आर्थिक अभावको चपेटामा गुरुङ सङ्ग्रहालय

कला/साहित्य पर्यटन समाचार

ताप्लेजुङ, १७ माघ


ताप्लेजुङ सदरमुकाम फुङलिङमा रहेको एकमात्र गुरुङ सङ्ग्राहलय आर्थिक अभावका कारण व्यवस्थित हुन सकेको छैन ।

स्थानीय गुरुङ समुदायका महिलाले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यका साथ स्थापना भएको गुरुङ सांस्कृतिक सङ्ग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन नसकेको हो ।

सङ्ग्रहालयमा कार्यालय व्यवस्थापन र कर्मचारी खर्चको अभावका कारण समस्या भएको बताइएको छ । स्थानीय महिलाले विभिन्न निकायबाट सहयोग जुटाइ करीब १० लाख रुपैयाँको सहयोगमा २०६२ सालमा सङ्ग्रहालयको भवन निर्माण गरेका थिए । स्थानीय महिला समूहको पहलमा शुरुआत भएको सङ्ग्रहालयमा गुरुङ जातिको ऐतिहासिक सामग्री राखिएको तर व्यवस्थापकीय समस्याका कारण उलेख्यरुपमा पर्यटक तथा अवलोकनकर्ता आउन नसकेको आमा समूहका उपाध्यक्ष सीता गुरुङले बताए ।

“हामीले सबैलाई चन्दा मागेर भए पनि यतिको बनायौँ, बजेट अभावका कारण अरु त केही गर्न सकेका छैनौँ”, गुरुङले भने ।

सङ्ग्रहालयमा गुरुङ समुदायले प्रयोग गर्ने ऐतिहासिक ढिकी, जाँतो, चौँठो, हर्पे, जरु, चुङ्गे, घुम, सांस्कृतिक वेषभूषालगायत गुरुङ संस्कृति झल्कने पुराना सामग्री राखिएका छन् । तर सङ्ग्राहलयभित्र बत्तीकोसमेत व्यवस्था गर्न नसकेको स्थानीय खड्गबहादुर गुरुङले बताए ।

“हामीले सङ्ग्राहलयभित्र रहेका सामग्रीसमेत व्यवस्थितरुपमा सजाएर राख्न सकेका छैनौँ”, गुरुङले भने । स्थानीयका अनुसार सङ्ग्राहलय निर्माण गर्नेक्रममा पूर्वमन्त्री सूर्यमान गुरुङले संसद् विकास कोषको रकमबाट केही सहयोग गरेका थिए । त्यसपछि विभिन्न समयमा सरकारीस्तरबाट सहयोग भए पनि थोरैमात्र बजेट विनियोजन भएका कारण देखिने गरी काम गर्न नसकिएको आमासमूहका उपाध्यक्ष सीता गुरुङले बताए ।

पछिल्लो समय फुङलिङ नगरपालिकालेसमेत केही रकम सहयोग गरेको उनीहरुको भनाइ छ । सो रकमबाट सङ्ग्रहालयको भौतिक विकासमै खर्च गरेको बताइएको छ । “हामीले यसलाई सबैसामु पु¥याउनका लागि प्रचारप्रसारलाई व्यापक बनाउनुपर्ने हो, तर सकिराखेका छैनौँ”, खड्गबहादुर गुरुङले भने ।

जिल्लाको पर्यटन प्रवद्र्धनलाई थप टेवा पु¥याउन र पुरानो सांस्कृतिक सामग्रीको संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालयको निर्माण गरिए पनि आर्थिक अभावकै कारण सङ्ग्रहालयको व्यवस्थापन गर्न नसकिएको व्यवस्थापन पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *