ताथली, गुण्डु र बोडे स्वास्थ्यचौकी उत्कृष्ट

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

भक्तपुर, ३१ असार

सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डु स्वास्थ्यचौकी न्यूनतम सेवा मापदण्ड कार्यक्रममा यस वर्ष पहिलो भएको छ। स्थानीय तहमा प्रवाह गरिने स्वास्थ्य सेवाको गुणस्तर मापन एवं सुधारका लागि निर्माण गरिएको न्यूनतम सेवा मापदण्डअनुसार काम गरेका आधारमा सो चौकी उत्कृष्ट बनेको हो।

स्वास्थ्य कार्यालय भक्तपुर र सूर्यविनायक नगरपालिकाको संयुक्त टोलीले गरेको मुल्याङ्कनका आधारमा गुण्डु सूर्यविनायक नगरपालिकाकै पहिलो र भक्तपुर जिल्लाकै दोस्रो उत्कृष्ट संस्था बनेको हो। चाँगुनारायण नगरपालिका–९ ताथली स्वास्थ्यचौकी प्रथम, सूर्यविनायक–७ गुण्डु स्वास्थ्यचौकी दोस्रो, चाँगुनारायणकै नगरकोट, दुवाकोट स्वास्थ्यचौकी तेस्रो र मध्यपुरथिमिको बोडे स्वास्थ्यचौकी पनि तेस्रो भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

सुशासन र व्यवस्थापन, क्लिनिकल सेवा व्यवस्थापन, स्वास्थ्यचौकी सहयोग व्यवस्थापनसहित तीनवटा खण्ड गरी २४ वटा सूचक निर्धारण गरी मूल्याङ्कन उत्कृष्ट स्वाथ्यचौकीको घोषणा गरिएको र यस्ता संस्थालाई रु ५० हजारका दरले रकम प्रदान गरिने उनले बताए। न्यूनतम सेवा मापदण्ड पूरा गर्ने क्रममा ५० प्रतिशत अङ्क प्राप्त गर्नेलाई सेतो, ५० देखि ६९ लाई पहेँलो, ७० देखि ८४ प्रतिशतलाई निलो र ८५ देखि १०० प्रतिशतलाई हरियो सिग्नल हुने गरी मुल्याङ्कन गरिएको थियो।

ती सूचकमध्ये अधिकांशमा हरियो सङ्केत चिह्न प्राप्त गर्दै गुण्डु स्वास्थ्यचौकीले ९२ अङ्क प्राप्त गरी सेवा प्रवाह र उत्कृष्ट कार्य सम्पादन मूल्याङ्कनमा गुण्डु सूर्यविनायक नगरपालिकाको पहिलो र जिल्लाको दोस्रो बनेको सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष तथा गुण्डु स्वास्थ्यचौकी व्यवस्थापन समितिको अध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए।

स्वास्थ्यचौकीले बरिहङ्ग सेवा, खोप, वृद्धि मूल्याङ्कन, परिवार नियोजन सेवा, एएनसी र पिएनसी सेवा, ड्रेसिङ, प्रयोगशाला सेवा, इन्जेक्सन र दैनिक प्रक्रियामा हरियो सङ्केत चिह्न प्राप्त गरेको थियो भने डट्स क्लिनिक र औषधि सेवामा निलो सङ्केत चिह्न प्राप्त गरेको थियो। स्वास्थ्यचौकीले उपकरण प्रशोधन एवं निर्मलीकरण, विद्युत् तथा अन्य ऊर्जाको प्रणाली, पानीको स्रोत, स्वास्थ्य सेवाजन्य फोहर व्यवस्थापन, सरसफाइ, सुरक्षा र संरक्षण, यातायात साधन र मेडिकल उपकरणमा पनि हरियो सङ्केत चिह्न प्राप्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *