भक्तपुर, २४ माघ
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा यहि माघ २५ र २६ गते हुन गईरहेको प्रतियोगितात्मक धिमेबाजा प्रतिस्पर्धा स्वस्थ ढंगले सञ्चालन गर्ने योजना रहेको बताउदै यो साँस्कृतिक प्रतियोगिताले चैत ४–८ गतेसम्म हुने भक्तपुर महोत्सवलाई टेवा पुग्ने बताए ।
उनले प्रतियोगिताको मूल्यांकन दर्शकले गर्ने हुनाले दर्शकलाई आकर्षक ढंगले बाजा बजाएर सबैको मन जित्न सफल हुनेगरी आफ्नो कलालाई प्रतियोगितामा प्रस्तुत गर्नुपर्ने बताए ।
यस प्रतियोगितामा भक्तपुर जिल्लाबाट ७७ वटा बाजा समूहले भाग लिनु सुखद् भएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर महोत्सवको तयारीमा नगरपालिका तदारुकताका साथ अगाडि बढिरहेको छ भने ।
नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न भनपाले भक्तपुर महोत्सव आयोजना गरेको जानकारी दिन्दै उनले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल र ज्ञानविज्ञानको केन्द्रको रुपमा क्रमशः विकास गर्दै लाने नगरपालिकाको उद्देश्य रहेको बताए ।
कार्यक्रममा भनपा–७ का वडाध्यक्ष उकेश कवांले देशको मौलिक पहिचान जोगाउन नगरपालिकाले प्रत्येक वर्ष विभिन्न साँस्कृतिक प्रतियोगिताको आयोजना गर्दै आएको बताउदै प्रतियोगितामा आफ्नो प्रतिभा इमान्दारीपूर्वक प्रस्तुत गर्न आग्रह गरे ।
कार्यक्रममा भनपा–९का वडाध्यक्ष रविन्द्र ज्याख्वले प्रतियोगिताका नियम, बजार परिक्रमा, अंकभार र पुरस्कारको बारेमा उपस्थित सँस्कृतिकर्मीहरुलाई प्रष्ट्याए ।