नीलबाराही, भैरव र महाकाली नाच प्रदर्शन

कला/साहित्य मनोरञ्जन विशेष समाचार समाचार

भक्तपुर, १३ भदौ (रासस) ः मध्यपुरथिमि नगरपालिकाभित्रका विभिन्न शहरमा ऐतिहासिक एवं सांस्कृतिक महत्वको विभिन्न नाच प्रदर्शन शुरु भएको छ ।

गएरातिबाट बोडेमा नीलबाराही नाच शुरु भएको छ । बाह्र वर्षपछि एकपटक फरक शैलीमा हुने धार्मिक महत्वको नाच चार दिनसम्म लगातार नगरका विभिन्न शहरमा प्रदर्शन हुने गरेको स्थानीय दीलकृष्ण प्रजापतिले जानकारी दिनुभयो । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिबाट अर्थात् भाद्र द्वितीयादेखि पञ्चमीसम्म नाच चल्छ । बोडेमा राक्षसले दुःख दिएपछि नीलबाराही देवीले एक स्थानीय बासिन्दालाई नाच सिकाएर पठाएपछि वर्षौंदेखि शुरु भएको नाचमा दैवी शक्ति प्राप्त हुने जनविश्वास छ ।

विभिन्न देवीदेवताको आकृतिको मुकुण्डो लगाएर घण्टौँसम्म टोलटोल घुमेर दैनिक १० देखि १४ घण्टासम्म नाच्नुपर्ने यो नाच चलिरहँदा देवगणले खान, बस्न, बोल्न, घामपानीमा छाता ओड्न, दिशापिसाब गर्न र जुत्तासमेत लगाउन नहुने नियम रहेको स्थानीय जुजुभाई बाँस श्रेष्ठले बताउनुभयो । नीलबाराही गुठी नै सञ्चालन गरी स्थानीयले नाचलाई जोगाउँदै आएका छन् ।

बोडेको नारायणथान लाछीबाट शुरु भई लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनःनारायणथानमा समापन गरिन्छ । परम्पराअनुसार प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाइन्छ । भैरव एक, बाराही चार, कुमारी चार, सिहं चार द्वारपाल दुई र गणेश चार गरी १९ देवगण रहन्छन । नाचमा छ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने नौलगायतका विभिन्न सहयोगी गरी ११५ को संलग्नता रहन्छ ।

अष्टमात्रिका र नागना नाच शुरु

गएरातिदेखि नै मल्लकालीन लाय्कू भैलः अर्थात भैरव जात्रा शुरु भएको छ । गत वर्ष लायकू दरबारबाट प्रदर्शन गरिएको सो नाच यस वर्ष लायकु भैलका नाय पमाः श्यामकाजी श्रेष्ठको स्वीकृतिमा मध्यपुरथिमि– ५ नासननी टोलका प्रजापतिले सञ्चालन गरेका हुन् । तान्त्रिक एवं ऐतिहासिक भैरव नाच भाद्र कृष्ण द्वितीया (गुंलागा द्वितीया) देखि पञ्चमीसम्म मनाइने गरिएको लायकु भैल गुरु एवं नाय पमाः अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

भैरव दुई, दाःगि अर्थात् कुमारी दुई, र ज्यापूँग एक गरी पाँच जना देवगण रहन्छन् । नाच तान्त्रिक विधि पूरा गरेर दैवी शक्ति प्राप्त गरी सञ्चालन हुने मूल गुरु श्रीगोपाल प्रजापतिले जानकारी दिनुभयो । जसमा भैरवले खड्ग, कुमारीले डमरु र ज्यापूँगले ज्यापूँग अर्थात् कपासको बियाँ, अक्षता, ताय् भएको भाँडो, हातमा लिएर विभिन्न तालमा विभिन्न हाउभाउ प्रस्तुत गर्दै नाचिन्छ । त्यसका लागि १२ ले दागः, आठ ले भुस्या, आठ ले पोङ्गा र चार जनाले मुहाली बजाइ सुर ताल दिने संयोजक श्रेष्ठले बताउनुभयो ।

शास्त्रीय एवं तान्त्रिक विधिको प्रयोग गरी देवगणको शरीरमा शक्ति प्रवेश गराई नाच नचाउने परम्परा रहेको नाचका व्यवस्थापक चन्द्रकृष्ण प्रजापतिले जानकारी दिनुभयो । प्राचीनकालमा मध्यपुरथिमि क्षेत्रका बासिन्दालाई भूतप्रेत, पिशाचले दुःख दिएपछि तान्त्रिकमार्फत मानिसको शरीरमा भैरव, कुमारीको शक्ति प्रवेश गराई क्रोधित मुद्रामा टोलटोलमा नचाएपछि भूतप्रेत टिक्न नसकेकाले त्यसपछि यो नाच चल्दै आएको किंवदन्ती छ ।

देवासुर सङ्ग्राममा आधारित रहेर कलात्मक ढङ्गले तान्त्रिक विधिअनुसार नाचिने महाकाली नाच थिमिमा प्रदर्शन गरिएको छ । सोह्र देवीदेवता र दैत्यको प्रतीकका रुपमा देवगणले नाच्ने नाचमा दैवी शक्ति प्राप्त हुने जनविश्वास छ । गाईजात्राको दिन राति अष्टमात्रिका र नागचा नाच प्रदर्शन गरिएको छ । अष्टमात्रिका देवीको प्रतीकका रुपमा तान्त्रिक विधिअनुसार नाच नाचिएको हो । भष्मासुर दैत्यका धार्मिक कथामा आधारित रहेर सञ्चालन हुने नागचा नृत्य यहाँ प्रदर्शन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *