कविता राईको एकल कविता वाचन

विशेष समाचार समाचार

काठमाडौँ, २१ असार (रासस) ः भोजपुरकी कवयित्री कविता राईको एकल कविता वाचन बुधबार यहाँ सम्पन्न भयो ।

भोजपुरको देउरालीमा जन्म भई हाल टेम्केमैयूं गाउँपालिका—९, पान्धारे निवासी र पेशाले शिक्षिका कविता राईले सो अवसरमा दशवटा कविता वाचन गर्नुभएको थियो ।

उहाँको कवितामा जीवनका विभिन्न अनुभव, आरोह अवरोह, पीरव्यथा, प्रेम, देशको माया आदि विषय समेटिएका थिए । उहाँले आफ्नो जन्मथलो भोजपुर, त्यहाँको संस्कृति, परिवेश र सुखदुःखलाई आफ्नो कविताको विषय बनाउनु भएको थियो ।

उहाँले ‘फूल’, ‘आमा, जुन र भाले’, ‘सुनामी’, ‘सोल्टीज्यू’, ‘ड्रपआउट’, ‘देश खोज्दै जाँदा’ आदि शीर्षकका कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले कवयित्री कविताले भोजपुरको आसपासका युवायुवतीका भावना, प्रेम, देशप्रेम आदिका भाव सुन्दर बिम्व प्रयोग गरी व्यक्त गर्नुभएको बताउनुभयो ।

उहाँले राईले आफ्ना मात्र नभई अरुका भावनासमेत व्यक्त गर्न सफल हुनुभएको बताउनुभयो ।

भोजपुरका सांसद सुदन किराँतीले देश र प्रेमका कुरा सापेक्ष हुन्छ निरपेक्ष हुँदैन भन्नुहुँदै भोकाएको मानिसले चन्द्रमालाई पनि रोटीजस्तै देख्छ भन्नुभयो । उहाँले कवयित्रीले आफ्ना अनुभवलाई सुन्दर अभिव्यक्ति दिनुभएको बताउनुभयो ।

हाम्रो समाज देश खोज्न जाँदा बाटो छेक्ने अवस्थामा थियो भन्नुहुँदै उहाँले साहित्यले राजनीतिलाई पनि बाटो देखाउने बताउनुभयो ।

प्राज्ञ श्रवण मुकारुङले राईका कवितामा पूर्वको हाक्पारे र मुन्धुम झल्किएको बताउँदै कविता लेखनमा जति लेख्दा पनि सिक्ने कुरा बाँकी नै रहने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *