‘ख्वपको पहिचान — भाग २’ पुस्तक सार्वजनिक

कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २८ असार


नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित स्थानीय पाठ्यक्रम सन्दर्भसामाग्री ‘ख्वपको पहिचान — भाग २’ पुस्तक सोमबार एक समारोहबीच अनलाइन माध्यमबाट सार्वजनिक गरे ।
कार्यक्रममा सचिव सुवालले पुस्तकमा समाविष्ट लेखमाथि समीक्षात्मक टिप्पणी गर्दै देशको सन्तुलित विकास योजना लागू गर्न र बसाइँसराइँलाई निरुत्साहित गर्न नेपाल सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएको बताए ।
पुस्तकमा समेटिएका विभिन्न व्यक्तित्वहरुको जीवनी अध्ययनले मानिस आफ्नो परिवारको लागि मात्र काम गर्ने नभई समाज र देशको निम्ति निःस्वार्थ भावनाले काम गर्नुपर्ने प्रेरणा दिने बताउदै उनले नयाँ पुस्तालाई समाज, देश र जनताको लागि बाँच्ने प्रेरणा दिने बताए ।
भक्तपुरको पहिचानलाई विश्वसामु पस्कन पुस्तकले मद्दत पुयाएको बताउदै सांसद सुवालले पुस्तकका लेखहरुका विषयवस्तुमा भौतिकवदी व्याख्यालाई जोड दिनुपर्ने बताए ।
देशको समसामयिक राजनीतिबारे आफ्नो धारणा राख्दै सांसद सुवालले संसद पुनःस्थापनासँगै देशको राजनीतिमा अन्योल यथावत रहेको र आगामी दिनमा पुनः सांसद खरिद बिक्रीको जोखिम रहेको भन्दै नयाँ बन्ने सरकारले देश र जनताको हितमा बजेट पेश गर्ने सम्भावना नरहेको प्रष्ट पारे ।
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्षको अवसरमा आयोजित शिखर सम्मेलनका सन्देशहरुबारे प्रष्ट पार्दै सांसद सुवालले चिकपा स्थापनाको सय वर्षमा चीनले विज्ञान, प्रविधि, उद्योग, शिक्षा, स्वास्थ्य र अर्थतन्त्रका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले प्रकाशनमा ल्याएको ख्वपको पहिचान भक्तपुरको विषयमा जान्न चाहने सबैको निम्ति उपयोगी पुस्तकको रुपमा रहने विश्वास व्यक्त गरे ।
काठमाडौं, भक्तपुर र ललितपुर आफैमा एउटा स्मार्ट सिटीको रुपमा रहेको बताउदै उनले काठमाडौं उपत्यकाको जमिनलाई आधुनिक सहर बनाउने नाममा दशौं हजार रोपनीको जग्गामा नयाँ सहर बनाउने कार्य विकासको नाममा सम्पदा विनास गर्ने कार्य भएको उनले बताए । उनले काठमाडौं उपत्यकालाई सांस्कृतिक केन्द्रको रुपमा विकास गर्नु उपयुक्त हुनेमा जोड दिए ।
भक्तपुर नपाले सार्वजनिक सम्पत्तिको संरक्षण र सम्बद्र्धनमा निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्दै आइरहेको बताउदै उनले विदेशी सहयोगविना भक्तपुरका सम्पदा संरक्षणमा जनताको आर्थिक र भौतिक सहयोगमार्फत काम अगाडि बढाउँदै आएको जानकारी गराए ।
बागीश्वरी माविका पूर्व प्रअ तथा पुस्तकका भाषा सम्पादक ज्ञानसागर प्रजापतिले समग्रमा स्थानीय पाठ्यक्रम भाग २ मा संग्रहित २४ वटा लेखहरुबारे आफ्नो समीक्षात्मक मन्तव्य प्रस्तुत गर्दै ख्वपको पहिचानले शिक्षकहरुलाई सिर्जनशील बनाउन मद्दत पुर्याउने बताए ।
स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नपाले करिब एक वर्षको अन्तरालमा सन्दर्भसामाग्री भाग २ प्रकाशन गर्नु सकारात्मक रहेको बताउदै स्थानीय पाठ्यक्रमको पठनपाठन अन्य विषयहरुभन्दा नितान्त फरक भएको बताए ।
पुस्तकमा छापिएका विभिन्न व्यक्तित्वका जीवनी तथा अन्य लेखहरुले भक्तपुरको समग्र इतिहासको उत्खनन् र अभिलेखकीकरण गरेको बताउदै संयोजक बिजुक्छेँले विश्व मानव सभ्यतामा भक्तपुरको इतिहास, कला र सभ्यताका विभिन्न आयामबारे थप अध्ययन—अनुसन्धानमा पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
स्थानीय पाठ्यक्रम कार्यदलका सदस्य प्रा. सिद्धिरत्न शाक्यले शिक्षकहरुको मागअनुरुप यो सन्दर्भसामाग्री तयार भएको बताउदै पुस्तकको पाठनपाठनबाट पहिलेभन्दा अबको शिक्षा स्तरीय हुने विश्वास लिएको बताए ।
सन्दर्भ सामाग्री र पाठ्यपुस्तकबीचको भिन्नताबारे प्रष्ट पार्दै उनले नपाले प्रकाशनमा ल्याएको ‘ख्वपको पहिचान’ शिक्षक तथा विद्यार्थीलाई मात्र नभई भक्तपुरबारे अनुसन्धान गर्न चाहने सबैको लागि महत्वपूर्ण पुस्तकको रुपमा रहेको चर्चा गरे । कुनै कुनै विद्यालयले स्थानीय पाठ्यक्रमलाई अरु विषयसरह महत्वमा राखेको नपाइएको, शिक्षकको नियुक्तिमा निश्चितता नभएको बताउँदै उनले विद्यार्थीहरुलाई राष्ट्रिय—अन्तर्राष्ट्रिय ज्ञान सँगसँगै स्थानीय संस्कृति, संस्कार, भाषा, ज्ञानको पहिचान गरी विकास गर्नु आवश्यक भएको बताए ।
कार्यक्रममा शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले केन्द्रीकृत पाठ्यक्रमले विद्यार्थीहरुलाई स्थानीय विषयवस्तुबारे बञ्चित बनाएको बताउँदै स्थानीय पाठ्यक्रमको महत्वमाथि प्रष्ट पारे ।
नेपालका धेरै स्थानीय तहहरुले स्थानीय पाठ्यक्रम लागू गर्दा भक्तपुर नपाको स्थानीय पाठ्यक्रमलाई रोल मोडल (नमुना) को रुपमा लिनु भक्तपुरको लागि गौरवको विषय भएको उनले बताए ।
विद्यार्थीहरुमा विद्यालय क्षेत्रदेखि सम्पदा, कला—संस्कृति र आफ्नो पहिचानप्रति गर्व गर्ने भावना विकास गर्न ख्वपको पहिचानले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै प्रअ कर्माचार्यले स्थानीय पाठ्यक्रमको मर्मअनुसार विद्यार्थीहरुलाई पठनपाठन गर्ने जिम्मेवार निकाय शिक्षकहरु भएको र स्थानीय पाठ्यक्रमको सफल कार्यान्वयनमा ख्वपको पहिचान सन्दर्भ सामाग्रीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पुस्तकमा समेटिएका विषयवस्तुमाथि रचनात्मक सुझावको आवश्यकता रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *