
लामो समयसम्म अस्वस्थ भइ उपचार गराइरहेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहिबार नयाँ दिल्लीस्थित अल इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा निधन भएको हो।
एम्सले एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्री वाजपेयीको बिहिबार साँझ ५ बजेर ५ मिनेटमा निधन भएको स्पष्ट पारेको हो।
भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटकसम्म भारतका प्रधानमन्त्री बनेका थिए। पहिलो पटक सन् १९९६ मा १३ दिनका लागि प्रधानमन्त्री बनेका वाजपेयी सन् १९९८ देखि १९९९ तथा सन् १९९९ देखि २००४ सम्म भारतका प्रधानमन्त्री बनेका थिए।
भारतमा पूर्व प्रधानमन्त्री वाजपेयीलाई एक सर्वप्रिय कवि, वक्ता र समावेशी राजनीतिका पर्यायसमेत मानिन्छ।
एक सरकारी स्कुल शिक्षकका छोरा वाजपेयीका बाल्यकाल अभावमै वितेको थियो।
सन् १९२४ डिसेम्बर २५ मा ग्वालियरको एक निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका वाजपेयीको प्रारम्भीक शिक्षा-दीक्षा ग्वालियरकै भिक्टोरिया (हालको लक्ष्मीबाई) कलेज तथा कानपुरको डिएभी कलेजबाट भएको थियो।
राजनीतिक विज्ञानमा स्नातकोत्तर गरिसकेपछि पत्रकारिताबाट आफ्नो करियर शुरू गरेका उनले राष्ट्र धर्म, पाँचजन्य र वीर अर्जुन पत्रिकाको सम्पादन गरे।
सन् १९५१ मा भारतीय जनसंघको संस्थापक सदस्यहुँदै राजनीति सुरू गरेका उनी कुशल भाषण कला शैलीबाट राजनीतिमा चिनिन्छन्।
सन् १९५७ मा जनसंघबाट उनी तीन लोकसभा सिट रहेको लखनऊ, मथुरा र बलरामपुरबाट चुनाव लडे। लखनऊमा चुनाव हारेका उनले मथुरामा जमानतसमेत गुमाएका थिए। तर, बलरामपुरमा चुनाव जिते लोकसभामा पुगेका थिए।
यसैबाट उनले पाँच दशकीय संसदीय करियर सुरूवात भयो।
सन् १९६८ देखि १९७३ सम्म भारतीय जनसंघको अध्यक्ष भएका उनी केही समय जेल जीवन पनि भोगे।
सन् १९७७ मा जनता पार्टी नेतृत्वको सरकारले उनलाई विदेश मन्त्री बनायो। यसै बेला संयुक्त राष्ट्र संघमा उनले हिन्दीमा भाषण गर्दै यसलाई आफ्नो जीवनको सबैभन्दा सुखद क्षण बताएका थिए।
सन् १९७९ मा जनता सरकार ढलेपछि सन् १९८० मा भारतीय जनता पार्टीको गठन भयो। वाजपेयी यसको संस्थापक सदस्य हुँदै अध्यक्षसमेत भए।
सन् १९८० देखि १९८६ सम्म उनी भाजपाका अध्यक्ष भएर पार्टी चलाए। यसैबीच उनी संसदीय दलको नेतामा निर्वाचित भए।
१० पटक भारतीय लोकसभामा निर्वाचित अटल बिहारी वाजपेयी दोस्रोदेखि चौधौं लोकसभासम्म संसद सदस्य रहे।
तर, सन् १९८४ मा ग्वालियरमा कांग्रेसका माधवराव सिन्धियासँग पराजित भएका थिए।
सन् १९६२ देखि १९६७ तथा सन् १९८६ मा उनी राज्यसभाको सदस्य थिए।
सन् १९९६ मे १६ मा उनी पहिलो पटक भारतीय प्रधानमन्त्री भए। तर संसदमा बहुमत उनको पक्षमा नदेखिएपछि उनले १३ दिन पछि नै पदबाट राजीनामा दिएका थिए।यसपछि सन् १९९८सम्म संसदमा विपक्षी दलको नेताका रूपमा रहे।
सन् १९९८ को आम निर्वाचनमा सहयोगी पार्टीसँग मिलेर उनले बुहमतसहित सरकार बनाए। सरकारको नेतृत्व उनैले गर्दै दोस्रो पटक भारतको प्रधानमन्त्री बने। तर, यो सरकार पनि १३ महिनामा ढल्यो।
एआईएडीएमके द्वारा गठबन्धनको समर्थन फिर्ता लिएपछि उनको सरकार ढलेको थियो।
सन् १९९९ मा फेरि राष्ट्रिय जनतान्त्रिक गठबन्धन बनाएर चुनाव लडे। गठबन्धनलाई पुनः बहुमत आयो। वाजपेयी फेरि एक पटक भारतको प्रधानमन्त्री बने।
सन् २९९० मा सत्तको राजनीतिबाट सन्यास लिँदा उनी लखनऊका सांसद थिए। उनले सन् २०१४ मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट विभूशित भए।
नरेन्द्र मोदी सरकारले उनलाई उनको जन्मदिन डिसेम्बर २५ को अवसर पारेर ‘गुड गवर्नेन्स डे’ का रूपमा मान्दै आएको छ।
एजेन्सीको सहयोगमा