कोरोना रोकथामको लागि सिद्धि गणेश साकोसद्वारा रु. २० लाख आर्थिक सहयोग हस्तान्तरण

अर्थ/वाणिज्य विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट
भक्तपुर, २१ असाेज

भक्तपुरमा कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रण गर्न भक्तपुर नगरपालिकाले गर्दै आएको काममा सहयोगस्वरुप सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाले प्रकोप व्यवस्थापन कोषमा १९ लाख ९८ हजार ५ सय ४९ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिलाई सिद्धि गणेश सहकारी संस्थाका अध्यक्ष लाखाजुले सोमबार एक समारोहबीच सहयोग रकमको चेक हस्तान्तरण गरे ।

नगर प्रमुख प्रजापतिले नगरपालिकाको आह्वानलाई स्वीकार्दै यसअघि पनि सिद्धि गणेश सहकारी तथा अन्य संघ–संस्थाहरूबाट अमूल्य साथ र आर्थिक सहयोग प्राप्त भएकोमा धन्यवाद ज्ञापन गदै कोरोना रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषको आम्दानी तथा खर्चलाई पारदर्शी ढंगले नगरपालिका सार्वजनिकीकरण गर्दै आइरहेको बताए ।

कोषमा जम्मा भएको रकमबाट संक्रमितहरुको लागि आइसोलेसन केन्द्रका साथै नगरबासीहरूको सेवा कार्यमा सहयोग पुगेको बताउँदै उनले भक्तपुरको विकास निर्माणमा केही ढिलाई भए तापनि कोरोना नियन्त्रण र रोकथामको लागि भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी आवश्यक व्यवस्थापनमा जोड दिइरहेको बताए ।

प्रमुख प्रजापतिले दशैंको अवधिमा जात्रामा हुलहुज्जत नगरी सामान्य रुपमा सम्पन्न गर्न नगरपालिकाले दशैंसँग सम्बन्धित विभिन्न जात्राका सरोकारवालाहरूसँग चरणबद्ध रुपमा छलफल कार्यलाई अगाडि बढाइरहेको जानकारी दिए। उनले आफू मातहतका सहकारी संस्थाका सदस्यहरूलाई यस वर्षको दशैंमा भीड नगरी सामान्य रुपमा मनाउन आ–आफ्नो क्षेत्रबाट सहयोगको लागि आग्रह गरे ।

संस्थाका अध्यक्ष लाखाजुले चेक हस्तान्तरण गर्ने क्रममा सिद्धि गणेश सहकारी संस्था समुदायमा आधारित सहकारी संस्था भएको बताउँदै संस्थाको ‘समुदाय विकास कोष’ को रकम नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन व्यवस्थापनको लागि सहयोगस्वरुप प्रदान गर्ने सञ्चालक समितिले निर्णय गरेको बताए । उनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहकारी संस्थाहरूको भूमिकाबारे प्रष्ट पादै आगामी दिनमा यो रोग संक्रमण रोकथामको लागि नगरपालिकासँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

सोही क्रममा नगर प्रमुख प्रजापतिले नगरपालिकाले हालै प्रकाशनमा ल्याएको २०७२ सालको भूकम्पबाट भत्केका र क्षति पुगेका सम्पदाहरूको संक्षिप्त विवरणसहित नगरपालिकाले हालसम्म सम्पन्न गरेका र निर्माणाधीन केही सम्पदाहरूको विवरण समेटिएको ‘सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार’ नामक फोटो पुस्तक र नगरपालिकाका केही प्रकाशनहरु अध्यक्ष लाखाजुलाई प्रदान गरे ।

भक्तपुर नगरपालिकाले कोरोना महामारीको विषम परिस्थितिमा भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरुलाई भक्तपुर नपाद्वारा निर्मित क्वारेटनाइन व्यवस्थापन लागि सहयोगको लागि अनुरोधसहित पत्राचार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *