सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकमा रेल चल्ने

अर्थ/वाणिज्य विशेष समाचार समाचार

काठमाडौं, १९ माघ

सरकारले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने गरी विद्युतीय मेट्रो रेल निर्माण गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहतको रेल विभागल कूल १२ किलोमिटर लामो उक्त मेट्रो रेल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न लागेको हो ।

मेट्रो रेलको डीपीआर तयार गर्न विभागले माघ १२ गते विश्वव्यापी बोलपत्र आह्वान गरेको छ । डीपीआर निर्माण गर्न इच्छुक परामर्शदाताले फागुन १३ गते भित्रमा बोलपत्र प्रस्ताव गर्नुपर्ने छ । यो रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।  प्रतिवेदनको आधारमा डीपीआर तयार गर्नुपर्ने हुन्छ ।

परामर्शदाताको योग्यता, अनुभव र क्षमता (प्राविधिक पक्ष)को आधारमा डीपीआर तयार गराइने चित्रकारको भनाइ छ । विभागले आह्वान गरेअनुसार आशयपत्र पेश गर्ने कम्पनीमध्ये पहिलो चरणमा प्रारम्भिक सूची छनोट गरिनेछ ।  प्राविधिक मूल्यांकनमा पर्न न्युनतम ७० अंक ल्याउनुपर्छ । विभागले योग्यता ४२ , अनुभव ४८ र क्षमता १० अंक हुने बताएको छ ।

छनोट भएका कम्पनीको आर्थिक र प्राविधिक प्रस्तावका आधारमा उत्कृष्ट कम्पनी छनोट गरिनेछ । सोही कम्पनीले डिपिआर तयार पार्नेछ । सूचीकृत भएका कम्पनीले विस्तृत सर्वेक्षण, ढाँचा र डीपीआर निर्माण गर्नुपर्नेछ ।

विभागले चैत भित्रमा डीपीआर निर्माण गर्ने कम्पनी छनोट गर्ने लक्ष्य राखेको छ । कर्मचारी तथा उपकरण परिचालन गर्न तीन महिनाको समय हुनेछ । निर्माण कार्य सुरु गरिएको १२ महिना भित्रमा डीपीआर पुरा गर्नुपर्ने पर्ने हुन्छ । साथै, परामर्शदाताले साढे २ महिनामा विभागलाई मेट्रो रेलको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनको ढाचा बुझाउनुपर्छ ।

यो सहित काठमाडौं उपत्यकामा तीन वटा निकाय रेल चलाउने प्रक्रियामा छन् । काठमाडौं र ललितपुर महानगरपालिका चक्रपथमा मोनो रेल र लगानी बोर्ड काभ्रेको धुँलिखेलदेखि काठमाडौंको नागढुंगासम्मको मेट्रो रेलको डीपीआर बनाउने क्रममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *