स्थानीय सरकार सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम

विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३१ जेठ


बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश सरकारको सहकार्यमा बागमती प्रदेशअन्तर्गतका स्थानीय तहका नवनिर्वाचित प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षहरुका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन सोमबार हेटौंडामा सम्पन्न भयो ।


कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले नेपालको संविधानले स्थानीय तहलाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकारसहित अधिकार सम्पन्न बनाएको बताउदै अधिकार सम्पन्न स्थानीय तहको विकासको गति पनि तीव्र हुने बताए ।
संघ, प्रदेश र स्थानीय सरकार जनमुखी हुनुपर्ने र स्थानीय सरकार सबै जनताप्रति समान व्यवहार गर्नुपर्ने बताउदै मुख्यमन्त्री पाण्डेले सबै स्थानीय तहले फोहरलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
बागमती प्रदेशअन्तर्गतका १३ वटा अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउने योजना रहेको उल्लेख गर्दै उनले यस प्रदेशले कृषि औजार कारखाना र रसायनिक मल कारखाना खोल्न आवश्यक तयारी गरिरहेको बताए ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री शालिकराम जमकट्टेलले स्थानीय तहहरुले आफ्नो ठाउँको फोहर व्यवस्थापन आफ्नै पालिकामा गर्नुपर्ने बताए । उनले काठमाण्डौको फोहर धादिङमा कुनै पनि हालतमा राख्न नदिने उल्लेख गर्दै त्यहाँका जनताले फोहर फिर्ता पठाउनेसमेत बताए ।काठमाण्डौका मेयर उपमेयर उपस्थित उक्त कार्यक्रममा मन्त्री जमरकटेलले पटक पटक फोहर फाल्न नदिने बताएको थियो ।
बजेट निर्माण गर्दा विकासमा पछाडि परेका वडा र समुदायलाई प्राथमिकतामा राखी आफ्नो कार्ययोजना बनाउनुपर्छ उनले भने ।
त्यस्तै प्रदेश स्वास्थ्य मन्त्री नीमा लामाले स्थानीय सरकार तीन तहको सरकारमध्ये नजिकको सरकार भएको बताउँदै स्थानीय तहहरुले नमुना कार्यहरु सञ्चालन गरी आफ्नो स्थानीय तहलाई सबल बनाउन जोड दिनुपर्ने बताए ।
राष्ट्रिय सभाका सदस्य डा. खीमलाल देवकोटाले स्थानीय तहहरुले सन्तुलित र समृद्ध अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव मुकुन्द निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारी, प्रदेश सचिव स्किम श्रेष्ठ र यामलाल भुसालले पनि स्थानीय सरकार सञ्चालनका विशेषताहरुबारे आआफ्नो धारणा व्यक्त गरे ।
उद्घाटन कार्यक्रमपश्चात भएको समूहगत अभिमुखीकरण कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले बजेट निर्माणको क्रममा विभिन्न समितिहरु गठन गरी आफ्ना कार्ययोजना अगाडि सारेको बताउदै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सरसफाईलाई प्राथमिकतामा राखी काम गर्दै आइरहेको थियो ।
भक्तपुर नपाले वार्षिक बजेटलाई यथार्थपरक र जनचाहनाअनुरुप बनाउन बजेट निर्माणको लागि नगरबासीहरुबाट आवश्यक राय सुझाव संकलन गर्दै आइरहेको बताउदै नगरपालिकाको गतिविधिमा जनताको प्रत्यक्ष संलग्नता र साथ रहेकै कारण भक्तपुरले आफ्नो पहिचान कायम गर्न सफल भएको बताए ।
उनले उपभोक्ता समितिबाट सम्पदा लगायतका विभिन्न विकास निर्माणको काम गरिरहेको बताउदै संरचनाप्रतिको स्थानीय जनताको अपनत्व, रोजगारी र निर्माणमा गुणस्तरीय भएको हुँदा निरन्तर उपभोक्तालाई नै नगरपालिकाले जोड दिइ आएको बताए ।
अभिमुखीकरण कार्यक्रमको पहिलो बैठकमा स्थानीय तहको काम, कर्तव्य र अधिकार तथा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध विषयमा कृष्णहरी बास्कोटा, स्थानीय तहको राजश्व अधिकार तथा अन्तर सरकारी वित्तीय हस्तान्तरण विषयमा यमलाल भुसाल, स्थानीय तहमा सार्वजनिक खरिद व्यवस्था विषयमा सुरेश प्रधान र बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड विषयमा पद्मकान्त मैनालीले प्रशिक्षण दिए ।
अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशअन्तर्गत १३ वटाका ११९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *