कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी

अर्थ/वाणिज्य समाचार

डोटी, १७ माघ


लगन र मेहनतका साथ व्यवसाय गरे अपाङ्ता भएका व्यक्तिले पनि राम्रो आम्दानी गर्न सक्छन् भन्ने उदाहरण देखाएको छ, डोटी दीपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३५ वर्षीया सारदा विष्ट ।

विगत एक वर्षदेखि शुरु गरेको कुखुरापालन व्यवसायबाट उनले मासिक रु १५ देखि २० हजारसम्म आम्दानी गर्ने गर्छ । त्यसैको आम्दानीबाट उनले आफ्नो एक छोरीलाई सुजंङ बोर्डिङ स्कूलमा पढाउनुका साथै घर खर्च पनि राम्रैसँग धानेको छ ।

वर्षौं पहिले दुर्घटनामा पर्दा उनको दाहिने हात काटिएको थियो । अपाङ्ग सेवा सङ्घ सिलगढी डोटीले दश हजारका उन्नत जातका कुखुराका चल्ला तथा खोर निर्माणका लागि रु दश हजार आर्थिक सहयोग गरेपछि आफूले उक्त व्यवसाय शुरु गरेको विष्टले बताए ।

“पहिले म घाँस दाउरा काट्न र खेतबारीकै काममा सीमित थिए, अपाङ्ग सेवा सङ्घले कुखुराका चल्ला र खोर बनाउन रकम दियो”, उनले भने, “अहिले व्यवसाय शुरु गरे राम्रै आम्दानी भएको छ ।” हिजोआज कुखुरा किन्नेहरु उनकै फार्ममा पुग्ने गरेका छन् । उनको फार्ममा लोकल तथा उन्नत जातका कुखुरासमेत भएका कारण ग्राहक खोज्नुपर्ने समस्या नभएको उनले बताए ।

उनले भने, “चिसो मौसम शुरु भएको छ, लोकल कुखुराको सुप खान ग्राहक बढी रुचाउने भएकाले कुखुरा किन्न फार्ममै आउन थालेका छन् ।” उनले लोकल कुखुरा जिउँदो प्रतिकिलो रु ६०० का दरले बिक्री गर्दै आएको छ ।

अन्य व्यवसायभन्दा कुखुरापालन व्यवसाय सस्तो र सुलभ भएको भन्दै उनले भने, “अन्य व्यवसायभन्दा कुखुरापालन व्यवसाय अप्ठेरो र झण्झटिलो छैन, अलि कति मेहनत गरे राम्रै आम्दानी हुने गर्छ, कुखुरा मरे पनि काम लाग्न, जिउँदो काम लाग्ने व्यवसाय यही नै हो, यसमा घाटा हुँदैन ।”

उनको फार्ममा कुखुराका चल्लासमेत उत्पादन हुँदै आएको छ । जिल्लामा रहेका करीब तीन दजर्नभन्दा बढी अपाङ्गता भएका व्यक्तिका घर परिवारलाई आयआर्जन गर्न सिलाइ मेशिन, कुखुरापालन व्यवसाय, बाख्रापालन तथा घुम्तीकोषका लागि आर्थिक सहयोग दिँदै आएको अपाङ्ग सेवा सङ्घ डोटीकी कार्यक्रम संयोजक सीता राईमाझीले बताए । उनले भने, “गाउँघरमा रहेका आपङ्गता भएका व्यक्तिले अवसर र सीप पाए सपाङ्गता भएका व्यक्तिसरह काम गर्न सक्छन् भन्ने उद्देश्यले हामीले उनीहरुलाई विभिन्न सीपमूलक तालीम, मेशिन र व्यवसायका लागि आर्थिक सहयोग दिँदै आएका छौँ ।”

सामान फिर्ता लैजादैँ चिनियाँ कम्पनी

पश्चिम सेती निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजले ल्याएको समान धमाधम लैजान थालेको छ । बझांङ, बैतडीको ढुंगाढ र डोटीको तलारमा निर्माण हुने भनिएको ७५० मेगावाटको पश्चिमसेती परियोजनाका सामान चिनियाँ थ्री गर्जेज कम्पनीले ओसार्न थालेको हो ।

पश्चिम सेती नबन्ने भएपछि परियोजना क्षेत्रमा आफूले ल्याएका मेशिनरी औजार उक्त कम्पनीले हेलिकप्टरमार्फत ओसार्न थालेको स्थानीयवासीले जानकारी दिएका छन् । केही दिन पहिले मात्रै उक्त क्षेत्रमा पुगेका थ्री गर्जेज कम्पनीका कर्मचारीले धमाधम मेशिनरी औजारलगायतका सरसामान लैजान थालेपछि स्थानीयवासी निरास बनेका छन् ।

डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले थ्री गर्जेजले आफ्ना समाना लैजान्छन् भन्ने जानकारी पाएको बताए । उनले भने, “थ्री गर्जेजले सामान लगिरहेको खबर पाए तर आधिकारिक के हो, बुझँदैछु ।” भाडामा लिएको जमीनको रकम नदिएको भन्दै केही महीना पहिले स्थानीयवासीले रकम असुलीका लागि कम्पनी विरुद्ध जिल्ला प्रशासन कार्यालय डोटीमा निवेदन दिएका थिए ।

सो कम्पनीले अचानक किन आफ्नो समान लग्यो भन्ने विषयमा डोटीमा निकै खैलाबैला शुरु भएको स्थानीयवासी तथा पत्रकार रोजेन्द्र जोशीले बताए ।

पश्चिम सेती परियोजना बन्छ र डोटीको विकास हुन्छ भन्ने आशमा बसेका डोटेलीको सपना फेरि अधुरै रहने लक्षण देखिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थ्री गर्जेज कम्पनीले आफ्नो सामान लैजान्छन् भन्ने विषयमा अहिलेसम्म कसैले जानकारी नदिएको बताए । उनले भने “थ्री गर्जेजले सामान लैजाँदै छ भन्ने विषयमा कसैले पनि जानकारी दिएको छैन, किन लगेको रहेछ म केन्द्रमा बुझ्छु ।”

पश्चिम सेती परियोजना डोटीका लागी मात्र नभई समग्र सुदूरपश्चिम प्रदेश र राष्ट्रकै गौरवको परियोजना भए पनि केन्द्रीय सरकारले ध्यान नदिँदा निर्माण कार्य अलपत्र परेको स्थानीयवासीको आरोप छ । सुदूरपश्चिम प्रदेशको विकास गर्नका लागि पश्चिम सेती परियोजनाले महत्वपूर्ण योगदान दिने भए पनि विभिन्न बहाना देखाउँदै करीब ३७ वर्षदेखि चर्चामा रहेको उक्त परियोजना हालसम्म निर्माण हुन नसकेको तलाराका स्थानीयवासी दीपकबहादुर सिंहले बताए । उनले भने “हामी सानै छँदा पश्चिम सेती बन्ने चर्चा शुरु भएको हो, हामी बूढो हुन थालिसक्यौँ तर बन्ने छाँटकाँट केही देखिएको छैन ।”

यस विषयमा समाना लिन आएका थ्री गर्जेजका कर्मचारीले कुनै जानकारी दिन चाहेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *