युवायुवतीको बाजाप्रतिको मोह बढ्दै

कला/साहित्य विशेष समाचार समाचार

भक्तपुर, ३१ असोज


जात्रा, पर्व र मेलामा भक्तपुरका नेवार समुदायका युवतीहरुलाई बाजाले मोहित तुल्याएको छ ।

नेवारी बाजाहरुको मीठो धून बजाउँदै युवतीहरु मेला र जात्रामा सहभागि हुने क्रम बढ्दै गएको छ । दशँैका अवसरमा भक्तपुरमा लाग्ने नवरात्री मेलामा पनि युवतीहरुले बाजा बजाएर बाजाप्रतिको मोह र आकर्षणलाई पुष्टि गरेका छन् । मेलामा आउँदा पुरुष मात्रै नभई युवतीहरु पनि धिमे, बाँसुरी, झ्यालीलगायत बाजा बजाउँदै आउने विभिन्न टोलहरुमा देखिएको छ ।

भक्तपुरमा दशैँको घटस्थापनादेखि दशमीको बिहानसम्म यहाँका विभिन्न नौ वटा शक्तिपीठमा लाग्ने मेला भर्न भक्तपुरका टोलटोलबाट बाजागाजासहित आउने परम्परा धान्न युवतीहरु पनि अग्रसर हुने गरेका हुन् ।

केही वर्षअघिसम्म पुरुषले मात्रै बाजाहरु बजाउने गरे पनि पछिल्लो समयमा यसमा युवायुवतीको पनि सहभागिता बढ्दै गएको भक्तपुर तचपालका रबिन श्रेष्ठले बताए । जात्रामा एउटै टोलबाट पनि दर्जनौँ बाजागाजासहितको टोली मेला भर्न शक्तिपीठ आउँदा धेरै रमाइलो हुने गरेको स्थानीयवासी बताउँछन् । भक्तपुरमा घटस्थापनादेखि दशमीको बिहानसम्म रातभरि बाजागाजाका धूनले गुञ्जायमान हुने गरेको छ ।

बाँसुरी बाजा बजाउने रश्मिला छुस्यावागले बाजा बजाउँदा आनन्द आउने मात्र नभई संस्कृति पनि जोगिने भएकाले पनि युवा पुस्ताको आकर्षण बाजामा बढेको बताए । उनले बाजा बजाउँदै मन्दिर जाँदा धेरै आनन्द आउने बताएका छन् ।

झ्याली बाजा बजाउँदै मन्दिर जाँदै गरेकी कमला कवांले तालीम लिएर बाजा बजाउन सिकेको बताउँदै अरू दिदीहरुले बाजा बजाएको देखेर रहर लागेपछि तालीम लिएको बताए । अहिले युवतीको टोली नै जात्रा पर्वमा बाजा बजाउने गरेको उनी बताउँछन् ।

धिमे बजाउन पोख्त भक्तपुर नासमनाकी सुनिता श्रेष्ठले पनि धिमे र बाँसुरी बजाउँदा आफूलाई निकै आनन्द आउने गरेको बताउनुभयो । उनका अनुसार जात्रा, पर्वमा मात्रै नभई अचेल विभिन्न कार्यक्रममा समेत बाजा बजाउन बोलाउने गरेका छन् । आम्दानीको स्रोतका रुपमा समेत लैजान सकिने यी बाजाहरु बजाउँदा युवा पुस्ताको हातबाट संस्कृतिको संरक्षण भइरहेको अनुभूति हुने पनि उनको भनाइ छ ।

भक्तपुर र मध्यपुरथिमि नगरपालिकाले युवा पुस्तालाई लक्षित गरी यस्ता बाजाहरुको तालीम सञ्चालन गर्दै आएको छ भने टोलटोलका गुठी तथा सहकारी र सङ्घसंस्थाले पनि तालीम दिन थालेपछि बाजाप्रति युवायुवतीको आकर्षण बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *