वीरगञ्ज, १५ जेठ
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ का ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । स्थानीय शम्भु साहका छोरा करणको शव बाराको खौराही खोलामा गाडिएको आवस्थामा बुधवार बिहान करीब २ बजेतिर प्रहरीले फेला पारेको हो ।
गत शुक्रबार बिहान करिब साढे १० वीरगन्जस्थित घरबाट हराएका बालकको अपहरणकारी समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवति ढकालले बताए । घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपरिक्षक ढकालले बालक हराएकै दिन साँझ ९ बजेर २७ मिनेटमा अपरिचित मोबाइल नम्बरबाट फोन गरेर ३० लाख रुपैयाँ फिरौती मागिएको परिवारका सदस्यले बताएपछि खोजतलास सुरू भएको बताए । तर, प्रहरीले बालकको जिवितै उद्दार भने गर्न सकेन ।
बालकको शव बाराको कलैया उपमहानगरपालिका वडा नं. २५ मा गाडिएको अवस्थामा फेला परेको उपरिक्षक ढकालले बताए । अपहरणमा संलग्नताको आशंकामा पक्राउ परेका व्यक्तिले बालकको हत्या गरी शव गाडिएको प्रहरीलाई बताएका थिए । प्रहरीले बालकको घरछेउ डेरा गरी बस्ने भारतीय नागरिक विकास शर्मा, बारा कलैया ११ का सिकेन्द्र साह र बाराकै खपरताताका रामविनेश महतोलाई मंगलवार नियन्त्रणमा लिएको थियो ।
प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिहरूले नै प्रहरीलाई शव गाडिएको ठाउँ देखाएका थिए । शव देखाउन जानेक्रममा भाग्न खोज्ने विकास र सिकेन्द्रलाई प्रहरीले खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको छ । अपहरणका बारेमा जानकारी पाएर पनि प्रहरीले खोजतलासमा लापरवाही गरेको आरोप बालकका परिवारजनले लगाएका छन् । तर, प्रहरी उपरिक्षक ढकालले यो आरोपमा सत्यता नभएको दाबी गरे ।
प्रहरीलाई जानकारी आउनुभन्दा १० घण्टा अगाडि नै बालकको हत्या भइसकेको दाबी प्रहरीको छ । ‘बालकलाई नियन्त्रणमा लिएकै दिन अपरान्ह करीब १२ बजेतिरै हत्या भएको अनुसन्धानमा खुलेको छ,’ उपरिक्षक ढकालले सञ्चारकर्मीहरुसित भने, ‘बालकको घाँटीमा रुमालले कसेर हत्या गरेको खुलेको छ ।’ हत्यापछि अपहरणकारीले फिरौती रकम मागेको र त्यसक्रममा मोबाइलमा रेकर्ड गरिएको बालकको आवाज अभिभावकलाई सुनाएको अनुसन्धानमा खुलेको ढकालले बताए ।
मृतकका पिताले भने अपहरण भएको २ दिनपछिसम्म पनि छोरासँग मोबाइलमा कुरा गरेको बताए । छोरासँग कुरा गरेपछि आफूहरू अपहरणकारीलाई ५ लाख रुपैयाँ नगद दिनसमेत तयार भएकोमा पूरै पैसा एकै पटक दिन नसक्ने बताएपछि हत्या भएको उनले बताए । प्रहरीको गोली लागेर घाइते अपहरण र हत्याका आरोपित विकास र सिकेन्द्रको वीरगञ्जको नारायणी अस्पतालमा भइरहेको छ । अर्का आरोपी रामविनेश प्रहरीको थुनामा छन् ।