काठमाडौं, २० असोज
कागेश्वरी मनहरा नगरपालिकाको वडा नम्बर ६ र ७ स्थित मुलपानी पछिल्लो समय जुवाको अखडा बन्दै गएको छ । त्यो सुइको पाएपछि दशैँ तिहारलाई लक्षित जुवा तास नियन्त्रणमा खटिएको प्रहरीले त्यहाँ निगरानी बढाउन थालेको छ । जुवा खेलिरहेका युवालाई पक्राउ गर्न खोज्दा प्रहरीको कारबाहीमा परी दुई जना जुवाडेको मृत्यु भएको छ भने अन्य २४ जना पक्राउ परेका छन् ।
बुढानिलकण्ठ नगरपालिका कपन निवासी करीव ४३ वर्षीय सरोज घले र जिल्ला सिन्धुपाल्चोक साबिक सिम्पलकाफले गा.बि.स.वडा न ६ घर भइ हाल इन्द्रावती गाउँपालिका वडा न १ बस्दै आएका अन्दाजी ३८ वर्षका सोमलाल तामाङ्गको मृत्यु भएको हो । झ्यालबाट हामफाल्न खोज्दा सख्त घाइते भएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जुवाडे टोलीको साथबाट प्रहरीले ४ लाख ५८ हजार २ सय २५ रुपैयाँ नगदसहित विभिन्न सामान समेत बरामद गरेको जानकारी दिएको छ । शुक्रबार राती कागेश्वरी मनहरा न.पा.वडा नं. ७ मूलपानीस्थित तेण्डु शेर्पाको घरबाट उनीहरु पक्राउ परेका हन् । अघिल्लो दिनदेखि नै भेला जम्मा भएका र उनीहरुको गतिविधिहरु शंकास्पद हुन सक्ने स्थानीयको सुचनाका आधारमा प्रहरीले पक्राउ गरिएको बताएको छ ।