आज धान्यपूर्णिमा र उधौली पर्व मनाइँदै

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, २६ मंसिर


आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने धान्यपूर्णिमा, योमरी पुन्हिः अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । बिहीबार हिन्दू धर्मावलम्बीहरुले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायहरुले योमरी पूर्णिमा साथै ज्यापु दिवस मनाउँदैछन् ।
धान लगायतका वर्षे बाली भित्र्याएपछि धान्यपर्वत बनाई धनेश्वरको पूजाआजा र अन्नदान गरी धान्यपूर्णिमा मनाइन्छ । धानलाई लक्ष्मी वा समृद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली संस्कृतिमा छ । यो दिन धानको पर्वत बनाई पूजा गर्नाले धनधान्य वृद्धि हुने विश्वास गरिन्छ । नयाँ खाद्यान्न आफूले उपभोग गर्नुभन्दा पहिले कुलदेवता, पितृदेवता वा अन्य देवीदेवतालाई अर्पण गरी आफू खाने परम्परा सबै जाति र संस्कृतिमा छ ।

विशेषगरी पहाडी भेगमा आज गोठपूजा (गोठधुप)गर्ने चलन छ । गोठ सफासुग्घर गरी गाईबस्तुको विशेष पूजा गर्ने चलन छ ।कतिपय समुदायमा आजको दिन कुलदेवताको पूजा (देवाली) गर्ने चलन छ । यसैगरी नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउँदै छन् ।अघिल्लो दिनदेखि घर र शरीर शुद्ध गरी योमरी पकाउने चलन छ। लक्ष्मी, गणेश, कुमार, कुवेरलगायतका देवी देवतालाई चढाएर मात्र खाने चलन छ । धानको भकारीमाथि यी देवी देवतालाई राखी पूजा गर्ने परम्परा नेवार समुदायमा छ।यसैगरी लिम्बू जातिमा बाली भित्र्याएपछिको न्वागी खाने पर्वको रूपमा मंसिरे पूर्णिमा मनाइन्छ ।किराँत समुदायले आज आफ्नो महान् पर्व उधौली मनाउँदैछन् । हरेक वर्ष मंसिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाका दिन मनाईने उधौली पर्वका अवसरमा किराँत समुदाय एक ठाउँमा भेला भई साकेला सिली नाच्दै शुभकामना आदान प्रदान गर्ने चलन छ ।लिम्बुहरूले चासोक तङनाम, राईहरूले साकेला, याख्खाहरुले चासुवा र सुनुवारहरूले फोलष्याँदर मनाउँछन्। गुरुङले सिमेभूमेको पूजा गर्ने न्वागी खान्छन् । पूर्वका थारूहरूले नेमान गर्ने, आगनको ध्वजा फेर्ने र छोराको वर्तमन गर्ने गर्छन् । धानको च्युरा बनाएर सख्खर मिसाएर लड्डु बनाई देउतालाई चडाउने र नेमानमा पूजा गर्ने गर्छन् ।राष्ट्रिय ज्यापू दिवसमा धिमेबाजा र बाँसुरी बजाउँदै सांस्कृतिक र्‍यालीसहित सभा गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *