शुभदीप बचतको एघारौं साधारणसभा सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

भक्तपुर, ९ मंसिर


भक्तपुर देगइनास्थित रहेको शुभदीप बचत तथा ऋण सहकारी संस्था लि.को ११औं वार्षिक साधारणसभा शनिवार ब्रम्हायणी पीठमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा वागीश्वरी मावि÷कलेजका पूर्व प्राचार्य मोहनप्रसाद प्रजापतिले शिक्षित मान्छे जहिले पनि स्वस्थ रहने बताए ।
उनले राम्रो संघसंस्थाभित्र पनि नराम्रा आचरणका मान्छे हुनसक्नेप्रति सचेत हुनुपर्ने बताए । ज्येष्ठ पुरुष शेयर सदस्य आसाराम प्रजापति र महिला शेयर सदस्य सुन्दरीमाया कोजूलाई सम्मान गर्दै उनले सहकारी संस्थाले सिपमूलक तालिमका साथै कृषिसम्बन्धी तालिमको पनि आवश्यक रहको बताए ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाले सहकारीको बारेमा राम्ररी बुझ्ने थलो साधारणसभा भएकाले यसमा सबैले ध्यान दिनुपर्ने बताए । उनले ब्याजको लोभ देखाएर चलाएका सहकारीलाई विश्वास गर्दा भक्तपुरबासीको करोडौं रकम ठगेको स्पष्ट पारे । साथै उनले सरकारले एउटा सहकारीमा मात्र सदस्य रहन पाउने व्यवस्था परिवर्तन गरी दुईवटासम्म हुनुपर्ने सुझाव दिएको बताए ।
त्यस्तै वडा नं. ९ का महिला जनप्रतिनिधि छोरीमाया प्रजापति सुजखुले सदस्यको सानो पूँजीलाई सही रुपमा संस्थाले प्रयोग गरेनगरेकोबारे निगरानी राख्नुपर्ने बताए । उनले नगरपालिकाले गर्दै आएको महिला स्वास्थ्यसम्बन्धी शिवीर तथा तालिमबारे जानकारी दिएका छन् ।
संस्थाका उपाध्यक्ष विजयप्रसाद प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रममा सचिव कमल खयरगोलीको प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र प्रसाद मगजुको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक रामेश्वर खाइतुको प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा कानुनी सल्लाहकार प्रेम प्रजापति, सल्लाहकार विश्वनाथ प्रजापति, अध्यक्ष श्यामकृष्ण प्रजापति, सदस्य श्रीजना प्रजापतिलगायतले बोलेको थियो ।
साथै यस साधारणसभाबाट दुई वर्षे कार्यकालका लागि श्यामकृष्ण प्रजापतिको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र रामेश्वर खाइतुको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समितिलाई निर्विरोध निर्वाचित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *