डेढ महिनापछि बल्ल रोक्का फुकुवाभन्दा घरजग्गा किनबेचको संख्या बढी, लयमा फर्किएला कारोबार? 

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, १८ असाेज

करिब डेढ महिनादेखि रोक्का र फुकुवाको काम गर्दै बसेका मालपोत कार्यालयलाई असोज लागेपछि भने भ्याइनभ्याई शुरु भएको छ।

असोज पहिलो सातासम्म पनि किनबेचको भन्दा रोक्का र फुकुवाको संख्या धेरै हुँदै आएकोमा असोज दोस्रो सातामा भने रोक्का फुकुवाभन्दा किनबेचको संख्या बढी देखिएको छ।

असोज ११ गतेदेखि १६ गतेसम्मको घरजग्गा कारोबार हेर्दा १६ हजार २३२ घरजग्गा किनबेच हुँदा १५ हजार ३१७ घरजग्गा रोक्का भएका छन्। त्यस्तै ९ हजार ३३० घरजग्गा फुकुवा हुँदा अन्य कारोबार संख्या ४ हजार ६३० रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ।

असोज पहिलो साता (८ कारोबार दिन) करिब १३ हजार घरजग्गा किनबेच, १४ हजार घरजग्गा रोक्का र ८ हजार घरजग्गा फुकुवा भएका थिए। दोस्रो साता (६ करोबार दिन) भने २ दिन कम हुँदा पनि पहिलो हप्ताको तुलनामा किनबेच, रोक्का र फुकुवा सबै सूचक उकालो लागेका छन्।

दोस्रो साता करिब ४६ हजार जग्गा प्रशासन सम्बन्धी सेवा बेच्दा एक अर्बभन्दा बढी राजश्व संकलन भएको विभागले जनाएको छ। गत साता २ कारोबार दिन बढी हुँदा ४८ हजार सेवा बेच्दै एक अर्ब २३ करोड रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्याङ्क छ।

असोज लागेपछि सातैपिच्छे अर्ब बढी राजश्व
अनलाइन लागू भएका १०८ वटा कार्यालयको तथ्यांकमा असोज दोस्रो साता पनि एक अर्ब १२ करोड रुपैयाँ राजश्व संकलन भइसकेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए। गत साता भने ८ कारोबार दिनमा एक अर्ब २३ करोड रुपैयाँ राजश्व संकलन भएको थियो।

१८ वटा कार्यालयमा अनलाइन प्रणाली लागू भइसकेको छैन। यी कार्यालयको समेत कारोबार संख्या र राजश्व जोड्दा अझै धेरै हुने पौडेलको विश्वास छ।

पहिलो साताको ८ दिनको तुलनामा दोस्रो साताको ६ दिनमा सबै सूचक उकालो लाग्दा राजश्व भने १० करोड रुपैयाँ कम संकलन भएको छ। पहिलो साता दैनिक १० देखि २० करोड रुपैयाँसम्म राजश्व संकलन गरेको विभागले दोस्रो साता भने दैनिक १२ देखि ३० करोड रुपैयाँसम्म राजश्व संकलन गरेको महानिर्देशक पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *