डिजिटल पेमेन्टको सीमामा हेरफेर, शेयर खरिद गर्दा अनलाइन बाटै भुक्तानी गर्न पाइने

अर्थ/वाणिज्य विशेष समाचार समाचार

शेयरबजारमा अनलाइन कारोबार प्रणालीको पूर्ण परिक्षणको सुरुवात भएकै दिन पेमेन्ट मोडलमा भएको बाधा समेत फुकेको छ। नेपाल राष्ट्र बैंकले यस अघिको व्यवस्थालाई संसोधन गर्दै मोबाइल बैकिङ वा ई वालेटबाटै शेयर खरिद गर्दाको रकम तिर्न पाउने व्यवस्था गरेको हो।

यस अघि मोबाइल बैंकिङ वा इ वालेटको भुक्तानीमा सिमा निर्धारण गरिएको थियो। तर राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबार सम्बन्धमा यस अघिको व्यवस्थालाई संसोधन गर्दै धितोपत्र सम्बन्धि कारोबार गर्दा भुक्तानीको सिमा लागू नहुने व्यवस्था गरेको हो।

मोबाइल बैंकिङको माध्यमबाट एक पटकमा पांच हजार र प्रतेक दिन बढीमा पन्ध्र हजार र महिनामा ५० हजारसम्मको (कारोबार वा बिल विवरण प्राप्त हुने अवस्था बाहेक) कारोबार गर्न पाइने व्यवस्था भएपनि यो नियम शेयर खरिद गर्दाको भुक्तानीमा लागू नहुने भएको छ।

त्यस्तै इन्टरनेट बैंकिङबाट दैनिक बढीमा एक लाख र महिनामा ५ लाखसम्म भुक्तानी गर्न पाइने भएपनि धितोपत्र सम्बन्धि कारोबारमा यो नियम लागू नहुने राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै इ वालेट मार्फत हुने भुक्तानीको सिमा निर्धारणको व्यवस्था पनि धितोपत्र सम्बन्धि कारोबारमा लागू नहुने भएको छ। इ वालेटमा एक पटकमा पांच हजार, प्रत्येक दिन १५००० र महिनामा २५००० सम्म जम्मा गर्न पाउने व्यवस्था छ तर यो व्यवस्था धितोपत्र सम्बन्धि कारोबारमा लागू नहुने नेपाल राष्ट्र बैंकका निर्देशक तथा भुक्तानी प्रणाली बिभागका रेवती प्रसाद नेपालले बिजपाटीलाई बताएका छन।

नेपाल राष्ट्र बैंकले यस अघिको व्यवस्था संसोधन गरि मोबाइल बैंकिङ र इ वालेट मार्फत शेयर खरिद बिक्रि गर्दाको भुक्तानीको बाटो खोलिदिएसंगै अनलाइन कारोबार प्रणालीमा लगानीकर्ताले अनलाइन मार्फत नै पेमेन्ट गर्न पाउने भएका छन। यस संसोधित व्यवस्थाले लगानीकर्ताले शेयर खरिद गर्दा अनलाइन बाटै भुक्तानी गर्न पाउने भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *