कामदार बर्गको गणतन्त्र समाजवादी गणतन्त्र हो

विशेष समाचार समाचार सम्पादकीय

आज नेपालमा गणतन्त्र आएको ११औं वर्ष भैसकेको छ । यतिका वर्ष भैसक्दा पनि गणतन्त्रबारे नेपाली जनता अझै पनि सुसूचित हुन सकेका छैनन् । एक जना सामन्ती राजा हटाएर मात्रै गणतन्त्र संस्थागत हुन सक्दैन । शासकको सोचमा जनताप्रति जवाफदेही हुनुपर्ने नभई मनपरी जनतालाई दुःख दिने नै मनसायबाट अघि बढेसम्म गणतन्त्रिक र राजतान्त्रिक व्यवस्थाबाट जनताको दुःख मुक्त हुन सक्दैन । 
गणतन्त्रमा लुट गर्न पाइने, भ्रष्टाचारलाई बढावा दिन पाइने, गुण्डागर्डी गर्न पाइने, हिंसा आतंकमा वृद्धि हुने हो भने त्यसले गणतन्त्रका लागि लडेका जनताको भावनामा आँच पुग्नेछ । अझै जनताको करले मात्तिएका शासक दलहरु जनताको सुसूचित हुन पाउने नागरिक अधिकार समेत बञ्चित गर्न मिडिया काउन्सिल सम्बन्धी विध्ययकहरु ल्याएका छन् । त्यही गणतन्त्रका लागि लड्दा पूर्ण प्रेस स्वतन्त्रताका लागि भन्नेहरु जब शासक दलका रुपमा पुगे, आज जनतालाई कसरी नियन्त्रण गर्न सोच्न थालेका छन् । आफ्नो शासन सत्ता लम्ब्याउनका लागि जस्तोसुकै कदम चाल्ने शासकहरु पूर्ण प्रेस स्वतन्त्रता बिर्सेर मनपरी देश चलाउन फेरी जनतालाई धोखा दिन विभिन्न योजनाहरु बुन्दैछन् ।
त्यस्तै गणतन्त्रका लागि लड्दा सांस्कृतिक सम्पदा, पर्यटनलगायतका कुराहरु गर्नेले नै विकासका नाममा खोकना र बुंगमतीका सांस्कृतिक धरोहर भट्काइरहेका छन् । विदेशी ऋणमा निर्भर भई बजेट बनाउनुपर्ने नेपाल सरकारले नयाँ नयाँ योजना ल्याई भित्रभित्रै कुम्ल्याउने भ्रष्ट व्यक्तिहरु पोसिरहेका छन् । के गणतन्त्र भन्दैमा शासक दलहरुलाई जनताप्रति उत्तरदायी नभई स्वच्छन्द रुपले जे पनि गर्न पाउने बनाएको हो ? आज जनताले खोजेको गणतन्त्र यस्तो कदापी होइन । शासक दलमा अझै भ्रम छ कि नेपालमा गणतन्त्र आएको हो कि होइन ? एउटा राजा हटाएर नयाँ राजा स्थापना मात्रै गर्ने हो भने के को गणतन्त्र ? यसर्थ, वास्तविक नेपाली जनतालाई भ्रमित पार्ने गणतन्त्र होइन, स्पष्ट रुपमा गणतन्त्र आएको महसुस गराउने कामदार वर्गलाई शासक वर्गमा पुर्याउने गणतन्त्रको आवश्यकता छ । त्यसको लागि सबैले संघर्ष गर्नुपर्ने तड्कारो आवश्यकता छ । गणतन्त्र दिवसलाई सार्थक पार्न जनताको प्रजातन्त्रलाई बुझ्नुपर्छ र समाजवादी गणतन्त्रमा मात्रै कामदार जनताको गणतन्त्र आउने भएकाले पूँजीवादी शासक दलबाट यसको अपेक्षा गर्नु मुर्खसावित हुनेछ । सबै नेपाली जनतामा गणतन्त्रको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *