काठमाडौं उपत्यकामा फेरि बढ्यो काेराेना, पछिल्लाे २४ घण्टामा ७५१ जनामा संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता
काठमाडाैं, ७ साउन

काठमाडाैं उपत्यकामा काेराेना संक्रमित पुन: बढ्न थालेका छन्। पछिल्लाे २४ घण्टामा उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ७५१ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हाे।

थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ५३६ जना रहेका छन्। यसैगरी भक्तपुरमा ८५ र ललितपुरमा १३० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

हिजाे बुधबार काठमाडाैं उपत्यकामा ६९७ काेराेना संक्रमित फेला परेका थिए। थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ४९० जना रहेका थिए। यसैगरी भक्तपुरमा ७९ र ललितपुरमा १२८ जना संक्रमित थपिएका थिए।

मन्त्रालयले आजमात्रै कोरोना संक्रमणदर बढ्दो गएकाले तेस्रो लहर आउन सक्नेतर्फ सचेत रहन आग्रह गरेको छ।

उपत्यकामा निषेधाज्ञा खुकुलो भएपछि लुकीछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यको मापदण्ड उल्लंघन भइरहेकोले यो अवधिमा कोरोना संक्रमण जति घट्नुपर्ने हो त्यति घट्न नसकेको मन्त्रालयले जनाएकाे छ।

त्यस्तै मन्त्रालयले तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोधसमेत गरेकाे छ।

नेपालमा गत चैत दोस्रो सातादेखि दोस्रो लहरको संक्रमण छ। मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसीआर परीक्षणबाट ६ लाख ७४ हजार ७२६ र एन्टिजेन परीक्षणबाट ५३ हजार ४४३ जनामा कोरोना संक्रमण देखिएको छ।

हालसम्म ६ लाख ३७ हजार ६९० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *