विशेषज्ञ डाक्टरहरुकाे करामतः दाम पाेखरामा काम राजधानीमा !

विशेष समाचार समाचार स्वास्थ्य
पाेखरा, १६ साउन:

असार २२ गते मुस्ताङमा ट्रिपर दुर्घटनाका घाइतेको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान अन्तर्गतको क्षेत्रीय अस्पतालमा नभई मणिपाल शिक्षण अस्पतालमा पुर्‍याइयो ।

सरकारी अस्पतालमा घाइतेलाई नलैजानुको मुख्य २ कारण थिए । पहिलो प्रतिष्ठानको अस्पतालमा विशेषज्ञ न्युरो सर्जन छैनन्, दोस्रो अस्पतालमा सिटिस्क्यान, एमआरआई, इन्डोस्कोपी लगायत अत्यावश्यक उपकरण छैनन् ।

टाउकोमा सामान्य उपचारका लागि समेत न्युरो सर्जन नभएकै कारण निजी अस्पतालमा रिफर गर्नुपर्ने वाध्यता प्रदेशकै ठूलो सरकारी अस्पतालसँग छ । केही दिनअघि त्रिशूलीमा गाडी खसेर घाइते बिरामीलाई प्रतिष्ठानमा पुर्‍याएर पनि न्युरो सर्जन नभएकै कारण निजी अस्पतालमा रिफर गर्नुपर्‍यो ।

प्रतिष्ठानको अस्पतालमा न्युरो सर्जनका विशेषज्ञको दरबन्दी छ तर डाक्टर छैनन् । पटक–पटकको पहल र प्रयासपछि अस्पतालमा न्युरो सर्जनको दरबन्दी त पर्‍यो । तर, ६ वर्षसम्म पनि डाक्टर नपठाउँदा दरबन्दी खाली छ । अस्पताल स्वास्थ्य मन्त्रालयको बेवास्ताको सिकार बनेको प्रतिष्ठान पदाधिकारी बताउँछन् ।

‘पटकपटक दरबन्दीमा विशेषज्ञ पठाइदिन आग्रह गरेका छौं तर डाक्टर नखटाउँदा टाउकोको सामान्य समस्या आए पनि निजीमा रिफर गर्नुपर्ने लाजमर्दो अवस्था छ,’ स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले भने । नेपाल सरकारको बेवास्ताकै कारण अस्पतालले न्युरो सर्जन पाउन सकेको छैन । केही समय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सञ्चालक समितिले न्युरो सर्जन राखे पनि दरबन्दी परेसँगै र आर्थिक भारसमेत परेपछि हटाइएको थियो ।

दरबन्दीमा किन पढाउँदैन त न्युरो सर्जन ? विज्ञान प्रतिष्ठानका डा. राजेश अधिकारीले भने, ‘सरकारी अस्पतालमा १ त कम तलब सुविधा छ, सरकारी अस्पतालमा काम गर्‍यो ४० हजारको आसपासमा महिनाको तलब सुविधा पाउँछन् । निजीमा काम गर्दा एक-डेढ लाख रुपैयाँसम्म कमाउँछन् । मुख्य त यही कारणले पनि सुपर स्पेससलिस्ट सरकारी अस्पतालमा आउँन मन गर्दैनन् ।’

निजी अस्पतालमा अपरेसन गरेबापतको प्रतिसतका हिसाबलेसमेत विशेषज्ञ डाक्टरले रकम हात पार्छन् । डा. अधिकारीका अनुसार स्वास्थ्य मन्त्रालय तथा विभागको बेवास्ताका कारण पनि विशेषज्ञ पठाउने काम नभएको हो ।

पहिले–पहिले टाउनको खोलेर हेर्ने गरेको अनुभवसमेत सुनाउँदै अहिले त्यसो नभइ सुपर स्पेसलिस्ट चाहिनेमा विभाग तथा मन्त्रालयको बेवास्ताकै कारण न्युरो सर्जनको दरबन्दी पुर्ति नभएको प्रतिष्ठानका डिन डा. नरेन्द्र गुरुङले बताए ।

तलब पोखराको काम काठमाडौंमा 
न्युरो सर्जनमात्रै होइन अन्य विशेषज्ञ डाक्टर पनि यो अस्पतालबाट तलब लिने तर काम भने काठमाडौंमा बसेर गर्ने समेत छन् । अस्पतालमा ९ जना विशेषज्ञले तलब यहाँबाट लिने तर काम भने काठमाडौं बसेर गर्ने गरेका हुन् । उनीहरु एउटा हातमा सरुवा र अर्को हातमा काज फिर्ताको कागज लिएर आउने अस्पतालले जनाएको छ ।

‘मन्त्रीस्तरीय बैठकबाटै निर्णय गराएर काम फिर्ताको कागज लिएर आउने अनि तलब भने लैजाने डाक्टर पनि छन्,’ प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले भने, ‘मन्त्रीस्तरीय बैठकबाटै काम हुने भएकाले हाम्रो केही जोर चल्दैन ।’

स्पेसलिस्ट डाक्टर पनि काजमा काठमाडौंमा बसेर काम गर्ने भएपछि यहाँका सेवाग्राही भने विशेषज्ञ सेवा पाउनबाट बञ्चित हुनुपरेको छ । निर्देशक आचार्यले भने, ‘न यहाँ दरबन्दी खाली भएर नयाँ विशेषज्ञ डाक्टरको माग गर्न पाइन्छ न यहाँका सेवाग्राहीले विशेषज्ञ सेवा पाउँछन् ।’ मन्त्रालयले यस अस्पताललाई महत्वका साथ नहेरिदिँदा विशेषज्ञ सेवा लगायत थुप्रै कुरमा समस्या भएको प्रतिष्ठानका डिन  गुरुङको भनाइ छ ।
पोखराबाट काज लिएर मेडिकल जर्नालिस्ट डा. तारानाथ पौडेलले स्वास्थ्य मन्त्रालय, डेन्टल सर्जन डा. सरिता प्रधान जोशीले वीर अस्पताल, डेन्टल सर्जन डा. सन्ध्या जोशी राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्दै आएका छन् । रेडियोलोजिस्ट सन्ध्या चापागाईं आचार्य वीर अस्पताल, पेडियाट्रिसियन डा. जगत जीवन घिमिरे कान्ति बाल अस्पताल, डा. पेडियाट्रिसियन डा. रमनाराज कर्णिकार कान्ति बाल अस्पतालमा काम गरिरहेका छन् । डा. गणेश राई, डा. शशि हिराचन र स्टाफ नर्स अमृता बराल पनि यताको तलब खाएर काजमा काठमाडौंमा काम गरिरहेका छन् ।

‘उनीहरुको बरु सरुवा नै भइदिए अर्को चिकित्सक राख्न पहल गर्न सकिन्थ्यो । सरुवा पनि नहुने यहाँ अरु राख्न पनि नपाउने हुँदा समस्या सिर्जना भइरहेको छ,’ डा. राजेश अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *