प्रहरी समाचार

समाचार

अवैध लागूऔषध सहित पाँचजना पक्राउ 

काठमाडौं, २० असोज

धादिङ र बाँकेमा अवैध लागूऔषध सहित ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

धादिङ बेनीघाट रोराङ गाउँपालिका-४ रुदिन बस्ने ठाकुराम पर्जालाई अवैध लागूऔषध गाँजा ९ केजी र सोही स्थान बस्ने देबबहादुर सार्कीलाई ४.५ केजी लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गजुरीको प्रहरीले उनीहरुको घरबाट उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके नेपालगंज उपमहानगरपालिका-१५ स्थित सडकबाट भारत बहराईच भौजिकुरुवा बस्ने २६ वर्षीय रजब अलि, बैजनाथ गाउँपालिका-१ चिसापानी बस्ने १४ वर्षीय बिनोद चन्द र बैजनाथ गाउँपालिका-२ बस्ने २३ वर्षीय देबबहादुर रोकायालाई अवैध लागूऔषध ब्राउनसुगर अन्दाजी ५ ग्राम सहित प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह भन्सारमा भारतको रुपैडियाबाट नेपालगंजतर्फ आउँदै गरेको रिक्सा जाँच गर्नेक्रममा सिटमा लुकाई ल्याएको उक्त लागूऔषध फेला परेपछि चालक अलि तथा रिक्सामा सवार चन्द र रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 जुवा-तास खेल्ने ३५ जना पक्राउ 

काठमाडौं, २० असोज

काठमाडौं र ललितपुरबाट अवैध रुपमा जुवा-तास खेल्ने ३५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । साथै काठमाडौंमा जुवातास खेल्ने व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा घरको झ्यालबाट हामफाल्दा २ जनाको मृत्यु भएको छ ।

काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ मुलपानी पिपलबोट बस्ने ४० वर्षीय तेण्डु शेर्पाको घरमा अवैध रुपमा जुवा-तास खेलिरहेको अवस्थामा तेण्डु समेत २४ जनालाई नगद ४ लाख ५८ हजार २ सय २५ रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिने क्रममा काठमाडौं महाकांल बस्ने ४३ वर्षीय सरोज घले र सिन्धुपाल्चोक साबिक सिम्पलकाफले इन्द्रावती गाउँपालिका-१ का ३८ वर्षीय सोमलाल तामाङ उक्त घरको झ्यालबाट हाम फाल्दा घाइते भएकोले उपचारको लागि बिएण्डबी अस्पताल लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो ।

ललितपुर महानगरपालिका-१८ भैसीपाटी मगरगाँउस्थित श्याम महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ३२ वर्षीय हरि थापा समेत ११ जनालाई ६ बुक तास र नगद ५१ हजार ६ सय ९० रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 भरुवा बन्दुक सहित पक्राउ 

म्याग्दी, २० असोज

अन्नपूर्ण गाउँपालिका-८ राम्चे बस्ने २० वर्षीय काली भन्ने टेकबीर गर्बुजालाई एकनाले भरुवा बन्दुक सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय घोडेपानीको प्रहरीले गर्बुजाको गोठमा तलासी गर्दा लुकाई छिपाई राखेको उक्त हतियार फेला पारेपछि उनी पक्राउ परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 सवारी दुर्घटनामा ७ जनाको मृत्यु तथा १८ जना घाइते 

काठमाडौं, २० असोज

काठमाडौं र बाँकेमा भएका छुटाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् ।

काठमाडौं नागर्जुन नगरपालिका-१ स्थित सडकमा बा.४ च ५९०९ नम्बरको कार शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका कार चालक सोही स्थान बस्ने ४२ वर्षीय रमेश दनैको ग्रण्डी अस्पताल टोखामा उपचारको क्रममा मृत्यु भएको छ ।

बाँके राप्ती सोनारी गाउँपालिका-९ मुगुवा खोलास्थित सडकमा दाङबाट नेपालगंजतर्फ आउँदै गरेको रा.१ ख १६६२ नम्बरको माइक्रोबस र बिपरित दिशाबाट आउँदै गरेको लु.१ ख ७७२९ नम्बरको ट्रक शनिबार एकआपसमा ठक्कर खाँदा ४ जनाको घटनास्थलमै र गम्भीर घाइते भएका २ जनाको कोहलपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृतकमध्ये दाङ तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५० वर्षीया नारायणी श्रीष, सोही उपमहानगरपालिका-७ बस्ने माइक्रोबस चालक ३३ वर्षीय सुगने चौधरी, सल्यान शारदा नगरपालिका-५ बस्ने ३० वर्षीया दोर्ना बुढाथोकी र हाल सनाखत हुन नसकेका १ जनाको घटनास्थलमै मृत्यु भएको हो । दाङ तुलसीपुर उपमहानगरपालिका बस्ने ३० वर्षीया तुल्सी रावत र २७ वर्षीया बसन्ती चौधरीको उपचारको क्रममा मृत्यु भएको हो । घाइते १८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 रुखले च्यापिएर मृत्यु 

लम्जुङ, २० असोज

सुन्दरबजार नगरपालिका-१ रोटेपानी बस्ने ७२ वर्षीय भूमिनन्द मिश्रको रुखले च्यापिएर शुक्रबार मृत्यु भएको छ । आफ्नै बारीमा चिलाउनेको रुख काट्ने क्रममा रुखले च्यापिन गई उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

मृत अवस्थामा फेला 

काठमाडौं, २० असोज

धादिङ र सिन्धुपाल्चोकमा २ जना मृत अवस्थामा शुक्रबार फेला परेका छन् ।

धादिङ गंगाजमूना गाउँपालिका-७ स्थित बुढीगण्डकी खोलाको किनारमा सोही गाउँपालिका बुढाथुमलोकुवा बस्ने ७० वर्षीय हिर्के नेपाली मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक बलेफी गाउँपालिका-४ स्थित बलेफी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

आगलागीबाट धनमाल क्षति 

काठमाडौं, २० असोज

तेह्रथुम, बारा, वर्दिया, मोरङ, सुनसरी र रौतहटमा भएका छुट्टाछुट्टै आगलागीबाट करीब १० करोड २२ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

तेह्रथुम आठराई गाउँपालिका-१ डाँडागाउँ बस्ने ईन्द्रबहादुर लामाको कच्ची घरमा चुल्होबाट आगो सल्कन गई शुक्रबार आगलागी हुँदा करीब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

बारा जितपुर सिमरा उपमहानगरपालिका-७ नितनपुर चोकमा रहेको हनुमान मेटल प्रालिमा शुक्रबार आगलागी हुँदा करीब १० करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

वर्दिया बढैयाताल गाउँपालिका-८ मयुर बस्ती बस्ने रामबहादुर भडेलको फुसले छाएको गोठभित्र लामखुट्टे भगाउन बालिएको भुसबाट आगो सल्कन गई शुक्रबार आगलागी हुँदा गोठ पूर्ण रुपमा जलेर करीब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

मोरङ बिराटनगर महानगरपालिका-६ सरोचिया बस्ने शंकर सहनीको टिनको छानो भएको एकतले कवाडी सामानहरु राख्ने गोदाम र अमृत कामतको चिया पसलमा शुक्रबार आगलागी हुँदा करीब ८ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

सुनसरी धरान उपमहानगरपालिका-१५ तुलशी बस्ती बस्ने लिकबहादुर राईको घरमा रहेको फ्रिजमा बिजुलीको तार सट भई शुक्रबार आगलागी हुँदा करीब ६ लाख १० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

रौतहट कटहरिया नगरपालिका-७ बगही बस्ने नेवाजी अंसारीको घरगोठमा लामखुट्टे धपाउनको लागि बालेको आगोबाट शनिबार आगलागी हुँदा करीब १ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोतः केन्द्रीय प्रहरी समाचार कक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *