भक्तपुर, १५ जेठ

भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित भक्तपुरको ऐतिहासिक रानीपोखरी परिसर भक्तपुर नपाले बिहीबार सरसफाइ ग¥यो । भक्तपुर नपाले पोखरीको सरसफाइसँगै उपभोक्ता समितिमार्फत जीर्णोद्धार गर्ने भएको छ ।

भक्तपुर नपा र नेपाली सेनाबीच विभिन्न चरणमा भएको छलफलपश्चात पोखरी सर्वसाधारणको लागि पनि खुला गर्नेे भएको हो । सिद्धपोखरीको उत्तरतर्फको खेलमैदान पनि स्थानीयको लागि खेलकुद प्रयोजनको निम्ति खुला गर्ने सहमति भइसकेको छ ।
पाक्षिक सरसफाइ कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले देशैभरि सार्वजनिक जग्गा अतिक्रमण भइरहेको समयमा भक्तपुर नपाले सेनासँगको छलफलबाट ऐतिहासिक पोखरीमा सर्वसाधारणको पहुँच दिलाउन गरेको प्रयास सराहनीय भएको बताए ।
उनले बालुवाटार र टुँडीखेल जस्ता सार्वजनिक जग्गासमेत व्यक्तिको नाममा दर्ता र बिक्री वितरण हुनुमा शासक दल नै जिम्मेवार भएको बताए ।
पूर्खाको सम्पत्तिलाई मौलिक स्वरुपमै जीर्णोद्धार गरी नयाँ पुस्तामा हस्तान्तरण गर्नु आवश्यक भएको बताउँदै सांसद सुवालले सहरी क्षेत्रका खुला ठाउँको संरक्षणमा सम्बन्धित निकायको ध्यान जान आवश्यक भएको बताए ।

भक्तपुरको सल्लाघारी क्षेत्रलाई सांस्कृतिक र खुला क्षेत्र कायम गर्न संसदमा पटक–पटक ध्यानाकर्षण गरेको प्रसङ्ग कोट्याउँँदै उनले सल्लाघारी क्षेत्र ऐतिहासिक रुपमा महत्वपूर्ण भएको र यसको संरक्षणमा नगरपालिकाले पहल गर्नु यथोचित हुने बताए ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सेनासँग भएको सकारात्मक छलफलपश्चात नगरपालिकाले जनताको साथ र सहयोगमा पोखरीको पुनःनिर्माण र जीर्णोद्धार कार्यलाई अगाडि बढाएको बताए । रानीपोखरीको नाप–नक्सा र डिजाइन गरी उपभोक्ता समिति गठन गरी विज्ञ र इतिहासविद्हरुको सल्लाहबमोजिम मौलिक स्वरुपमै निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
पोखरीको ऐतिहासिकता जोगाउन विज्ञहरुको टोली गठन गरी अध्ययन–अनुसन्धानलाई जोड दिने बताउँदै प्रमुख प्रजापतिले रानी पोखरी सर्वसाधारणको पहुँचमा हुनु सबैको लागि खुशीको विषय भएको बताए ।

कार्यक्रममा रानी पोखरी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष श्यामसुन्दर बाटी र वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले पनि बोलेको थियो ।
सरसफाइ कार्यक्रममा नपाका जनप्रतिनिधि, कर्मचारी, वडाबासी, विभिन्न शैक्षिक संघ–संस्थाजस्तै सैनिक आवासीय महाविद्यालय, अक्सफोर्ड स्कूल, लिटिल वल्र्ड, सूर्यविनायक इ. स्कूल, राजश्री गुरुकुल, गणेश मावि, बागेश्वरी मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, नःपली सृजना सेवासमाज महिला उपसमिति, सशस्त्र प्रहरी, १ वडा खेलकुद समितिलगायतको सहभागिता थियो ।