कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठी

अर्थ/वाणिज्य विशेष समाचार समाचार

भक्तपुर ११ चैत्र


नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरुले संस्थागत फाइदा र नाफाको लागि मात्र काम गर्नु उचित नभएको बताए । समाज सुधारको निम्ति सहकारी संस्थाको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले सहकारीको पैसा देश र समुदायको हितको निम्ति परिचालन हुनुपर्ने र देशलाई आत्मनिर्भर बनाउन कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे ।

बाराही बचत तथा ऋण सहकारी संस्था एक्सेस पहिलो ब्याचको २० औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले स–साना काममा विदेशी संस्थाको सहयोग लिने प्रवृत्तिले देश परनिर्भरतातर्फ धकेलिरहेको बताए ।
संरा अमेरिकी सरकारले नेपाललाई गरेको आर्थिक सहयोग प्राप्त गर्न मित्र देश प्रजग कोरिया विरुद्धको अमेरिकी नाकाबन्दीलाई समर्थन गर्न र तिब्बतीलाई चीन नफर्काउन दबाब दिएको बताउँदै प्रमुख प्रजापतिले नेपालको आन्तरिक मामिलामाथि भएको हस्तक्षेप स्वीकार्य नहुने धारणा राखे ।

भक्तपुर नगरपालिका स्थानीय सरकार भएको हुँदा कसैको दबाब र शर्त अगाडि झुक्न नहुने बताउँदै भक्तपुरका सम्पदा पुनःनिर्माणमा विदेशी सहयोगलाई भन्दा स्थानीय जनताको सहयोगलाई प्राथमिकता दिई कार्य अगाडि बढाइरहेको उनले बताए।

देशको अर्थतन्त्र कहालीलाग्दो स्थितिमा पुगेको बताउँदै प्रमुख प्रजापतिले सहकारी संस्थाहरुले आर्थिक अनुशासनमा बसेर समुदायको हितमा केन्द्रित भई सहकारी ऐनभित्र बसी देशलाई कसरी योगदान गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिन आवश्यक भएको बताए ।

प्रमुख प्रजापतिले निजीकरणको बाटो लिएर समाजवादमा पुग्न नसकिने बताउँदै समाजवादउन्मुख संविधानअनुसार उत्पादनका मुख्य मुख्य साधनहरू क्रमशः सामाजिकीकरण गर्दै लान आवश्यक भएको बताए ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक सदस्य नानीकाजी शाक्यले एक्सेस ब्रान्डले देशको सहकारी अभियानमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै सहकारी संस्थाहरुले व्यापक जनताको हितमा काम गर्नुपर्ने बताए ।

जनसचेतन साकोस काभ्रेका अध्यक्ष भिमप्रसाद दाहालले सरकार र सरकार सञ्चालन गर्ने कर्मचारीहरु सहकारी संस्था बलियो बनाउने पक्षमा नभएको बताउँदै सहकारीलाई सही ढंगले सञ्चालन गर्न सहकारी अभियानजस्ता महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन गरेको बताए ।

बाराही बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संस्था भक्तपुरका अध्यक्ष कृष्णगोविन्द लाखा, बाराही बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्य राधेश्याम सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *