विदेशबाट फर्केर कुखुरापालन

अर्थ/वाणिज्य समाचार

गलकोट, २१ फागुन


बागलुङ नगरपालिका–४ कुडुलेका दुई युवाले विदेशबाट फर्केर गाउँमै कुखुरापालन थालेको छ । सोचेजस्तो पारिश्रमिक नपाएपछि उनीहरुले स्वदेश फर्केर रु ५० लाखको लागतमा लेयर्स जातको कुखुरापालन गरेका हुन् ।

नौ वर्ष शिक्षण पेशा गरी सात वर्ष युरोपमा बस्नुभएका ३८ वर्षीय डिल्लीप्रसाद सापकोटा र पाँच वर्ष कतार बसेर फर्केका ३३ वर्षीय यामबहादुर केसीले संयुक्तरूपमा कुखुरापालन व्यवसाय शुरु गरेको हो । उनीहरुले पाँच महीनाअघि सो व्यवसायको शुरुआत गरेको हो । “पैसा कमाउन धेरै ठाउँमा पुगियो, युरोपका पाँच देश पुग्दासमेत सन्तुष्ट हुन सकिएन”, सापकोटाले भने “विदेशमा गर्ने दुःख स्वदेशमै गर्ने इच्छाले गाउँमै कुखुरापालन थालेँ ।”

अर्का व्यवसायी केसीले आफ्नै देशमा मालिक र कामदार आफैँ बन्ने रहर जागेर स्वदेश फर्केको बताए । “स्वदेशमै गरेको लगानी खेर जान्न भन्ने अपेक्षा राखेर व्यवसाय गर्न आएँ”, उनले भने । फार्ममा अहिले दुई हजार ५०० लेयर्स जातका कुखुरा छन् । दैनिक एक हजार ८०० अण्डा उत्पादन हुन्छ ।

“लगानी थप्दै गएका छौँ”, सापकोटाले भने “दैनिक पाँच हजार अण्डा उत्पादन गर्ने लक्ष्य छ ।” उनीहरुको दैनिकी अहिले कुखुरालाई दानापानी दिन र हेरचाहमै बित्ने गरेको छ । बजारीकरण गर्न रु ३५ लाखमा जीप खरीद गरिएको उनले बताए । उत्पादित अण्डा बागलुङ बजार, कुश्मा, म्याग्दी तथा गलकोट लगेर बिक्री गरिन्छ । उनीहरुले एक रोपनी जग्गा आफ्नै तथा एक रोपनी भाडामा लिई कुखुरापालन गर्दै आएको हो । “जग्गाको भाडा वार्षिक रु २५ हजार तिर्ने गरेका छौँ”, सापकोटाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *