आजको प्रहरी समाचार

समाचार

 जुवातास खेल्ने पक्राउ  

भक्तपुर, २१ असोज

चाँगुनारायण नगरपालिका-९ ताथलीस्थित सोही ठाउँ बस्ने ३६ बर्षीय राजकुमार बस्नेतको युनिक खाजा घरमा जुवातास खेलिरहेका  ६ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९ सय ८५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 व्यवसायीहरुलाई धम्क्याई रकम उठाएको अभियोगमा पक्राउ 

काठमाडौं, २१ असोज

व्यवसायीहरुलाई धम्क्याई रकम उठाएको अभियोगमा काठमाडौं महानगरपालिका-२ लाजिम्पाट सकुनामार्ग डेरा गरी बस्ने ३१ बर्षीय सुदिप गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

लाजिम्पाट तथा ठमेल एरियामा स्थानीय व्यवसायीलाई धम्क्याई रकम उठाएको खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लाजिम्पाट खुर्सानीटारबाट उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 सवारी दुर्घटनामा मृत्यु  

काठमाडौं, २१ असोज

बारा, काठमाडौं, दाङ, बाजुरा र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

बारा सिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा ना.५ ख ७८५५ नम्बरको ट्रकले ना.१७ प १९६८ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा मोटरसाइकलमा सवार सिमरा उपमहानगरपालिका-१ बस्ने ३५ बर्षीया शोभा सिग्देलको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी बारा परवानीपुर गाउँपालिका-२ स्थित सडकमा ना.१ ज ७६४८ नम्बरको जिपको ठक्करबाट गम्भीर घाइते भएका  सोही ठाउँ बस्ने पैदलयात्री ४२ बर्षीय रामबहादुर महराको गण्डक हेल्थ केयर अस्पताल बीरगंजमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । जिप नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ नैकापस्थित सडकमा ना.६ ख ३०४१ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बा.८९ प नम्बरको मोटरसाइकल चालक सामाखुशी बस्ने स्याङ्जाका २५ बर्षीय पूर्ण थापालाई ओम समाज अस्पताल सिप्रदी हुँदै ट्रमा सेन्टर पठाएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ बर्षीय विद्या थापा घाइते भएकीले उपचारका लागि सोही अस्पताल पठाइएको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ घोराही उपमहानगरपालिका-९ बकुलाईमा रा.१ त ७६७ नम्बरको ट्याक्टरमा सवार सोही ठाउँस्थित असवरी बस्ने २२ बर्षीय चुनाराम रैदास उक्त ट्याक्टरबाट खस्न गई गम्भीर घाइते भएकाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाजुरा बढिमालिका नगरपालिका-६ ढम्कनेस्थित सडकमा से.१ त ८२०९ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३१ बर्षीय रामबहादुर रोकायलाई उपचारको लागि धनगढी लैजाने क्रममा शुक्रबार बाटोमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली कमलामाई नगरपालिका-५ सिलामेस्थित सडकमा अनटेष्ट लेखेको ट्याक्टर सडकबाट करीब २५ फिट तल खसेर दुर्घटना हुँदा ट्रयाक्टरका सहचालक सोही ठाउँ बस्ने २१ बर्षीय रमेश घिसिङ गम्भीर घाइते भएकाले जिल्ला अस्पताल सिन्धुली लैजाने क्रममा शनिबार बाटोमै मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बेहोस भई मृत्यु 

काठमाडौं, २१ असोज

रुपन्देही, धादिङ र ललितपुरको विभिन्न स्थानमा शनिबार ३ जनाको बेहोस भई मृत्यु भएको छ ।

रुपन्देही मायादेबी गाँउपालिका-७ बस्ने ६० वर्षीय सुग्रिम गुप्ता घरमा शनिबार बेहोस अवस्थामा फेला परेकाले उपचारको लागि भिम अस्पताल भैरहवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

धादिङ थाक्रे गाउँपालिका-११ स्थित रामजी रोकाको जुत्ता कारखानामा काम गर्ने भारत मोतिहारी घर भएका ३२ बर्षीय बीरेन्द्र राम पसलमा बसिरहेको अवस्थामा अचानक बेहोस भएकाले शिवदर्शन अस्पताल धार्के लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

ललितपुर महालक्ष्मीस्थान नगरपालिका-८ लुभुमा हाल नाम, थर, वतन नखुलेका करीब ४० बर्षीय पुरुष बेहोस अवस्थामा फेला परेकाले उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 डुबेर मृत्यु 

काठमाडौं, २१ असोज

महोत्तरी, काठमाडौं, धनुषा र रुपन्देहीको विभिन्न स्थानमा शनिबार ४ जनाको डुबेर मृत्यु भएको छ ।

महोत्तरी लोहारपट्टी नगरपालिका-८ भमरपुरास्थित बस्दै आएकी धनुषा सोहरसिगरजोराका सलामत राईनकी १ वर्षीय  छोरी अफरीन खातुनको बाल्टीनको पानीमा डुबेर मृत्यु भएको हो ।

काठमाडौं महानगरपालिका-२० कोहिटी डेरा गरी बस्ने सिन्धुपाचोक मेलम्चीका रमेश तामाङको २० महिनाको छोरा सृजन तामाङ खेल्ने क्रममा सोही ठाउँस्थित बन्दै गरेको घरको रिजर्भ ट्याङकीमा खस्न गएकाले तत्काल उद्धार गरी उपचारको लागि वीर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

धनुषा गणेशमान चारनाथ नगरपालिका-१० नयाँटोल बरमझिया बस्ने उमेश यादवको २ वर्षीय छोरा दिलखुश यादवको आफ्नै घर पछाडि रहेको नहरमा खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

रुपन्देही कञ्चन गाउँपालिका-१ दानापुरस्थित पहिलो खोलाको बाँधमा सोही ठाउँ बस्ने गिरीप्रसाद काउछाको १० वर्षीय छोरा दिबश काउछाले माछा मार्ने क्रममा बेपत्ता भएकाले खोजी गर्ने क्रममा सोही बाँधमा मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 आगलागीबाट धनमाल क्षति

काठमाडौं, २१ असोज

काठमाडौं र खोटाङमा भएको आगलागीबाट शनिबार करीब २ लाख ९३ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीस्थित वर्ल्ड लिङ्क कम्युनिकेशन प्रालिको कोठामा विद्युतको तार सर्ट भई आगलागी हुँदा करीब ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथला बस्ने जोगमाया राईको घरमा खाना पकाउने क्रममा  आगलागी हुँदा पसलका सामान र घर जलेर करीब २ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ल्यापटप र आइफोन चोरी 

भक्तपुर, २१ असोज

मध्यपुर ठिमी नगरपालिका-१ मनहरास्थित शिव दाहालको घरबाट करीब १ लाख रुपैयाँ बराबरका १ थान ल्यापटप र १ थान आईफोन शनिबार चोरी भएको छ ।

फरार चोरहरुको खोजी गर्नुका यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोतः केन्द्रीय प्रहरी समाचार कक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *