भारतमा हिमालयलाई ‘प्रतिबन्ध’, चीनमा नेपाली एयरलाइन्स ‘ब्ल्याक आउट’

विशेष समाचार समाचार

तिब्बत एयरलाइन्सले गत वर्ष चीनको छेन्दुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा आवेदन दियो। त्यसको केही समयभित्रै मन्त्रालयले सञ्चालन अनुमति दियो।

तर नेपाली राष्ट्रिय ध्वजावाहकलाई भने त्यस्तो सदासयता चीनबाट प्राप्त भएन।

नेपाल एयरलाइन्सले सन् २०१४ मा एयरबसका ए-३२० जहाज ल्याउनेबित्तिकै चीनको ग्वान्जाउ उडान गर्न आवेदन दियो। त्यहाँ उडान गर्न कर्मचारी पनि नियुक्त गरिसकेको थियो।नेपाल एयरलाइन्सले अहिलेसम्म उडान अनुमति पाएको छैन।

द्विपक्षीय हवाई सम्झौताअनुसार दुबै देशका एयरलाइन्सले बराबर उडान पाउनु पर्ने भए पनि छिमेकी मुलुकले नेपाली एयरलाइन्सलाई उडान अनुमति दिन आनाकानी गर्ने गरेका छन्।

दक्षिण छिमेकी भारतको पनि उस्तै रवैया छ।

नेपालको निजी वायु सेवा कम्पनी हिमालय एयरलाइन्स सञ्चालनमा आएलगत्तै नयाँदिल्ली उडान गर्न आवेदन दिएको थियो। अहिलेसम्म हिमालयले दिल्ली उडान गर्ने अनुमति पाएको छैन।

चिनियाँ वा भारतीय हवाई कम्पनीले अनुमति माग्नेबित्तिकै नेपालले त्यस्तो अनुमति दिने गरेको छ। नेपाली हवाई कम्पनीले भने चीन वा भारतमा अनुमति लिन सकेका छैनन्। नेपाल सरकारले पनि त्यसका लागि अडान लिएर बलियोसँग कुरा राख्न सकेको छैन।

भारतमा हिमालयलाई किन ‘प्रतिबन्ध’?

भारतले हिमालय एयरलाइन्सलाई विभेद गरेर उडान अनुमति रोकेको हो।

अहिले भारतका ३ एयरलाइन्सले काठमाडौंमा सातामा ६५ उडान गर्छन् भने नेपाल एयरलाइन्सले ३९ उडान मात्र गरिरहेको छ। अर्थात् भारतीय हवाइजहाज कम्पनीले नेपाली कम्पनीभन्दा सातामा २६ उडान धेरै गरिरहेका छन्। यसरी हेर्दा हिमालयले दिल्ली उडानका लागि अनुमति पाउनु पर्ने हो।

हवाई सम्झौताअनुसार भारतले नेपाली नागरिकको बहुमत सेयर स्वामित्व भएको एयरलाइन्सलाई उडान अनुमति दिनुपर्छ।

हिमालयमा नेपालको यति एयरलाइन्सको ५१ प्रतिशत सेयर स्वामित्व छ। यति एयरलाइन्स नेपाली नागरिक आङछिरिङ शेर्पाको कम्पनी हो। यसमा ४९ प्रतिशत लगानी भने तिब्बत एयरलाइन्सको छ।

भारतीय पक्षले अनौपचारिक रूपमा कुरा हुँदा हिमालयमा चिनियाँ लगानी रहेकाले उडान अनुमति दिन नसक्ने बताउने गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूको भनाइ छ।

कागजमा नेपालीको बहुमत स्वामित्व भनिए पनि वास्तविकतामा चिनियाँकै बहुमत स्वामित्व भएको भन्दै भारतीय पक्षले अनुमति दिन नमानेको अधिकारीहरूको बताए।

‘कूटनीतिमा एक देशको कानुनले स्थापित गरेको कुरालाई अर्काले सहर्ष स्वीकार गर्नु पर्ने हो,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर भारतीय पक्षले कानुनी रूपमै ५१ प्रतिशत स्वामित्व नेपाली कम्पनीको रहेको कुरा मानिरहेका छैनन्।’

कर्मचारी तहमा कुरा भए पनि यो मुद्दा राजनीतिक तहमा नेपालले उठाएको छैन। आफ्नो मुलुकका लगानीकर्ताको कम्पनीमाथि देखादेख विभेद हुदाँ राजनीतिक तहमै कुरा उठ्नु पर्ने मन्त्रालयका अधिकारीको सुझाव छ।

चीनमा नेपाली एयरलाइन्सलाई ‘ब्ल्याक आउट’!

नेपाल-चीनको हवाई सम्झौताअनुसार नेपालका एयरलाइन्सले चीनका ७ वटा सहरमा उडान गर्न सक्छन्। बेइजिङ, संघाई, ल्हासा, ग्वाङजाउ, कुनमिङ, छेन्दु र जियानमा नेपालका एयरलाइन्सले उडान गर्न सक्छन्।

चीनले बेइजिङमा ‘स्लट’ छैन भनेर नेपाल एयरलाइन्सलाई पन्छाएको थियो भने ग्वान्जाउमा पनि अहिलेसम्म दिएको छैन।

चिनियाँ एयरलाइन्सले भने अहिले विभिन्न विमानस्थलबाट  काठमाडौंका लागि सातामा ४८ उडान गरिरहेका छन्। सम्झौताअनुसार सातामा  ७० वटासम्म उडान गर्न पाइन्छ। तर नेपाली एयरलाइन्सले भने अहिलेसम्म एउटा उडानको पनि अनुमति पाएका छैनन्।

तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको हिमालय एयरलाइन्सलाई पनि चीनले उडान अनुमति दिएको छैन।

हिमालयन एयरलाइन्स तीन वर्षअघि चीनको छेन्दु-ल्हासा-काठमाडौं उडानका लागि अनुमति मागेको थियो। अनुमति भने अहिलेसम्म पाएको छैन। बरु त्यसपछि निवेदन दिएको तिब्बत एयरलाइन्सले छेन्दु-काठमाडौं उडने अनुमति पाएर सेवा सञ्चालन गरिरहेको छ।

हवाई सम्झौतामा उल्लेख भएबमोजिम दुबै देशका एयरलाइन्सले समान अवसर पाउनु पर्ने मन्त्रालयका हवाई उद्योग महाशाखा प्रमुख सुरेश आचार्यको भनाइ छ।

‘सम्झौतामा उल्लेख भएबमोजिम दुबै देशका एयरलाइन्सले अवसर पाउनुपर्छ त्यो समानतामा आधारित हुनपर्छ’ उनले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै छिमेकी मुलुकको भ्रमण गरे पनि भ्रमणका क्रममा नेपाली एयरलाइन्स कम्पनीहरूको अधिकारको कुरा उठाइएन।

हवाई सम्झौताअनुसार नेपाली एयरलाइन्सले उडान अवसर नपाएको बारे आउने छलफलमा थप जोडका साथ कुरा उठाइने संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव कृष्णप्रसाद देवकोटाले बताए।

‘अहिलेका भैरहेका छलफलमा हामीले यो समस्या उठाउने गरेका छौं। दुबै देशका अधिकारी सकारात्मक छन्,’ देवकोटाले भने,‘यसको परिणाम छिट्टै देखिएला।’

मन्त्रालयका कतिपय अधिकारीको धारणा भने दुबै शक्तिशाली छिमेकीका अधिकारीले लामो समयसम्म टेरपुच्छर नलगाएको विषय राजनीतिक तहमै उठाउनु पर्ने र कर्मचारी तहबाट पार नलाग्ने छ।

नेपाली एयरलाइन्सले प्रतिस्पर्धा गर्न नपाउँदा चीन-नेपालबीचको हवाइ भाडा अत्यन्त महंगो छ। यसले चीनबाट नेपाल आउने पर्यटक प्रभावित हुने गरेका छन्।

ल्हासा हुँदै काठमाडौं आउन सक्ने पर्यटक यसबाट  बढी प्रभावित भएको पर्यटन व्यवसायी बताउँछन्।

अहिले ल्हासाबाट दुई जहाज कम्पनीले नियमित काठमाडौं उडान भर्छन्। तर भाडा भने संसारको महंगोमध्येमा पर्ने एक पर्यटक व्यवसायीले बताए।

उनकाअनुसार  चिनियाँ एयरलाइन्स कम्पनीले करिब सवा घण्टा उडान समय रहेको ल्हासा-काठमाडौंको द्वितर्फी भाडा ६० देखि ७० हजारसम्म नेपाली रुपैयाँ लिने गर्छन्। जबकी त्यतिनै दुरीमा रहेको दिल्ली-काठमाडौंको भाडा २० देखि २५ हजार मात्रै छ।

‘काठमाडौ-ल्हासाको मंहगो भाडाको समस्या समाधान गरे ल्हासा हुँदै पर्यटक तुरुन्तै बढ्न सक्छन्,’ ती पर्यटन व्यवसायीले भने, ‘हाम्रो सरकार भने कति वर्षपछि रेल ल्याएर पर्यटक बढाउने भनेर बसेको छ।’

भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहेको नेपालले आफ्ना एयरलाइन्सको उडान चीन र भारतका शहरमा गर्न सके हवाई भाडा घट्ने र पर्यटक बढ्ने छन्।

नेपाली एयरलाइन्सको चिनियाँ बजारमा प्रवेश भए प्रतिस्पर्धाले  भाडा स्वतः सस्तो हुन्छ।

दिल्लीमा नेपाल एयरलाइन्सले उडान बन्द गर्दा एकतर्फी भाडा ३० हजारसम्म पुगेको थियो। अहिले त्यो घटेर १० हजारसम्म झरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *