भक्तपुर, १४ फागुन
सहकारीताः लगनशीलता र पारदर्शिता हाम्रो प्रतिबद्धता नाराका साथ वि.सं. २०५४ सालमा स्थापित भक्तपुर च्याम्हासिंहस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को दोस्रो भवन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँबाट उद्घाटन भएको छ ।
यही पुस मसान्तसम्ममा कूल निक्षेप २ अर्ब ३७ करोड ९ लाख ५० हजार रुपैयाको कारोबार गर्न सफल भएको उक्त संस्था
विगत २३ वर्षदेखि विभिन्न सामाजिक, सांस्कृतिक, राजनैतिक, खेलकुद तथा विभिन्न अतिरिक्त क्रियाकलापहरु गरी सदस्यहरुलाई सन्तुष्टि गरिएको छ । उक्त संस्थाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि विजुक्छेँले पैसा मात्र भएर हुँदैन, त्यसले सदस्यलाई लाभान्वित हुने विभिन्न गतिविधिहरु गर्दै जानुपर्ने बताए । उनले संस्थाबाट अब आदरनिकेटनलाई पनि ध्यान दिनुपर्ने बताए । निःस्वार्थ रुपमा जनताको सेवा गर्ने राजनीति भएकाले संस्थाले विभिन्न जनचेतनामूलक राजनीतिक क्रियाकलाप पनि गर्नुपर्नेमा जोड दिए । कला र सम्पदामा ध्यान दिई बनाएको कलात्मक भवनले भक्तपुर बचतको अझ प्रगतिमा गएको देखाएको उनले बताए ।
त्यस्तै राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि सरिता भट्टराईले भक्तपुर बचत सहकारी बैंकको संस्थापक सदस्य भएकोमा गर्व गर्दै उनले सहकारी संस्थालाई सहज तुल्याउन देशभरि ४४ शाखा खोलेको बताइन् । उनले सीपको धनी भक्तपुरलाई व्यावसायिक कार्य गर्न विभिन्न तालिमहरु गर्दै जानुपर्ने बताइन् ।
३० अर्ब भन्दा बढी निक्षेप र २ अर्बभन्दा बढी शेयर पूँजी रहेको उक्त सहकारी बैंकले सहकारी संस्थाको आवश्यकता पूरा गरिदिने उनको भनाइ छ ।
९ वडा अध्यक्ष रविन्द्र ज्याख्वले सहकारीप्रतिको विश्वसनीयता सबै सदस्यको साथ रहेको स्पष्ट पार्दै भक्तपुर नगरपालिका कार्यक्षेत्र रहेका १५० वटा सहकारी संस्थाको अनुगमन नगरपालिकाले गरिरहेको बताए । भक्तपुर महोत्सव र वडाका गतिविधिबारे जानकारी दिँदै उनले नयाँ पुस्तालाई लोप हुन लागेका बाजागाजा र कला संस्कृति सिकाउँदै जानुपर्ने बताए ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरि बल्लले केन्द्र र संघीय ऐन आफै बाँझिएको र त्यसले सहकारी संस्थालाई अन्योलता प्रदान गरेको बताए ।संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति बलराम प्रजापतिले भक्तपुर बचतले प्रशासनिक र व्यवस्थापकीय गरी हाल दुई वटा भवन रहेकोमा खुशी व्यक्त गर्दै यसले संस्थाको प्रगति गर्न सघाउ पुग्ने बताए ।भवन निर्माण उपसमितिका सदस्य एवं प्राविधिक विष्णुकुमार प्रजापतिले भवनका प्राविधिक पक्ष र प्रयोजनबारे बताए । भवन निर्माण उपसमितिका संयोजक तथा संस्थाका उपाध्यक्ष निर्मल प्रजापतिले भवनको लागत इष्टमेट अनुमानित भन्दा केही बढेको बताए । जस्मा २ करोड ५० लाख अनुमानित बजेट रहेको बताए । कार्यक्रममा संस्थाका सचिव लक्ष्मीप्रसाद कुसीले पनि बोलेका थिए ।