इसानको सातौं सम्मेलन सुरु- सक्नेले मात्र उच्च शिक्षा आर्जन गर्नुपर्छ भन्ने विचार नै पुँजीवादी विचार

विशेष समाचार शिक्षा समाचार

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सक्नेले मात्र उच्च शिक्षा आर्जन गर्नुपर्छ भन्ने विचार नै पुँजीवादी विचार हो भन्नुभएको छ ।
संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को एक विशेष समारोहबीच शुक्रबार सातौं राष्ट्रिय सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष रोहितले सबैले उच्च शिक्षा हासिल गर्नु पर्दैन भन्नु राज्य शिक्षाको दायित्वबाट पन्छिएको हो भन्नुभयो ।
शिक्षकहरू विषयवस्तु र व्यवहार या विचारमा स्पष्ट हुनुपर्ने औंल्याउँदै अध्यक्ष रोहितले शिक्षकले एक झूट बोले विद्यार्थीले हजार झूट बोल्ने हुँदा प्रत्येक शिक्षकहरू शिष्ट, सभ्य, सदाचार, चरित्रवान हुनुपर्छ भन्नुभयो ।
शिक्षकहरू चोखो पेशामा लागे विद्यार्थीहरू असल, योग्य र सक्षम बन्ने विचार व्यक्त गर्दै उहाँले आजका ठूलठूला भ्रष्टाचारीहरू हिजोका विद्यार्थीहरू भएको हुँदा विद्यार्थी जीवनदेखि नै उनीहरूलाई असल बनाउनुपर्छ भन्नुभयो ।
विद्यार्थीहरूलाई सही दिशा दिन शिक्षकहरूले दोहोरो चरित्र देखाउन नहुने उहाँले स्पष्ट पार्नुभयो ।
सरकारबाट स्वीकृति प्राप्त निजी विद्यालयलाई सरकारी छात्रवृत्ति नदिने सरकारी बन्दोबस्त गैरसंवैधानिक भएको उल्लेख गर्दै उहाँले भन्नुभयो – शिक्षामा भइरहेको भेद अन्त्य गर्न निजी विद्यालयले पनि सरकारी छात्रवृत्ति पाउनुपर्छ ।
उहाँले निजी विद्यालयले छात्रवृत्ति नपाउनु असल, योग्य या राम्रो मान्छे चाहिंदैन भन्नु हो भन्नुभयो ।
राज्यले उद्योगलाई सहयोग गरेझैं विद्यालयलाई पनि सहयोग गर्नुपर्छ –उहाँले भन्नुभयो ।
शिक्षा शास्त्र सङ्कायका पूर्व डिन पृथुचरण वैद्यले इसानअन्तर्गतका विद्यार्थीहरूलाई अरु विद्यालत्न्दा बढी सचेत र देश र समाजप्रति उत्तरदायित्व बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
शिक्षकहरूमा पाठ्यपुस्तकको ज्ञानबाहेक देश विदेशको ज्ञान र अनुभव भए विद्यार्थीहरू अझ सचेत, सक्षम र योग्य हुने विचार व्यक्त गर्दै उहाँले विद्यार्थी र शिक्षकहरूको व्यक्तित्व विकास गर्न बेलाबखत कार्यशाला गोष्ठीहरू भइरहनुपर्छ भन्नुभयो ।
प्राध्यापक समाजका अध्यक्ष एवं इसानका सल्लाहकार सरोजराज गोसाईले गुणस्तरीय शिक्षा दिएर देशभक्त र देश र समाजप्रति जिम्मेवार नागरिक बनाउनु नै इसानको लक्ष्य हो भन्नुभयो ।
जिम्मेवार शिक्षकले मात्रै जिम्मेवार विद्यार्थी तयार गर्नसक्ने विचार राख्दै उहाँले शिक्षामा सरकारको मुख ताकेर बसेको भए भक्तपुरमा अहिलेको जस्तो शिक्षाको विकास नहुने बताउनुभयो ।
शिक्षा निःशुल्क र अनिवार्य बनाउन तथा शिक्षालाई उत्पादन श्रमसँग जोड्न समाजवादी व्यवस्था आवश्यक हुने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो – “स्वार्थी भावना हटाई सामूहिक भावनाको विकास गर्न सामाजिक क्रियाकलाप जरुरी छ । शिक्षकहरू दीक्षित भए असल, इमानदार र जिम्मेवार नागरिक तयार हुन्छ ।”
राजनीतिक व्यवस्था राम्रो नभएसम्म शिक्षा व्यवस्था पनि राम्रो नहुने उल्लेख गर्दै उहाँले राजनीतिक भागवण्डाकै कारण देशको उच्च शिक्षालय ध्वस्त भएको हो भन्नुभयो ।
नेक्रामसङ्घका अध्यक्ष एवं पूर्व सांसद अनुराधा थापामगरले नेमकिपाले सडक र सदनमा गरेको वैचारिक र कानुनी सङ्घर्षकै कारण हाल आधारभूत तहमा अनिवार्य र मावि तहमा निःशुल्क शिक्षाको व्यवस्था संविधानमा उल्लेख भएको हो भन्नुभयो ।
संविधानमा उल्लेख भएअनुसार अनिवार्य र निःशुल्क शिक्षा व्यवहारमा लागू नभएको हुँदा अझै सङ्घर्ष गरिरहनुपर्नेमा जोड दिंदै उहाँले आर्थिक लेनदेनभन्दा समाज परिवर्तन गर्ने असल नागरिक तयार गर्नुपर्नेतर्फ हाम्रो ध्यान जानुपर्छ भन्नुभयो ।
राजनीतिक वितृष्णाविरुद्ध जनशक्ति तयार गर्नुपर्ने आवश्यकताबारे चर्चा गर्दै उहाँले पुँजीवाद र समाजवादको भेदबारे विद्यार्थीलाई शिक्षा दिनुपर्छ, विद्यार्थी जीवनदेखि नै वर्गीय चेतना दिनुपर्छ भन्नुभयो ।
समाजवादी व्यवस्था स्थापना नभएसम्म देशमा हत्या र हिंसा दोहोरिरहने चर्चा गर्दै उहाँले समाजवादी व्यवस्था भएको प्रजग कोरियामा १२ कक्षासम्म अनिवार्य र निःशुल्क शिक्षाको बन्दोबस्त छ, त्यहाँ सङ्गठित अपराध, वेश्यावृत्ति केही छैन भन्नुभयो ।
नेपालको सीमा नाकामा खोलेका मेडिकल कलेजहरू भारतीय लगानीमा भारतीय अपराधीहरूको कालो धनमा सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो –काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नदिने विचार गरिब जनताको पक्षमा छैन ।
नेमकिपाका प्रदेशसभा सदस्य एवं इसानका उपाध्यक्ष सुरेन्द्रराज गोसाईले नेमकिपाले कामदार जनताको प्रतिनिधित्व गरिरहेको चर्चा गर्दै सिद्धान्त र विचार नभएको दलका सांसदहरू कम्पास बिनाको जहाजझैं अन्योल भइरहेको बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय प्रतिनिधि उद्धव सुजखूले समाजवाद स्थापनापछि मात्रै विद्यार्थीलाई देशप्रति जिम्मेवार बनाउने होइन, सरकारले शिक्षामा थप लगानी गरेर भए पनि शिक्षामा भइरहेको भेद हटाउनुपर्नेमा जोड दिनुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाको सभापतित्वमा भएको सो उद्घाटन सत्रमा इसानका केन्द्रीय सदस्य एवं इसान काठमाडौं अध्यक्ष सनकमान महर्जन, इसानका केन्द्रीय महासचिव पुरुषोत्तम ग्वाछा, कोषाध्यक्ष उकेश कवांले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
इसानको बन्द सत्र आज शनिबार हुनेछ । बन्द सत्रले इसानको नयाँ नेतृत्व चयन गर्नेछ ।

स्रोतः मजदुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *