दुःख पाइस् मंगले आफ्नै ढंगले

विचार विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट
भक्तपुर, २३ असोज


चीनको हुपेइ प्रान्तमा गत वर्ष कोरोनाको महामारी हुँदा विश्वव्यापी रुपमा सहयोगको लागि आह्वान गर्दा अमेरिका मौन बस्यो । राष्ट्रपति डोनाल्ड ट्रम्पले माक्स लगाउन समेत मानेन । कोरोनाको सुइ खोप वा अन्य उपाय खोजीको लागि आह्वान गर्दा पनि त्यसमा संलग्न नहुने स्पष्ट गर्यो । मानौं कोरोना केही पनि होइन जस्तो गरी बसे । परिणाम स्वरुप आज संसारमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण अमेरिकामा छाएको छ । लकडाउन गर्ने, बजार बन्द गर्ने, विश्वविद्यालय सञ्चालनमा रोग लगाउने तथा रेल, हवाई र यातायातमा प्रतिवन्ध लगाउने कुरा पनि पटक्कै मानेनन् । अहिले पनि डोनाल्ड ट्रम्प लकडाउनको मागलाई बेवास्ता गरी बसेको छ । जनता मरुन् तर उनलाई राजनीतिक रुपमा आफू सदा शक्तिशाली छु भन्ने देखाउनु परेको छ । त्यसैले पनि हाल ट्रम्पलाई नै कोरोना पोजेटिभ भएको समाचार चर्चामा आएको छ । दुःख पाइस् मंगले आफ्नै ढंगले भन्ने नेपाली उखान त्यस्ताका लागि नै चलाइएको हो ।

चीनमा ८५ हजार मानिसमा कोरोना लागेको थियो । नेपालमा १ लाख मानिसलाई कोरोना संक्रमण भइसकेको छ । ओली सरकार हालसम्म पनि चूप लागेर बसेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई समेत कोरोना पोजेटिभ भएको हुनसक्ने आकलन गरिएको छ । दुःख पाइस् मंगले आफ्नै ढंगले भने झैं देशमा प्रधानमन्त्री, मन्त्रीहरु मज्जाले ऐस आराम गरी बस्ने अनि देशभित्र फैलिएको महामारी आफू र आफन्तहरुलाई नसर्नु भनी बसेर कहाँ सम्भव हुन्छ र ? गगन थापालाई पनि रोग सरेको खबर आयो । अर्जुन नरसिंह केसीलाई पनि संक्रमण भएको खबर बाहिर निस्क्यो । तर सरकार लकडाउन, नाकाबन्दी वा के उपाय गर्दा चीन, इटाली जस्ता देशमा रोगको नियन्त्रणमा सहयोग भयो, त्यसको केही पनि लेखाजोखा गर्दैन । आफूलाई पर्दा ज्वर आउने अरुलाई पर्दा कुरा आउने प्रबृत्ति बन्द गर्नु पर्दछ । संसारमा तानाशाहीहरु अरुको कारण होइन आफ्नै कारण पतन भएका धेरै उदाहरणहरु छन् । ट्रम्प पनि त्यसबाट अछुटो नरहला ।

राष्ट्रपति चुनाव जित्ने फेरि ५ बर्ष शासन चलाउने ध्यानमा रहेका ट्रम्पले कोरोना भाइरस नियन्त्रणका लागि भनेर कुनै पहल गरेको छैन । देश र जनताको सेवा गर्ने भनेर राजनीतिमा लागेका मानिसहरुको ताल यस्तो भयो भने राजनीति फोहर खेल हो भन्नेहरुलाई थप ऊर्जा दिनेछ । यो बेला राष्ट्रपतिको चुनावको प्रचार थाल्ने बेला हो । त्यसैले पनि यस्तै भेला, बैठक र भेटघाटको क्रममा नै ट्रम्पलाई कोरोना सरेको हुनुपर्दछ । यस्तो बेला आफू, आफ्नो परिवार र नजिक रहेका बाहेक अरुसँग सम्पर्कमा रहनु पनि निकै धेरै खतरनाक भएको देखिन्छ । विभिन्न देशका शासकहरुलाई समेत त्यसरी रोग सरिसकेको घटनाहरु सार्वजनिक भइरहेको बखत नेपाली समाजमा यति धैरै कोरोनाले भयावह रुप लिन्छ भनेर कतिपयले सोचेका पनि थिएनन् । चीनमा ८५ हजार संख्या पुगेर रोकिएको छ । तर नेपालमा १ लाखबाट दिनहुँ माथितिर अंक चढ्ने क्रम जारी छ ।

यस्तो विडम्बनापूर्ण घडीमा कोभिड १९ नियन्त्रणका लागि स्थानीय तहको पहललाई सराहना नगरी हुन्न । केन्द्रीय सरकारले बजेट र केही सुरक्षाको बन्दोबस्त गरेको आधारमा ठाउँ ठाउँमा कोरोना अस्पताल सुरु भएका छन् । भक्तपुर जिल्लामा ११७ वर्ष पुरानो भक्तपुर अस्पताललाई कोराना अस्पतालको रुपमा परिणत गरेको छ । भक्तपुर नगरपालिकाकै पहलमा निर्माण भएको सामुदायिक भवन ब्रम्हायणीमा ७५ बेड क्षमता रहेको एकान्तबास घर आइसोलेसन तयार गरेको छ । त्यसलाई सेना र स्थानीय निकायले हेर्ने गरी समन्वय गरेको छ । यस्तो बखत के कस्तो अवस्था सिर्जना भयो भने त्यहाँ राख्ने वा नराख्ने भन्ने पनि स्थानीय निकाय र स्वास्थ्य संस्थाको परामर्शमा भर पर्ने भएको छ । ट्रम्प सरकार, नेपाल सरकार र स्थानीय निकाय पनि मौन बस्यो भने विश्वभर मर्नेको संख्या अझ बढ्न सक्दछ । त्यसैले पनि ट्रम्प प्रशासन कुनै वास्ता नै नगरी चुनावी मैदानमा उत्रिरहेको बखत पनि विश्वका विभिन्न देशहरुले चीनबाट विभिन्न देश हुँदै हाल अमेरिका, भारत र नेपालमा केन्द्रित हुन पुगेको यो कोरोना भाइरसलाई नियन्त्रणको लागि पहल जारी राख्नुपर्ने देखिन्छ ।

समय छँदै केही गरेको भए आज यो अवस्था सिर्जना हुने थिएन । सरकारले चीनबाट आएका निरोगीहरुलाई खरिपाटीमा राख्दा भक्तपुरको राजनीतिमा अब्बल मानिने नारायणमान बिजुक्छेँ (रोहित)ले क्वारेन्टाइन विश्वको जुनसुकै स्थानमा राखेपनि हुन्छ तर मानव बस्ती भन्दा निकै पर (जंगल भित्र) राख्नु पर्दछ भनेका थिए । अहिले भक्तपुर नगरपालिकाले सुरु गरेको आइसोलेसन समेत बस्तीभित्र रहेको छ । क्वारेन्टाइन रोग लागेको छ कि भनी १५ दिनसम्म हेर्नका लागि राखिने स्थान हो । आइसोलेसन त रोग लागेको कोरोना पोजेटिभ देखाएका एकान्त बास बस्न बाध्य भएकाहरु राखिने स्थान हो । उनीहरु बढी खतरनाक हुन्छन् । खरिपाटीमा १७५ जना चीनको हुपेइबाट उद्धार गरी ल्याएर १५ दिनसम्म राख्दा त्यस क्षेत्रका कयौं परिवार घरवार छोडेर हिडेका थिए रोग सर्ला भनेर । अहिले घर आगन, अस्पताल, बजार, स्कूल, कलेज, नगरपालिका, वडा समितिदेखि लिएर घर घरमा कोरोना संक्रमितहरु भइसके । जाने कता ? लुक्ने कता ?

संसारलाई आफ्नो मुठीमा राख्न तानाशाहीहरु विभिन्न खालका उपाय अपनाउँछन् । कोरोना भाइरसको त्रास फैलाएर रोगको नाममा व्यापार गर्न पनि साम्राज्यवादी देशहरुले त्यस खालको उपाय अँगाल्न सक्छ । यस्तो विडम्बनापूर्ण संसारमा जन्मेका कयौं मानिसहरु पशु झैं मरिरहेको हामीले टेलिभिजन मार्फत् हेर्नु परिरहेको छ । इटालीमा भयबह स्थिति हुँदा सडकमा लाश फालिएको देखाएको थियो । यस्तै भयाबह रुप नेपालमा पनि देखा पर्ने सम्भावना छ । दिन दिनै जसो कोरोनाले मानिस मरिरहेका छन् । तुलनात्मक रुपमा कम भएपनि यो पनि कम डरलाग्दो भने छैन । हिजो कोरोना कस्तो भनेर नचिन्दा जति डरलाग्दो थियो । अहिले प्रत्येक नेपाली कोरोनासँग परिचित छन् । कोरोनालाई छोएका छन् । हेरेका छन् । अब त्यो हाउगुजी भने हटेको छ । तर संक्रमण र शिकारको डर भने कम छैन ।

रोग, भोक र गरिबीको कारण संसारमा युद्ध र उपद्रो हुने गर्दछ । यो वर्ष महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण भोकमरी भन्दा खतराको संकट पैदा भएको छ । रोजगार गर्न देश विदेश गएकाहरु समेत जिउँदो फर्कने हो वा लाश फर्कने हो भन्ने चिन्ता छ । धेरै पैसा कमाउन भनी जाने गरेका मानिसहरु समेत आफ्नो देशमा फर्केर आउन भ्याएको छैन । शक्ति राष्ट्रहरुले साना राष्ट्रहरुलाई दबाउने एउटा निहुँको रुपमा पनि यो अन्तर्राष्ट्रिय जगतमा प्रचार भएको कोरोनाले काम गरेको हुनसक्दछ । त्यसैले पनि कोरोना कोरोना मात्रै भनेर नबसी यो समयमा संसारलाई के कस्तो चीजले एकीकरण गर्यो भन्ने पनि ध्यान दिनु पर्दछ । आखिर ट्रम्प प्रशासनले आफूलाई रोग लाग्दा पनि किन चुनावमुखी भयो त भन्ने पनि ध्यान दिएर विश्लेषण गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *