४८ अर्ब खर्चेर भारतले बनायो संसारकै अग्लो मूर्ति

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार
काठमाडौं, १५ कात्तिक
भारतको गुजरातमा संसारकै अग्लो मूर्ति अनावरण भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रदेश गुजरातमा सरदार वल्लभ भाइ पटेलको १८२ मिटर अग्लो मूर्ति बनाइएको हो।

यो मूर्तिलाई ‘स्ट्याचु अफ युनिटी’ नाम दिइएको छ। यसको निर्माणमा भारत सरकाले झन्डै ४८ अर्ब नेपाली रुपैयाँ (करिब ३० अर्ब भारु) खर्च गरेको छ। यो मूर्तिको पूरा तौल १७०० टन छ।

पटेलको १४३ औं जन्म जयन्ती अवसरमा बुधबार प्रधानमन्त्री मोदीले मूर्ति अनावरण गरेका हुन्। कार्यक्रममा मोदीले कौटिल्यको कुटनीति र शिवाजीको शौर्यको मिलनका रुपमा सरदार पटेललाई व्याख्या गरेका छन्।

यो मूर्ति गुजरातको नर्मदा जिल्लामा पर्ने सरदार सरोवरधाम बाँधबाट साढे तीन किलोमिटर टाढा छ। अमेरिकाको न्युयोर्कस्थित ‘स्ट्याचु अफ लिबर्टी’ भन्दा दुई गुणा अग्लो छ। यसअघि चीनस्थित स्प्रिङ टेम्पलको बुद्ध मूर्ति विश्वकै अग्लो थियो। १५३ मिटर अग्लो यो मूर्ति अब दोस्रो भएको छ।

मूर्तिका प्रमुख शिल्पकार २०१६ मा पद्म भूषणबाट सम्मानित ९२ वर्षीय राम वी सुतार हुन्।

पटेलको मूर्ति बनाउने योजना प्रधानमन्त्री मोदी गुजरातको मुख्यमन्त्री हुँदाखेरिकै हो। सन् २०१३ मै उनले मूर्तिको शिलन्यास गरेका थिए। यो मूर्ति हेर्न अब टिकट व्यवस्था पनि गरिने भएको छ। यसका लागि ३०५ भारु टिकट दर तोकिएको छ। दैनिक १५ हजार पर्यटक ओहोदोहोर गराउने लिफ्टको व्यवस्था पनि छ।

सरदार पटेल स्वतन्त्र भारतका प्रथम गृहमन्त्री हुन्। उनी भारतका पहिलो उपप्रधानमन्त्री पनि हुन्। उनलाई भारतमा ‘लौह पुरुष’ को संज्ञा दिइएको छ। उनलाई तत्कालीन ५५० भन्दा बढी साना राज्यहरूलाई संघीय भारतमा गाभेको श्रेय जान्छ।

‘यो मूर्तिले देशका लागि हाम्रा पूर्खाले गरेको आँट, साहस र क्षमताका बारेमा व्याख्या गर्नेछ,’ प्रधानमन्त्री मोदीले मूर्ति अनावरण क्रममा भनेका छन्। त्यस्तै भारतको अस्तित्वबारे प्रश्न गर्ने विश्वलाई नै यो मूर्ति गहकिलो जवाफ हुने पनि उनले बताएका छन्।

‘यो मूर्ति एकताको स्रोत हो। यही भावनाका साथ हामी अघि बढौं। एक भारत, श्रेष्ठ भारत बनाउने सपना बोकेर अघि बढौं,’ उनले थपे।

प्रधानमन्त्रीले देशलाई विश्वमा सधैं चिनाउने गरिमामय मूर्ति बनाएको गर्व गरे पनि धेरैले यसको विरोध गरेका छन्।

कसैले एक मूर्तिका लागि स्थानीयवासीको उठिवास लगाएको भन्दै विरोध गरेका छन्, त कसैले यो मूर्ति गरिमाको कुरा मात्र नभइ राजनैतिक चाल भएको भनेको छन्।

मूर्ति बनाउन यति ठूलो रकम खर्चिएको छ। मुआब्जा दिएर १८५ परिवार सारिएको छ। यो क्षेत्रमा धेरैजसो आदीवासीको बसोबास थियो।

उनीहरूको चर्को विरोधका कारण मोदीलाई उद्घाटन समारोहमा समेत नआउन गुजरातका मुख्यमन्त्री विजय रुपनीले पत्र लेखेका थिए। यहाँ मोदीका तस्बिर जलाइएको थियो।

आदिवासी समूहहरू सधैं सरकारबाट पीडित भइरहेको भन्दै स्थानीयले मूर्ति बनाएको विरोध गरेका थिए।

‘म सरदारको विरोधी होइन। तर एक मूर्तिका लागि यहाँ बाँचिरहेका स्थानीयलाई उनीहरूको घरगाउँबाट जा भन्नु कति जायज हो,’ स्थानीय छोटु भसवाले भारतीय सञ्चारमाध्यमसँग भनेका छन्।

सरदार पटेलका मूर्तिले राजनैतिक चासोका प्रश्न पनि उठाएको छ। पटेल महात्मा गान्धीको हत्यापछि कट्टर हिन्दुवादी संगठन आरएसएस प्रतिबन्धमा लागेका थिए। तर पछि उनी कट्टरवादी हिन्दुकै प्रतीक बने।

यही कारण मोदीले पटेलको मूर्ति बनाउन लगाएको आलोचकहरूले आरोप लगाउँदै आएका छन्। सबभन्दा ठूलो मूर्ति पटेलको बनाएर भारतीय जनता पार्टीले जवाहरलाल नेहरुलाई ओझेल पार्ने नियत राखेको विपक्षीहरूको भनाइ छ। भाजपा विपक्षी कंग्रेस पार्टीका नेहरू भारतकै पहिलो प्रधानमन्त्री हुन्।

सरदार पटेल पनि आजीवन कंग्रेसकै नेता हुन्। तर पार्टीभित्र भने उनी नेहरूका विपक्षीका रुपमा चिनिन्थे। अहिले लोकसभा निर्वाचनकाे मुखमा मोदीले सरदार पटेलको मूर्ति अनावरण गरेर नेहरू विपक्षी समूहबाट राजनैतिक लाभ लिन खोजेको विश्लेषण गरिएको छ।

सँगसँगै यो मूर्ति अनावरणले भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याको दिन पनि भुलाउन खोजेको छ। सरदार पटेलको जन्मदिन र इन्दिरा गान्धीको हत्या भएको एकै दिन पर्छ। संसारकै ठूलो मूर्ति अनावरणपछि आगामी दिनमा इन्दिरा गान्धीभन्दा पटेलको सम्झना नै धेरैले गर्नेछन्।

यी सब आलोचनाबारे जवाफ दिँदै मोदीले कार्यक्रममा भनेका छन्, ‘के पटेलले देशका लागि योगदान दिएका छैनन् र? यसलाई राजनीतिसँग किन जोड्नुपर्यो? हामीले राष्ट्रिय व्यक्तित्वको सम्मान गर्दा आलोचना खेप्नु परेको छ। गम्भीर अपराध गरे जस्तो अनुभूति गराइएको छ।’

उनले राष्ट्रिय व्यक्तित्वको सम्मान गर्नु अपराध हो? भनेर प्रश्न पनि गरेका छन्।

(भारतीय सञ्चार माध्यमको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *