श्रमजीवी साकोसको २३ औं साधारणसभा तथा छैटौं अधिवेशन सम्पन्न

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

भक्तपुर, १७ असाेज

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. ६ याछेँस्थित श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं साधारणसभा तथा छैटौं अधिवेशन शनिबार सम्पन्न भयो ।

कार्यक्रममा उनले एमसीसी सम्झौतामा भएका बुँदाहरुले देशलाई उपनिवेश बनाउने खतरा भएको बताए। एमसिसी सम्झौता नेपालको संसदले अनुमोदन गरेको खण्डमा नेपाल अमेरिकी सैन्य गठबन्धनमा जानेछ भन्दै उनले त्यो हाम्रो असंलग्न परराष्ट्रनीति विपरीत हुने बताए ।

समाज अगाडि बढाउन सहकारी संस्थाहरुले क्रियाशीलता देखाउनुपर्नेमा जोड दिँदै उनले सहकारी संस्थाहरुले सीपमूलक तालिम सञ्चालन गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्छ भन्नुभयो ।

युवाहरुलाई प्रगतिशील विचारबाट प्रशिक्षित गर्नुपर्ने र सामूहिक भावनाको विकास उनीहरुमा गराउनुपर्छ भन्दै प्रमुख प्रजापतिले नेपालको सम्पदा संरक्षणमा भक्तपुरले सांस्कृतिक क्रान्ति नै गरेको औंल्याए।

भक्तपुर नपाले शिक्षालाई प्राथमिकतामा राख्दै खोलेका कलेजबाट आज देशभरिका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाइरहेको बताउँदै उनले नक्साबमोजिम घर निर्माण गर्न र नगरपालिकालाई तिर्नुपर्ने कर समयमै तिर्न उत्साहित गरे ।

भक्तपुर नपा वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले नाफा कमाउन र व्यक्तिगत हितको लागि खोलिएका बहुउद्देश्यीय सहकारी संस्थालाई निषेध गर्दै लाने उद्देश्य रहेको बताए। देको मिवा इतापाके आवास योजनाको सन्दर्भ जोड्दै उनले जग्गाधनीहरुको जायज माग पूरा गर्ने कोसिस नगरपालिकाले गर्दै आइरहेको प्रष्ट पारे ।

संस्थाका अध्यक्ष गणेशलाल फोँजुले विश्वव्यापी महामारी काेभिड १९ का कारण संस्थाको व्यावसायिक तथा सामाजिक क्रियाकलापमा नकारात्मक असर पुगेको बताउँदै श्रमजीवी साकोसले जनताको हितमा आफ्ना गतिविधि अगाडि बढाइरहेको बताए।

नेपालभाषा साहित्य तःमुंज्या ग्वसाखलका अध्यक्ष गणेशराम थुसाले ४१ औं नेपालभाषा साहित्य तःमुंज्या यस वर्ष ख्वप कलेजको प्रांगणमा भौतिक उपस्थिति र अनलाइनमार्फत हुने जानकारी गराउँदै साहित्य सम्मेलन भव्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष विकुलाल सुवालले स्वागत गरेकाे थियो भने भक्तपुर जिल्ला बचत संघका जगन्नाथ प्रजापतिले शुभकामना मन्तव्य, श्रमजीवी साकोसका लेखा सुपरीवेक्षण समितिका संयोजक वीणा त्यातले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नारायणप्रसाद लागेले आर्थिक गतिविधि तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमको सञ्चालन श्रमजीवी साकोसका सचिव पुन्यराम दुवालले गरेको थियो भने निवर्तमान अध्यक्ष मदन खाताखोले पनि बोलेको थियो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले संस्थाका असल ऋणी श्यामकृष्ण ह्यौंमिखा, पुन्यश्वरी खर्बुजा र असल बचतकर्ता राधेश्याम अवाल र रमिला कुसीलाई सम्मान गरेको थियो । संस्थाकाे यस अधिवेशनबाट विकुलाल सुवालकाे अध्यक्षतामा चार वर्षे कार्यकालका लागि सञ्चालक समितिकाे चयन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *