सीमा क्षेत्रमा बढ्दै कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

वीरगञ्ज, २४ असार

सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना संक्रमितको सङ्ख्या बढेको पाइएको छ। पर्साको वीरगञ्जनाका भई नेपाल प्रवेश गर्नेमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो।

सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा संक्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ। गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण गर्दा एक जनामा पनि संक्रमण पुष्टि भएको थिएन। तर जेठमा तीन जनामा संक्रमण देखिएकोमा असार २३ गतेसम्म १६ जनामा संक्रमण देखिएको डेस्क इञ्चार्ज डा अनिसा महतोले जानकारी दिए।

गत चैत र वैशाखमा तीन हजारभन्दा बढीको एन्टीजेन परीक्षण गर्दा एक जनामा पनि संक्रमितनभेटिएकोमा असार २२ गतेसम्म दुई हजार ५०० को परीक्षण गर्दा १६ जना संक्रमित भेटिएको तथ्याङ्क छ।

भेटिएका सबै संक्रमित भारतीय भएकाले नेपाली सुरक्षाकर्मीको सहयोगमा भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको डा महतोले जानकारी दिनुभयो । संक्रमितको सङ्ख्या बढ्दै गए पनि वीरगञ्जको नारायणी अस्पतालमा पछिलो तीन महिनादेखि पीसीआर परीक्षण बन्द गरिएको छ। पीसीआर परीक्षणका लागि आवश्यक एजेन्ट कीटको अभावका कारण परीक्षण रोकिएको सूचना अधिकारी डा उदय सिंहले जानकारी दिए।

मुलुकका विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमा समेत पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्दै गए पनि पर्सा जिल्लामा नागरिकले स्वास्थ्य मापदण्डको पालनामा लापर्वाही गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *