राजविराज,१८ भदौ
राजविराज नगरपालिकाको ८१ लाखको लागतमा वडा नम्बर ९ मलेठमा निर्माणाधीन ‘सहिद स्मारक गेट’को निर्माण कार्य अलपत्र परेको छ । नगरपालिकाले गत आर्थिक वर्षकै १४ पुसमा सहिद स्मारक गेटको निर्माण काम सम्पन्न गर्ने गरी १५ असार ०७५ मा स्थानीय न्यू गहिल कन्सट्रक्सनसँग सम्झौता गरेको थियो । तर, ठेकेदार कम्पनीले समयमा काम पूरा गर्न नसकेपछि चालू आर्थिक वर्षको असारसम्म काम सम्पन्न गराउने गरी दोस्रो पटक म्याद ठेकेदारलाई नगरपालिकाले ५ पुस ०७६ मा प्रदान गरेको थियो। असार मसान्तमै सम्पन्न हुनुपर्ने उक्त योजना समयमै सम्पन्न हुन नसक्दा सहीद गेट निर्माण कार्य अलपत्र हुन पुगेको हो । सहीद गेटको छेउबाट सहज आवागमनकालागि डाइभर्सन समेत नबनाउँदा यातायातका साधनलाई आवत–जावत गर्न समस्या भएको छ । वर्षाका कारण उक्त बाटो अत्यधिक हिलाम्मय रहने गरेकाले सवारी साधन चलाउन जोखिम उठाउनुपरेको स्थानिय महेश्वर यादवको भनाई छ ।
वर्षा अगावै उक्त काम सम्पन्न हुनुपर्नेमा निर्माणमा ढिलाई भएकोले आफुहरुलाई जोखिमपूर्ण अवस्थामा सवारी चलाउनुरेको चालक शिवम यादवले बताए । मधेश आन्दोलनका सहीदको नाममा निर्माण भईरहेको उक्त कार्य समयमै सम्पन्न हुनुपर्नेमा ढिलाई दुःखद् भएको बताउँदै उनले भने ‘सहीदको नाममा निर्माणाधिन उक्त कार्य समयमै सम्पन्न भए सहीदहरुप्रतिको सम्मान हुनेछ, यसतर्फ सरोकारवालाको ध्यानाकर्षण हुनु आवश्यक छ ।’
राजविराज नगरपालिकाबाट कुल ८१ लाखको लागतमा ठेक्का पाएको माँ गहिल निर्माण सेवाले हालसम्म करिब ७५ प्रतिशत मात्र काम सम्पन्न गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख एवम् सूचना अधिकृत मनोज कुमार यादवले जानकारी दिएका छन् । ‘सहीद गेट तथा सहीद स्मारक स्तरोन्नती’ शिर्षक अन्तर्गत सहीद गेट निर्माण, आर्क ढलान, टाइलिङ्ग, मलेठ घटनाका सहीद ईनरदेव यादव, सञ्जन मेहता, पीताम्बर मण्डल, आनन्द कुमार साह र विरेन्द्र महतोको प्रतिमा निर्माण, टायल्स, विजुलीवत्ती जडान लगायतका कामहरु रहेको छ । उक्त कार्यहरुमध्ये अधिकांश कार्य हुन बाँकी नै रहेको छ । यस विषयमा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले ‘सहीद गेट तथा सहीद स्मारक स्तरोन्नती’ शिर्षक अन्तर्गत सहीद गेट निर्माण, आर्क ढलान, टाइलिङ्ग लगायतका कामहरु तोकिएको समयसिमाभित्र सम्पन्न नभएको स्वीकार गरे । उक्त कार्यलाई आफुहरुले प्राथमिकतामा राखेको भन्दै अधुरा कार्यहरु सम्पन्न नेपाल सरकारले नै एकवर्षको म्याद दिएकोले अबको केही महिनाभित्रै सम्पूर्ण कार्य पुरा गराउने उनले प्रतिवद्धता व्यक्त गरे ।