का. रोहितसित नेपालका लागि प्रजग कोरियाका राजदूत मानको भेट

अन्तर्राष्ट्रिय राजनीति विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ७ साउन


नेपाल मजदुर किसान पार्टीका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) सित नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले भेट गरेको छ ।
भेटमा अध्यक्ष बिजुक्छेँले विश्वभरि महामारीको रुपमा फैलिएको कोभिडबाट जनतालाई सुरक्षित राख्ने अभियानमा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरु लागिरहेकोे बताउँदै कोभिड महामारीले नेपाली जनतालाई समाजवादी र पुँजीवादी व्यवस्थाबीचको भेदबारे स्पष्ट हुने अवसर मिलेको बताए ।
उनले मित्र राष्ट्र चीनबाट नेमकिपा र भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई सहयोग स्वरुप प्राप्त विभिन्न स्वास्थ्य उपकरणहरुबाट जनताको सेवा गर्न मद्दत पुगेको बताए । कोभिड महामारीमा अक्सिजन अभावकै कारण धेरैको मृत्यु भएको उल्लेख गर्दै उनले कुनै पनि देश भौतिक रुपले मात्र अगाडि बढ्दैमा जनताको सेवा नहुने कुरा कोभिड महामारीले प्रमाणित गरेको स्पष्ट पारे ।


अध्यक्ष बिजुक्छेँले प्रजग कोरियाले जनतालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको कारण हरेक क्षेत्रमा सफलता मिलेको बताउँदै उनले प्रजग कोरिया कोभिडबाट पूर्ण सुरक्षित हुनुमा कोरियाली सरकारको निकै ठूलो भूमिका रहेको जानकारी दिए । उनले कम्युनिष्टहरुको निम्ति प्रजग कोरिया उदाहरणीय देश रहेको बताउँदै किम जोङ उनको नेतृत्वमा कोरियाले प्रगति गरिरहेकोमा खुशी प्रकट गरे । भेटमा राजदूत मानले कोरियाली राष्ट्रपति किम जोङ उनको नेतृत्वमा साम्राज्यवादी देशहरुसँग डटेर लड्न साहस मिलेको बताउँदै संरा अमेरिकाले प्रजग कोरियासँग वार्ता गर्न खोजिरहेको र वार्ताका लागि आफूहरु सकारात्मक रहेको बताए ।
उनले सुयोग्य नेतृत्व, एकताबद्ध जनता र आणविक शक्तिको विकासले अब कुनै पनि देशले प्रजग कोरियालाई झुकाउन नसक्ने बताए ।
प्रजग कोरियाको सरकारले जनताको सेवामा समर्पित भएर काम गरिरहेको स्पष्ट पार्दै राजदूत मानले नेमकिपाले प्रजग कोरिया र कोरियाली जनताप्रति देखाएको ऐक्यबद्धताको निम्ति धन्यवाद ज्ञापन गरे ।
भेटमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँ, कोरियाली राजदूतावासका तर्फबाट सल्लाहकार किम जोन ह्योक र एम्बासी अफिसर पिक जिन ह्योकको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *