यसवर्षकाे दशैं औपचारिकतामा सीमित गर्न सरोकारवालाहरूसँग छलफल

कला/साहित्य विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, १८ असोज


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा दशैंको अवधिमा हुने खम्ये जात्रा र दशैंसँग सम्बन्धित विभिन्न जात्राका सरोकारवालाहरूसँग दशैंलाई औपचारिकतामा सीमित गर्ने विषयमा आइतबार छलफल भएको छ ।

छलफलमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाभित्र कोरोना संक्रमितहरूको अवस्था भयावह बनिरहेको विषम् परिस्थितिमा नजिकिँदै गरेको दशैं भीडभाड कम हुने गरी औपचारिकतामा सीमित गर्न सरोकारावाला पक्षहरूसँग छलफल शुरु गरेको बताए । यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण भक्तपुरका सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेका जात्रा तथा पर्वहरू सामान्य रुपमा सुरक्षित ढंगले सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताउँदै नगर प्रमुख प्रजापतिले नगरबासी स्वयम् सचेत रहे कोरोना नियन्त्रण सहज हुने बताए ।

कोरोना महामारीबीच पनि भक्तपुर नगरपालिकाले नगरबासी संक्रमितहरूलाई लक्षित गरी ७५ शैय्याको सुविधा सम्पन्न आइसोलेसन स्थापना गरेको बताउँदै उनले नगरको सुरक्षा र सरसफाइलाई प्राथमिकता दिएर नगरपालिका अगाडि बढिरहेको बताए । छलफलमा भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाभित्र कोरोना संक्रमितहरूको पछिल्लो अवस्थाबारे अवगत गराए । घना बस्ती भएको भक्तपुर नगरमा कोरोनाको जोखिम अझ धेरै भएको हुँदा कोरोना जोखिमका कारण यस वर्षको चाँडपर्वहरू सुरक्षित ढंगले मनाउनुपर्ने बताए ।

छलफलमा सरोकारवाला प्रतिनिधिहरूले दशैंमा कम भीडभाड हुने गरी जात्रालाई निर्धारित समयभन्दा छिटो सम्पन्न गर्नुपर्ने, जात्रा हुने स्थानहरूमा स्वयम्सेवक परिचालन गरी भाडभाड कम गर्नुपर्ने, भीड जम्मा हुने बाजागाजा बन्द गर्नुपर्ने, सचेतनामूलक माइकिङमार्फत नगरबासीहरूलाई सचेत रहन आग्रह गरिरहनुपर्नेलगायतका धारणा व्यक्त भएका थिए ।
छलफलमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ तथा नवदुर्गा देवगण तथा जात्रा व्यवस्थापन समितिका प्रतिनिधिहरु, मुकुन्डो निर्माणकर्ता, कर्माचार्य, हाकुज्या (प्रजापति), शाही एवम् चित्रकारहरुका प्रतिनिधिहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *