खानेपानी थाप्न गाग्रीको गोला प्रथा

समाचार स्वास्थ्य

पर्वत, १८ भदौ

पर्वतका विकट गाउँहरुमा खानेपानीको चरम अभाव छ । यहाँको एक विकट गाउँमा खानेपानीका लागि गोला तान्नुपर्ने अवस्था छ । बिहादी गाउँपालिका ६ हनुमान डाँडाका बासिन्दाले खानेपानीका लागि हरेक शनिवार गोला परे पानी थाप्न सहजै पाउँछन् नत्र पाउँदैनन् । हरेक महिनाको अन्तिम शनिवार गोलाप्रथा गरिन्छ ।
गोला पर्नेले महिनाभर पानी थाप्न पाउने नत्र संचित पानी महिनाभर पिउनुपर्ने बाध्यता रहेको स्थानीय माधव भट्टराईले बताए । ‘ एक पटक गोला हालेर चिठ्ठा थुतेपछि एक महिनासम्म पानी भर्न पाईन्छ,’ उनले भने,‘ चिठ्ठा नपर्नेले पानी पाउँदैन ।’ चिठ्ठा थुत्ने कार्यक्रम बिगत दुई वर्षदेखि चलिरहेको भट्टराईले जानकारी दिए । उनका अनुसार गाउँभरि पानी थाप्ने एउटामात्रै धारो छ । परिवार ४० छन् ।
बिगत ४० वर्षदेखि प्रर्याप्त पानी भर्ने आयोजना गाउँमा सञ्चालन नभएको कारण स्थानीयले पानीका लागि सास्ती भोग्दै आएको गृहणी गुमादेवी भट्टराईले बताईन् । गोलापछि आफनो पालामा ढुक्कले पानी थाप्न पाईएको उनको भनाई छ । ‘ पानी थाप्न लुछालुछ हुन्थ्यो,’ भट्टराईले विगत सम्झिईन,‘ अहिले गोलाप्रथाले राहात भएको छ ।’
हनुमानडाँडामा मध्यवर्खामा पानीको कोलाहल कायमै छ । यो समस्या हिउँद बर्खा एकै खालको छ । बिहादी गाउँपालिका स्थापना भएपछि पानीको समस्या समाधान हुने अपेक्षा गरका हनुमानडाँडावासीमा पुरानो समस्या सुल्झिएको छैन । २०३५ सालमा खानेपानीको धारा जडान भएपछि छिमेकी वहाकीठाँटीका बासिन्दाले पाइप काटिदिएपछि पानी आउनै छाडेको गाउँलेहरु बताउँछन् । पछि दैनिक २ घण्टा पानी दिने सहमति भएपनि अहिले हनुमानडाँडाका बासिन्दाले त्यही पानीमा चिट्ठा लगाएर भर्दै आएका छन् ।
कार्यालयको रणनीति लिफ्टीङ पानीको पहुँच नभएका गाउँमा लिफ्टीङ प्रविधिबाट पानी पु¥याउन थालिएको छ । पानीको स्रोत नजिक नभएका र पाईप लाईन मार्फत पानी नपुग्ने लेकाली बस्तीमा पानी पु¥याउन लिफ्ट प्रविधि उपयोगी देखिएको खानेपानी डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
कार्यालयका अनुसार चालु वर्ष ५ वटा लिफ्ट खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् । गतवर्ष सम्म ३ वटा योजना पुरा भई सकेका छन् । सम्पन्न भएका योजनाबाट करिव १ सय ३० परिवार लाभान्वित भएका छन् ।
चालु वर्ष निर्माणाधिन आयोजना मार्फत करिव १ हजार ७ सय परिवारले खानेपानीको उपभोग गर्न पाउने कार्यालय प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिए । जिल्लाको फलेवास नगरपालिका २ थापाठाना, पैयुँ गाउँपालिका ४ हुवास स्थित भुर्तेलथोक, महाशिला २ भोक्सिङमा गतवर्ष लिफ्ट खानेपानी आयोजना सम्पन्न भएका छन् ।
चालु वर्ष निर्माणाधिन आयोजनाले फलेवास नगरपालिका ३ शंकरपोखरी, महाशिला गाउँपालिका १ होश्राङदी, कुश्मा नगरपालिका १० पिपलटारी, मल्लाज खानेपानी आयोजना लगायत रहेको खानेपानी डिभिजन कार्यालयले जनाएको छ । यि आयोजना ठूला खानेपानी आयोजनामा पर्छन । शंकरपोखरीमा ७ सय, होश्राङदीमा ४ सय, पिपलटारीमा ५ सय थापाठानामा ३० परिवारलाई खानेपानीको सुविधा पु¥याउन लिफ्ट आयोजना धमाधम निर्माण हुने क्रममा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *