जाजरकोट, २१ फागुन
नलगाड नगरपालिका–३ कैनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ८०० बिरामी लाभान्वित भएका छन् ।
विंग्स फाउण्डेशन र नेपाल अर्वुद रोग निवारण संस्था सुर्खेतको सहयोगमा आयोजित सो शिविरमा पाठेघर खस्ने, मुटु, अपाङ्गता, बालरोग, दम, दाँतलगायत रोगका बिरामीले उपचार सेवा प्राप्त गरेका छन् ।
पाठेघर खस्ने रोगबाट पीडित २०० महिलाले उपचार सेवा प्राप्त गरेका छन् । तीमध्ये एक सय पचास महिलामा रिङप्रेसरी राखिएको उपचारमा संग्लन डा नवराज केसीले बताए । उनका अनुसार, पाठेघर खसेका ३० महिलालाई शल्यक्रियाका लागि सुर्खेत रिफर गरिएको र एक सय ३० महिलाको पाठेघर क्यान्सरको स्क्रीनिङ गरेको छ ।
यसैगरी मुटुमा प्वाल भएका र अपाङ्गता भई हिँड्डुल गर्न नसक्ने अवस्थाका बालबालिकालाई थप उपचार तथा अभ्यासका लागि सुर्खेत पठाइएको छ भने कुपोषित अवस्थाका १८ बालबालिकालाई पोषण पुनःस्थापना गृह सुर्खेतमा पठाइएको डा केसीले बताए । शिविरमा आएका अधिकांश महिलामा पाठेघर संक्रमण र पोषणको कमी देखिएको उनले बताए ।
विगत आठ वर्षदेखि पाठेघर सम्बन्धी समस्याबाट पीडित नलगाड नगरपालिका–३ की धनसरी पुनले शिविरमा रिङप्रेसरी हालेपछि यो समस्या समाधान भएकोमा खुशी व्यक्त गरे ।
दुई दिनसम्म सञ्चालन भएको शिविरमा प्रदेश अस्पताल सुर्खेत, नेपाल बाल पोलिक्लिनिक सुर्खेत र हिमाल डेन्टल क्लिनिक सुर्खेतले प्राविधिक सहयोग गरेको युवा समाजसेवी प्रकाश पन्तले बताए ।
शिविर सञ्चालनका लागि प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर केसीको नेतृत्वमा एकजना विदेशी चिकित्सकसहित दुई दर्जन स्वास्थ्यकर्मी सहभागी भएको पन्तले बताए ।
शिविर सञ्चालनका लागि विंग्स फाउण्डेसनका अध्यक्ष समेत रहेका बालरोग विशेषज्ञ डा केसीले रु दुई लाख, बेलायतमा बस्ने पर्यटनविद् विसु सिञ्जालीले रु एक लाख, अमेरिकामा रहेका प्रेम रोकायले रु २० हजार, नलगाडवासी गगन रानाले रु २० हजार, अमेरिकामा बस्ने जयन्ती थापाले रु १५ हजार, सुर्खेतकी महिला उद्यमी बिन्दु नेपालले रु १० हजार र बेलायतमा रहेकी अन्जु कार्कीले रु १० हजार सहयोग गरेका पन्तले जानकारी दिए ।