देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच हुने काम गर्न नहुने

राजनीति विशेष समाचार समाचार
न्यूज अपडेट संवाददाता
भक्तपुर, ८ साउन
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) ले प्रजातान्त्रिक आन्दोलन दबाउने, जातीय विभेदको राजनीति गर्ने र मजदुर किसान आन्दोलन दमन गर्नेहरू फासीवादी भएको बताए ।
तौलाछेँ युवा समूह, भक्तपुरद्वारा शनिबार आयोजित बृहत् युवा भेला तथा भनपाका प्रमुख, उपप्रमुख र भनपा वडा नं. ९ का जनप्रतिनिधिहरूको बधाई कार्यक्रममा अध्यक्ष बिजुक्छेँले राष्ट्रिय पुँजीपति वर्गले राष्ट्रको निम्ति काम गर्नुपर्ने आवश्यकता औंल्याए।
विश्व बैड्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले देशलाई उँच–नीच बनाउने जाल रचिरहेको उल्लेख गर्दै उनले देश अरूको भरमा रहेसम्म आत्मनिर्भर नहुने विचार व्यक्त गरे ।
नेपालको प्रधानमन्त्री हुने नहुने निर्णय दिल्लीको हातमा रहेको दृष्टान्त उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले देशलाई कसरी जोगाउने भन्नेतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए। अन्तर्राष्ट्रिय समुदायले दबाब दियो भनेर देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच आउने काम गर्न नहुने विचार उनले व्यक्त गरे।
नेपालको कृषि अर्थतन्त्र बिगार्न संरा अमेरिका र भारत लागिरहेको प्रसङ्ग उल्लेख गर्दै देशै रहेन भने राष्ट्रिय पुँजीपति वर्गको अस्तित्व पनि समाप्त हुने बताए ।
राष्ट्रिय पुँजीपति वर्गकै सहयोगमा चीनमा क्रान्ति भएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष रोहितले राष्ट्रिय पुँजीपति वर्गले आवश्यक कलकारखाना, उद्योगधन्दा खोलेर जनताका आधारभूत आवश्यकता पूरा गर्ने, देशको विकासमा सहयोग पुर्‍याउन सक्ने विचार व्यक्त गरे।
राष्ट्रिय पुँजीपति वर्गले देशमा उद्योग खोले विदेशी सामान ल्याउनुपर्ने छैन, देशको पैसा विदेशिने छैन, उनले भने ।
अध्यक्ष रोहितले भने, “देश र जनताको सेवा गर्ने भावना भएसम्म राष्ट्रिय पुँजीपति वर्गले स्थान पाइरहन्छ, हामीमा देशभक्त भावना भएसम्म देशको स्थिति बिग्रिने छैन ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं भनपाका प्रमुख सुनिल प्रजापतिले यथास्थितिवादीहरूले समाज परिवर्तन गर्न नसक्ने चर्चा गर्दै पद र पैसाको निम्ति सिद्धान्त र विचार छोड्ने राजनीति पुँजीवादी चिन्तन भएको बताए ।
समाज परिवर्तनको निम्ति अघि बढ्ने, जेल नेल भोग्ने, दुःख कष्ट खाने व्यक्तिहरूलाई कहिल्यै बिर्सन नहुने विचार राख्दै उनले पैसा र डिग्रीको निम्ति काम गरे परिवर्तन सम्भव छैन, समाज र देश बनाउने जिम्मा मेरो पनि हो भनी हामी अघि बढ्नुपर्ने उनको धारणा छ ।
देशको सार्वभौमसत्ता जोगाउन र समाज परिवर्तनको निम्ति लड्ने भावना विकास गर्नुपर्नेमा जोड दिँदै नगर प्रमुख प्रजापतिले प्रतिगामी, षड्यन्त्रकारीले युवा, व्यापारी व्यवसायीलाई आफ्नो हातमा लिन अनेक जालझेल र षड्यन्त्र गरिरहेको स्पष्ट पारे ।
बन्दुकको गोलीले जित्न नसक्नेलाई गुलियो पोतेको विषले जित्ने प्रसङ्ग उल्लेख गर्दै उनले एउटा गलत निर्णयले सबै सम्पत्ति आफ्नो कब्जामा लिन सक्ने हुँदा युवा व्यवसायी तथा व्यापारीहरू चनाखो हुनुपर्ने बताए।
नेपाल श्रीलड्का बन्न सक्ने आधारहरू केलाउँदै उनले भने, “श्रीलड्कामा व्यापक भ्रष्टाचार भयो, पर्यटन उद्योग डुब्यो, विदेशीको ऋण तिर्न सकेन, व्यापार घाटा भयो । नेपालको पनि यस्तै स्थिति छ ।” भक्तपुर नगरपालिकाले पार्टीको घोषणापत्रलाई काम गर्ने मार्गचित्र, मार्गदर्शनको रूपमा काम गरिरहेको स्पष्ट पार्दै उनले शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ र सम्पदा निर्माणमा उदाहरणीय काम गरिरहेको औँल्याए।
भनपाका उपप्रमुख रजनी जोशीले युवाहरू सकारात्मक परिवर्तनका संवाहक हुन्, अग्रजहरूको मार्गनिर्देशनमा जनताको लागि जनताको साथमा नपाले काम गरिरहेको स्पष्ट पारे।
भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउँदै संस्कार र संस्कृतिलाई वैज्ञानिक धरातलमा लाने अभ्यास भइरहेको उल्लेख गर्दै उनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले रच्नुभएको ‘सयवर्ष पछिको भक्तपुर’ र ‘पचास वर्षपछिको नेपाल’ पुस्तक देशकै लागि मार्गनिर्देशकको रूपमा रहेको बताए ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले समाजको सकारात्मक परिवर्तनको निम्ति युवाहरू सबल भएको विचार व्यक्त गर्दै भक्तपुरको एकता र अपनत्वको भावना अझै खाँचो भएको बताए ।
हामीले आफ्नो धरातल बिर्सनु हुँदैन । देश बचाउने र बनाउने जिम्मा हामी युवाहरूको पनि हो, हामीमा आर्थिक पुँजीसँगै सामाजिक सेवा भावना पनि चाहिन्छ, उनले भने ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरलाई सभ्य, सुन्दर र शिक्षित समुदाय बनाउन युवाहरूको पनि उल्लेख्य देन भएको चर्चा गर्दै घोषणापत्रको प्रतिबद्धता एक–एक गरेर पूरा गर्ने विश्वास व्यक्त गरे।
सत्तासीन नेताहरूले विचार र सिद्धान्त निर्देशित नगर्दा देशमा राजनीतिक सड्कट निम्तिएको चर्चा गर्दै उनले हरेक युवाहरू विचारबाट निर्देशित हुनुपर्ने बताए । विदेशी नागरिकले सजिलैसँग नेपाली नागरिकता पाउने व्यवस्थाले भोलि नेपालको सार्वभौमसत्ता खतरामा पर्नसक्ने खतरा पनि उनले औँल्याए।
तौलाछेँ युवा समूहका अध्यक्ष एवं कार्यक्रमका सभापति रत्नप्रसाद प्रजापतिले युवा भेलाको औचित्यताबारे प्रकाश पारे ।
समूहका सदस्य बलराम प्रजापतिले युवाहरू सत्य र न्यायको पक्षमा लाग्नुपर्ने बताए।
कार्यक्रममा दीपेन्द्र प्रजापतिले पनि बोलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *