सांसद एकबाल मियाँद्वारा ख्वप सर्कलका कलेज र ख्वप अस्पतालको अवलोकन भ्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता
भक्तपुर, १२ साउन


लोकतान्त्रिक समाजवादी पार्टीका माननीय सांसद एकबाल मियाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेजको बिहीबार स्थलगत अवलोकन भ्रमण गरे ।


सोही क्रममा भक्तपुर भ्रमणमा आएका सांसद मियाँले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गरे र उनीहरुबीच भक्तपुर नपाले शिक्षा र स्वास्थ्य क्षेत्रमा पु¥याइरहेको योगदानबारे विचार आदानप्रदान गरे ।
भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्था र ख्वप अस्पतालको स्थलगत अवलोकनपश्चात भएको भेटमा सांसद मियाँले ख्वप विश्वविद्यालय विधेयकलाई अगाडि बढाउन र संसद र संसदीय समितिबाट पारित गराउन आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भक्तपुर नपाले गरिरहेको काम निकै उत्साहप्रद भएको बताउदै उनले ख्वप विश्वविद्यालय विधेयक पारित गराउन संसदीय टोलीलाई यी संरचनाहरुको स्थलगत भ्रमणको लागि आफूले पहल गर्ने बताए ।


अवलोकनका क्रममा सांसद मियाँले भक्तपुर नपा देशकै उत्कृष्ट र नमुना नगरको रुपमा पाएको उल्लेख गर्दै नगरपालिकाको देश र जनतामा समर्पित सेवाबाट अत्यन्त प्रभावित भएको र ख्वपविश्वविद्यालयको स्थापना तथा अन्य विकास निर्माण कार्यहरुमा आफूले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले नगरवासीहरुको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै भक्तपुर नपाद्वारा सञ्चालित १०० शैय्याको ख्वप अस्पतालमा दैनिक ७ सय भन्दा बढी बिरामीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको बताए ।


ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयासरत रहेको अवगत गराउदै प्रमुख प्रजापतिले समाजवादी देश क्युवाबाट सिकेर भक्तपुर नपाले सस्तोमा स्तरीय शिक्षा प्रदान गर्ने कोसिसहरु गर्दै आइरहेको बताए ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ७ वटा शैक्षिक संस्थामा हाल ७२ जिल्लाका करिब ७ हजार विद्यार्थीहरू अध्ययनरत रहेको बताउदै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुरबासी जनताको चाहनाअनुसार नगरपालिकाले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्दै आइरहेको बताए ।
उक्त भेटमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीका प्रमुख सेनानी सन्तोष कार्की, निर्माण व्यवसायी राजकिशोर साहको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *