नमूना ख्वप अस्पताल निर्माण गर्दै भक्तपुर नगरपालिका, आज शिलान्यास

कला/साहित्य विशेष समाचार समाचार स्वास्थ्य

भक्तपुर, ९ फागुन

ज्ञान विज्ञानको केन्द्र र पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृतिलाई एक सिक्काको दुई पाटाको रुपमा आत्मसात गर्दै अघि बढिरहेको भक्तपुुर नगरपालिकाले नेपाल मजदुर किसान पार्टीको मार्गदर्शन अनुरुप हरेक काम भइरहेको छ । ख्वप अस्पतालको निर्माण यसैे अभियानको उपज भएको बिहीवार भएको ख्वप अस्पतालको भवन शिलान्यान कार्यक्रममा बताइएको छ ।
ख्वप अस्पताल भवन निर्माणको शिलान्यास गर्दै प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले देशकै लागि नमूना अस्पताल बनाउन जोड दिए । गुणस्तरीय निर्माण र विशुद्ध जनताको सेवा गर्न लाग्नुपर्ने उनले बताए । पूँजीवादी व्यवस्थामा सत्तासिन पार्टीले निजीक्षेत्रलाई महत्व दिएकैले र सरकार एनजीओ आइएनजीओबाट चलेकाले सरकार कमजोर भइरहेको उनको भनाइ छ । उनले अस्पतालले बहुसंख्यक जनताको सेवा गर्नुपर्नेमा सरकार आफै महँगो शुल्क लिएर चलाउन निजी क्षेत्रको साथ दिइरहेको बताए । अध्यक्ष बिजुक्छेंले पैसा कमाउने उद्देश्य भन्दा सेवा भावले काम गर्न अभिप्रेरित हुनुपर्नेमा जोड दिँदै भक्तपुर अस्पतालको स्तरोन्नति हुन नसक्नुमा सरकार जिम्मेवार भएको बताए ।

उनले भने, ‘सरकारले राम्रो अस्पताल बनाएन भने नक्कली अस्पतालले जनतालाई दुःख दिन्छ । पूँजीवादी व्यवस्था भनेको निजी व्यवस्था हो र सरकारले निजीलाई पृष्ठपोषण गरी कामगरी खाने जनतालाई दुःख दिइरहेको छ ।’
भक्तपुर अस्पतालमा झाडाबान्ताबाट पनि बिरामीहरू मर्ने गरेको सम्झना गर्दै समयमा उपचार सेवा नपाउँदा विगतका दिनमा स्थानीय जनताहरुले अकालमा ज्यान गुमाउनु परेको जानकारी गराउँदै नेता बिजुक्छेँले उपचारको अभावमा कसैको ज्यान जान नदिन ख्वप अस्पतालको निर्माणले महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले देशमा संघीयता लागु भए पनि केन्द्रीकृत मानसिकताअनुसार नै संघीय सरकार सञ्चालन हुनु गलत भएको बताए ।

उनले देशमा निजी अस्पतालको संख्या बढिरहेको अवस्थामा भक्तपुर नगरपालिकाले अस्पताल सञ्चालन गर्नु जनताको हितमा रहेको बताए । निजी क्षेत्रले मात्र काम गर्दा सरकार र जनता कमजोर हुने बताउनुहुँदै सांसद सुवालले वर्तमान सरकार जनताको सरकारको रुपमा सञ्चालन हुन नसकेको बताए ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पताल निर्माणको लागि आर्थिक वर्ष २०७५र७६ मा १४ करोडको बजेट छुट्याएको र ख्वप अस्पताल निर्माणमा सरकारी र कुनै विदेशी लगानी नभएको स्पष्ट पारे ।

प्रमुख प्रजापतिले भक्तपुरको जनस्वास्थ्य केन्द्रमा सुविधासहित इमर्जेन्सी सेवा, आँखा अस्पताल र आर्युवेदिक उपचार केन्द्रमार्फत सस्तो र सुलभ रुपमा विभिन्न उपचार सेवा प्रदान गर्दै आएको बताए ।

प्रदेशसभा सांसद सृजना सैंजुले स्वास्थ्य र शिक्षा जस्ता जनताका आधारभूत आवश्यकताहरू जनताको पहुँचबाट टाढा गइरहेको समयमा नेमकिपाको नीतिअनुरुप भक्तपुर नपाले सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन ख्वप अस्पताल निर्माणको थालनी गर्नु सकारात्मक भएको बताइन् ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप अस्पताल वातावरणमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी, सुविधा सम्पन्न र व्यवस्थित ढंगले सञ्चालन गर्ने बताइन् ।यो अस्पताल भ.न.पा.ले स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त २५ शैय्याको अस्पतालको रुपमा शुरु गर्दैछौं र पछि गएर यसको क्षमता १०० शैय्यासम्मको हुने उपप्रमुख रजनी जोशीले बताए ।

भक्तपुर च्याम्हासिंहमा १० रोपनी १२ आना ३ पैसा २ दाम क्षेत्रफलमा जनस्वास्थ्यको भवनको उत्तरतर्फको यस जग्गामा निर्माण हुने ख्वप अस्पताल वेसमेन्टसहितको हुनेछ र भवनसहितको वेसमेन्टको क्षेत्रफल ३ रोपनी, १५ आना १ पैसा ०.७१ दामको हुने उनले जानकारी दिइन् । उनले भवन मात्रको क्षेत्रफल २ रोपनी, १० आना १.९२ दाममा निर्माण हुने बताइन् । पाँच तला हुने उक्त अस्पतालमा २८ वडा गाडी र ४५ वटा मोटरसाइकल पार्किङ गर्न सकिन्छ साथै अस्पताललाई चाहिने अस्पतालका कपडा धून मिल्ने उनको भनाइ छ ।
उनले भूमिगत तल्लादेखि जमिन तल्लाको टाइविमसम्मको ईस्टिमेट १२ करोड ६९ लाख ९२ हजार ७९४ प्लिन्थसम्मको निर्माण असारसम्म सकिने लक्ष्य लिएको बताइएको छ । त्यसमाथि पूरै भवनको अनुमानित लागत ४५ करोड हुने र यसको विश्लेषण भइरहेको उनले जानकारी गराइन् । यस बहुप्रतिक्षित ख्वप अस्पताल ३ वर्षभित्र संचालन गर्ने लक्ष्य लिएको छ उनको भनाइ छ ।
कार्यक्रममा भक्तपुर नपाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेल, ज्योतिष बिरेन्द्रप्रसाद कायस्थ र नेपाली सेनाका उपरथी भरत खड्काले ख्वप अस्पतालबारे आफ्नो भनाइ राखे ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले ख्वप अस्पतालमा आकस्मिक सेवा, एक्सरे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, एम.आर.आइ, प्याथोलोजी प्रयोगशाला, प्रसुति सेवा, शल्यक्रिया, सघन उपचार विभाग, बेस्मेन्टमा पार्किङ, शव गृहलगायतका सेवा तथा सुविधाहरू उपलब्ध हुने जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *