टोकियो ओलम्पिकबाट गौरिका बाहिरिइन्, आफ्नै कीर्तिमानमा सुधार

अन्तर्राष्ट्रिय खेलकूद विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता

एजेन्सी, १३ साउन

टोकियो ओलम्पिक २०२० मा नेपाली पौडी खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा कीर्तिमान सुधार गरेकी छन् ।

टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकालिन् ।

गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा चार खेलाडी थिए । त्यसमा उनी तेस्रो स्थानमा रहिन् ।

गौरिकाले लङ कोर्समा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेकी छिन् । गौरिकाले सन् २०१९ मा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा १ मिनेट ००.६२ सेकेण्डको समय निकालेकी थिइन् । २०१९ मा नेपालमै भएको १३ औं सागमा सर्ट कोर्समा भने गौरकाले ५८.१३ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

सुरुको ५० मिटरमा गौरिका अघि रहेपनि पछिल्लो ५० मिटरमा उनले राम्रो प्रदर्शन गर्न सकिनन् । यो चरणमा नाइजेरियाकी अबिओला ओगुनबाङ्गो ५९.७४ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहिन् । यस्तै मोन्टेनेग्रोकी एन्डेला अन्टुनोभिक १ मिनेट ००.०१ सेकेण्डसहित दोस्रो स्थानमा रहिन् ।

यस स्पर्धामा कूल ५१ खेलाडीको सहभागिता छ र उत्कृष्ट समय निकाल्ने १६ खेलाडी मात्र सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लगातार दोस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी गौरिकाले अर्का पौडी खेलाडी एलेक्ससंगै टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा बोकेका थिए ।

२०१६ को रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् । पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेका एलेक्सले भने आफ्नै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका थिए ।

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले सहभागिता जनाएका थिए । जसमध्ये चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ । अब एथ्लेटिक्सकी सरस्वती चौधरीले शुक्रबार महिला १०० मिटरमा प्रतिस्पर्धा गर्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *