काठमाडौं, २६ भदौ
शेयर बिक्रि गरेपछि राफसाफको लागि ब्रोकर कार्यालय धाउनु पर्ने झन्झट अन्त्य हुने भएको छ । हाल सेयर किनेपछि लगानीकर्ताले चेक बुझाउन र सेयर बेचेपछि डेबिट इन्स्ट्क्शन स्लिप (डिआईएस) बुझाउन ब्रोकर कार्यालय जानु पर्ने बाध्यता छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले अनलाइनबाट नै डिआईएस बुझाउन सकिने गरी ई -डिआईएस सेवा सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुर्याएको छ । यो सेवा सुचारु भएसंगै लगानीकर्तालाई सहजता हुने भएको हो ।
सिडिएसका प्रबक्ता सुरेश न्यौपाने ई-डिआईएस तयार भई अहिले परिक्षण भईरहेको बताए । साथै उनले आज नै सिडिएसको बोर्ड बैठकमा यसलाई पेश गर्ने तयारी भएको जानकरी दिए । बोर्ड बैठकको निर्णय अनुसार अगाडी बढ्ने प्रबक्ता न्यौपानेले बताए । उनले भने ‘आज बेलुकाको बोर्ड बैठकपछि कसरी अगाडी बढ्ने भन्ने थाहा हुन्छ’।
उनका अनुसार आज बस्ने बोर्ड बैठकले अनुमति दिए ई -डिआईएस तत्काल कार्यान्वयनमा आउने छ । बोर्ड बैठकपछि नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएर भदौ महिना भित्रै यसलाई कार्यन्वयनमा लैजाने योजना रहेको न्यौपानेले बताए ।
यो कार्यन्वयनमा आएपछि मेरो शेयरका प्रयोगकर्ताले ई-डिआइएस सम्बन्धी अप्सनमा गएर शेयर बिक्री गर्दा ई-डिआर्इएस प्रयोग गर्न सक्नेछन् । मेरो शेयरको होम पेजमा इलेक्ट्रोनिक डेबिट इन्सट्रक्सन स्लीप (ई-डिआइएस) सम्बन्धी अप्सन रहने छ । यो सेवा मेरो शेयरमा आवद्ध भएका लगानीकताले मात्र लिन सक्ने छन् । पूर्णअनलाईन कारोबार प्रणाली नआउदै लगानीकर्ताले यो सेवा लिन सक्ने छन् ।