नागपञ्चमी पर्व तथा यसको सन्देश

विचार विशेष समाचार समाचार

ओम धौभडेल 

नेपाल कला र संस्कृतिमा धनी देश हो । यहाँ वर्षभरि विभिन्न जात्रा चाडपर्व आदि मनाइरहेको हुन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमी अर्थात् गुँलाथ्व पञ्चमीको दिन आ–आप्mनो घरको मूलढोकामाथि नागका तस्बिर टाँसी पूजाआजा गरी नाग पञ्चमी मनाउने चलन छ । यस दिन नागको साथमा नागकन्या, बिच्छी, गंगटो, कनसुतलो आदि सरिसृपहरूलाई पूजा गर्ने चलन छ । अगत्स्य, पुलत्स्य, बैसम्पायन, सुमन्तु, जैमियनीजस्ता सप्तऋषिहरूलाई आराधना गरिएको श्लोकसहितको नागको तस्बिरमा पूजा गरिएमा वर्ष दिनसम्म नागले घरको रक्षा गरिराख्ने, जलनाग, निकासमा बस्ने नाग प्रभावहीन हुने, गरुडको भय नहुने, बालीनाली राम्रो हुने, चट्याङ बज्रपात आदिबाट बच्ने, धनसम्पत्ति वृद्धि हुनेजस्ता जनश्रुति छ । विभिन्न वेद, पुराण र साहित्य आदिमा नाग तथा सर्पबारे उल्लेख छ । नाग वा सर्पको पूजा आराधनाबाट के कस्ता फल प्राप्त हुन्छ भन्ने उल्लेख छ । यसबाट वैदिककालदेखि नै नाग पूजा गर्ने परम्परा रहेको बुझिन्छ । यस दिन घरको मूलढोकामाथि शुद्ध जलले सिंचन गरिसकेपछि पाँच ठाउँमा गोबर लगाई त्यसमाथि नाग तथा विभिन्न सरिसृपहरू अङ्कित तस्बिर टाँस्छ । गोबर रहेको प्रत्येक भागमा सस्र्यु, दुबो तथा फूल राखी नागको पूजा गर्ने क्रममा गाईको दूध, घ्यू महलगायतको पञ्चामृत, फलफूल, धुप, दीप, नैवेद्य आदिको आवश्यकता हुन्छ । अन्य पूजा घरकी गृहिणीहरूले गरे पनि नाग पूजा पुरुषले गर्ने परम्परा छ ।
हाम्रो कला र संस्कृतिमा नागको ठूलो महिमा छ । नागका आकृति विशेषगरी पानीसँग सम्बन्धित जस्तो पोखरी, ढुङ्गेधारा, जलद्रोणी आदिमा कुँदाउने चलन छ । जहाँ नाग हुन्छ त्यहाँ पानी हुन्छ भन्ने मान्यताका साथ यसरी नागका आकृति कुँदिने गरेको पाइन्छ । नागकोे अर्को नाम बासी पनि हो जुन बासुकीको अप्रभंश नाम हो । रोपाइँताका समयमा पानी नपरे ठाउँ ठाउँका यस्ता बासी पूजा गर्ने चलन छ । यसो गर्दा पानी अवश्य पर्छ भन्ने मान्यता पनि छ । पोखरीको चारैतिर पर्खाल बनाई त्यसमाथि नागको कलात्मक ढुङ्गाका आकृति राख्ने परम्परा छ, जलद्रोणी र ढुङ्गेधारामा नागका आकृति कुँदने चलनले यसको थप पुष्टि हुन्छ । यसबाट हाम्रा पुर्खाहरूले ढुङ्गेधारा, पोखरी, जलद्रोणी, इनार, दरबार, निजी घर आदि सम्पदाहरूमा समेत नागको प्रशस्त मूर्ति आकर्षक शैलीमा कुँदाएको देख्न सकिन्छ ।
नागसित मानिसको विवाह भएको घटनादेखि आधा मानिस, आधा नागका नागकन्या, पाटनको भोटो देखाउने जात्रामा नागको लुगा हराएको घटना, पनौतीको जात्रा हेर्न टौदहका नाग ससुराली गएको कथन, धेरैजनासँग सहवासमा लागेकी नागिनीलाई चारपाते मुडेर देश निकाला गरेको चर्चा, स्वस्थानी कथामा आउने नागनागिनीको सम्बन्ध, महाभारतमा अर्जुनले नागकन्या उल्लुपीसित गरेको विवाह, पाण्डवका मामाघर नाग खलक भएका घटनाहरूले यसको सङ्केत गर्दछ । यता लिच्छवीहरूले नागखलकसित विवाह गरी आफ्नो राजनैतिक शक्ति बढाएको घटनाले पनि नागहरू मानव जातिकै भएको देखिन्छ । 
हाम्रै संस्कृतिकै आधारमात्र हेर्ने हो भन्ने पनि विशेषगरी पिशाच चतुर्दशी
(पशा च¥हे) देखि घण्टाकर्ण चतुर्दशी
(गाथामोग) सम्मका प्रायः जात्राहरू नागसित सम्बन्धित छन् । तत्कालीन नेपालमण्डलका ठाउँँठाउँमा हुने देशजात्रा जस्तो साँखुको बज्रयोगीनीको जात्रा, नालाको करुणामयको जात्रा, काठमाडौंको जनबाहा द्यःको जात्रा, भक्तपुरको बिस्केट जात्रा, बनेपाको चण्डेश्वरीको जात्रा, ललितपुरको मच्छेन्द्रनाथको जात्रा, पशुपतिको गंगामाईको जात्रा, पनौतीको भैरव भद्रकालीको जात्रा आदि नागसित प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध रहेको अर्काे एक महत्वपूर्ण पक्ष हो ।
यहीबीच सिन्हाज्या भनी मानो रोपेर मुरी फलाउने महत्वपूर्ण समय पनि आउँछ । सिन्हाज्या गर्न आकाशे पानीको भरपर्नुबाहेक अरु बिकल्प छैन । त्यसमा ने.स. ५३५ को एउटा घटनाले यसको थप पुष्टि हुन्छ । तत्कालीन समयमा काठमाडौं उपत्यकामा अनावृष्टि भई हाहाकार हुँदा पाटनका एकजना तान्त्रिक तुहुदेव बज्राचार्यले नागसाधनासहित पुरश्चरणको क्रममा गोमुख नाग, मेघमुख नाग, सिंहमुखनाग, ब्याघ्रमुखनाग, मृगमुखनाग, गजमुखनाग, भुजंगमुखनाग, भुजंगमहावृक्षनाग, भुजंखालनागको पूजा भएको देखिन्छ । जसलाई नवनागको रुपमा लिने गरिन्छ । त्यस्तै यहाँको हरेक वास्तुमा समेत नागको उपस्थिति हुने क्रममा वास्तुनाग पूजा विधि नामको ग्रन्थसमेत तयार भयो । जसमा महापद्यनाग, अनन्तनाग, शंखपारनाग, बासुकी नाग, पद्यनाग, कुरिनाग, तक्षकनाग, कर्कोटकनाग, वरुणनाग पर्छ । यता कान्तिपुरका राजा प्रताप मल्लको समयमा यस्तै अनावृष्टि हुँदा स्वयम्भूस्थित शान्तिपुर प्रवेश गरी नागको रगतले लेखेको ग्रन्थ खोलेपछि पानी परेको उल्लेख छ । यसबाट हाम्रो संस्कृति परम्परामा नागको ठूलो महत्व झल्किन्छ । यी सबै तान्त्रिक मतमा पर्छ ।
तर गँुलाथ्व पञ्चमीको दिन गरिने नागपूजा त्यसबेलाका नागका जात्रा वा पूजाभन्दा पृथक छ । नागलाई दुईप्रकारले पूजा गर्ने चलन छ । नायपञ्चमीको दिन गरिने नाग पूजा शुद्ध वैद्धिक विधिबाट सम्पन्न हुन्छ । नागपञ्चमी किन मनाउनुप¥यो भन्नेबारे चलेको जनश्रुतिलाई मात्र राम्ररी केलाए यसको जवाफ आउँछ । एकजना किसानले गुँला महिनासम्म पनि सिन्हाज्या गर्न नसकेको अवस्था आउँछ । बुढापाकाहरूका अनुसार गाथामोग च¥हेपछि गरेको सिन्हाज्या राम्रो हँुदैन भन्ने कुरा विचारणीय छ । यसै सन्दर्भमा गुँलाथ्व पञ्चमीको दिन सिन्हाज्या गर्न खेत खन्न गएको किसानले खेत खन्दै गर्दा जमीनमुनि रहेको नागका बच्चाहरू मार्न पुग्छ । आप्mना बच्चाहरूको लागि आहार खोजेर फर्कंदा नागले आफ्ना बच्चाहरू मृत पाएछ । यसबाट क्रोधित नागले आफ्ना सूक्ष्म चक्षुमार्फत यो घटना कसले गर्यो भन्ने खोज्दा एकजना किसानले रोपाईको लागि खेत खन्ने क्रममा भएको थाहा पाएपछि उसलाई पनि डसेर मार्ने उद्देश्यले घरमा पुगेछ । सुतिरहेका सबै परिवारलाई उसले डसेर मारेछ । तर एकजना छोरी छुट्टै अर्को कोठामा सुतेको भएर बाँचेछ । आफ्नो परिवारका सबै सदस्यहरूको मृत्यु भएको पाएपछि उनी सारै दुखी भएछिन् । नागकै कारणले आफ्नो परिवारका सदस्यहरूको मृत्यु भएको थाहा पाई उनले नागको खुब भक्तिभावका साथ पूजा आराधना गरेछिन् । यसबाट प्रसन्न भएका नागले पुनः ती किसानका परिवारलाई जीवित गरिदिएछ । त्यो दिन यही साउन शुक्ल पञ्चमीको दिन परेछ । यसरी नागको पूजा आराधना गर्ने दिन भएर त्यो दिन नाग पञ्चमीको नामले प्रख्यात भयो । यसबाट नागपञ्चमीको दिन सिन्हाज्या गर्न नहुने सन्देश मिल्दछ । हाल पनि नागपञ्चमीको दिन खेत नजाने वा नखन्ने चलन छ । यो समयमा प्रशस्त पानी पर्ने, गर्मी हुने अवस्थामा लुकिराखेका नाग वा सर्पहरू बाहिर निस्कन्छन् । खेत, जङ्गल जताततै बनस्पतिहरू बढेर यो बेला नाग वा सर्पहरूसमेत देख्न नसकिने अवस्थामा त्यस्ता सरिसृपहरूबाट धेरैको ज्यान जाने समय हो । अहिले पनि भारत र नेपालकै तराई भेगमा सर्पदंशबाट धेरैको ज्यान जाने गर्दछ । नागपञ्चमी मनाउनुको अर्थ मौसमअनुसार यही समयमा नाग वा सर्पको बिगबिगी हुने हुँदा मानिसहरू सतर्क हुनुपर्छ ।
वास्तवमा एउटा जिउँदो नाग वा सर्पलाई हामीले कहिल्यै नजीक राखी हेर्ने प्रयास गरेका छैनौं । उनीहरूलाई मानव जातिकै शत्रु भन्ठानेर देख्नबित्तिकै मार्छांै वा भगाउँछौं । पृथ्वीमा रहेका सरिसृपहरूमध्ये नाग र सर्प मानव जगतकै लागि उपयोगी प्राणी भएर पनि ती मानवहरूबाट सर्प वा नागले सहानुभूति लिन सकेको देखिंदैन ।
नाग र सर्पले मान्छेलाई टोक्नुबाहेक अरु जानेको छैन भन्ने हाम्रो मान्यता छ । यही भएर मानिसले नाग र सर्पलाई देख्नेबित्तिकै मार्ने वा भगाउने गरिहाल्छ । वास्तवमा यसले वातावरणमा ठूलो प्रभाव पारिरहेको छ । सर्प होस् वा नाग मान्छेलाई देख्नेबित्तिकै टोकिहाल्ने जीव होइन । उनीहरूलाई चलाएमा, कुल्चेमा अझ आत्मरक्षाको अवस्थामा मात्र टोक्ने हो । यस्ता व्यावहारिक एवम् वातावरणीय दृष्टिकोणले हाम्रो धर्म र कलासंस्कृतिमा नाग वा सर्पहरूलाई आप्mनै संसारमा स्वतन्त्रपूर्वक बाँच्न पाओस् भनी हाम्रा पुर्खाहरूले सयौं वर्षदेखि नागपूजा गरी नागपञ्चमी मनाइआएको देखिन्छ । त्यसैले धार्मिक, सांस्कृतिक, सामाजिक दृष्टिकोणले यहाँ नागपूजा अर्थपूर्ण रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *