्पन्नसँगै फछर्यौट हुँदै जाने हुदा सैद्धान्तिक बेरुजु मात्रै हुन् भन्ने प्रष्ट पार्न चाहन्छौं ।

असुल उपर गर्नुपर्ने भनी उल्लेख गरेको रु. ३७,९५,०००।— मध्ये रु. १८,७४,५००।— को बैठक भत्ता प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेश, हेटौंडा, प्रदेश सभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको ऐनको दफा २ को ३ मा निर्वाचित भई सकेपछि पहिलो पटकको हकमा सपथ ग्रहण भएपछि अनुसूची १(क), १(ख), १(ग) बमोजिम सुविधा प्राप्त हुनेछ भनी व्यवस्था भए अनुसार कानून बमोजिम खर्च गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं । असुल उपर गर्नुपर्ने बाँकी रु. १७,२०,५०० मध्ये विभिन्न व्यक्ति तथा संघ—संस्थाहरुबाट रु. ५६,३२४।— असुल उपर भईसकेको र अरु बाँकी असुल उपरको प्रकृयामा रहेको जानकारी गराउन चाहन्छौं ।

त्यस्तै सोही बेरुजुमध्ये नियमित गर्नुपर्ने भनि उल्लेख भएको रु. ६ करोड ५५ लाख कानुन सम्मत नियमित गर्न भ.न.पा.को लेखा समितिमा छलफल भई आगामी नगरसभामा पेश गरी कानून वमोजिम बेरुजु फछ्र्यौट गर्ने प्रकृयामा रहेको छ ।

प्रमाण कागजात पेश गर्नुपर्ने भनि उल्लेख भएको रु. ३ करोड ३८ लाखको सम्बन्धमा आवश्यक सहायक कागजात विभिन्न व्यक्ति तथा संघ संस्थासँग माग गरी प्रमाण संकलन गरीसकेको र सोको लेखा समितिमा छलफल समेत भई बेरुजु फछ्यौटका लागि नगरसभामा प्रस्तुत गर्ने प्रकृयामा रहेको छ ।
पेश्की फछर्यौट हुन बाँकी रु. १२ करोड २१ लाख मध्ये कार्य सम्पन्न भई पेश भएको विल तथा भरपाईको आधारमा आ.व ०७६।७७ मा रु. ५ करोड ६१ लाख फछ्र्यौट भइसकेको छ र अन्य बाँकी रकम पनि फछर्यौट हुने क्रममा रहेको छ ।

नगरपालिकाका कर्मचारीले पोशाक भत्ता रु. ३५,४४,०००।— सम्बन्धमा नेपाल सरकारले निजामती कर्मचारीहरुलाई पोशाक भत्ताको व्यवस्था नै नगरेको अवस्थामा वि.सं. २०५२ साल देखि नै यस न.पा.का कर्मचारीहरुलाई पोशाक उपलब्ध गराउँदै आएको थियो । मिति २०६३।६।६ गते शुक्रबार बसेको भ.न.पा.को बैठकबाट कर्मचारीहरुलाई एक महिनाको शुरु तलब बराबरको रकम पोशाक भत्तँ उपलब्ध गराउने निर्णय अनुसार पोशाक भत्ता उपलब्ध गराउँदै आएको हो । सोही सम्बन्धमा वर्तमान कोभिड १९ रोगको महामारीका कारण सिर्जित विषम् परिस्थिति कारण उत्पन्न आर्थिक अवस्थालाई ध्यानमा राखी भक्तपुर नगरपालिका कर्मचारी एशोसियसनले यस वर्षको लागि यस न.पा.का सम्पूर्ण कर्मचारीहरुले मासिक खाजा खर्च र वार्षिक पोशाक भत्ता नलिने निर्णय गरेको समेत जानकारी गराउन चाहन्छौं ।

चाडपर्वसम्बन्धमा नगरसभाबाट पारित निर्णय अनुसार गत वर्ष कर्मचारी र जनप्रतिनिधिहरुलाई उक्त चाडपर्व खर्च उपलब्ध गराइएको थियो । आ.व २०७७।७८ मा जन प्रतिनिधिहरुको हकमा चाडपर्ब खर्चको व्यवस्था नगरिएको समेत स्पष्ट पार्न चाहन्छौं ।

साथै भक्तपुर नगरपालिकाले आफ्नो आगामी खर्चको विवरण कार्यपालिका बैठकमा छलफल गरी अनुमोदन गर्ने गरेको, उक्त विवरण ‘भक्तपुर मासिक’ पत्रिका, भक्तपुर खबर डट कम अनलाइन र वेभसाइटमा नियमित रुपमा सार्वजनिक गरी आफ्नो आर्थिक क्रियाकलापलाई जनसमुदायसमक्ष पारदर्शिता तुल्याएको स्पष्ट गर्दछौं ।
भक्तपुर नगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *