ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका प्रतिनिधिमण्डल टोली भक्तपुर नगरपालिका भ्रमणमा

विशेष समाचार समाचार

भक्तपुर, २४ माघ


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङ नेतृत्वको टोलीले शुक्रबार नपाको सभाकक्षमा भेट गर्यो ।
टोलीलाई भक्तपुर नपामा स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नगरको परिचय र नगरपालिकाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा गरिरहेको गतिविधिहरूबारे संक्षेपमा अवगत गराए ।


भक्तपुर नगरपालिकाले जनतालाई समयमै कर तिर्न उत्साहित बनाउँदै आइरहेको प्रसंग कोट्याउदै प्रमुख प्रजापतिले एनजीओ÷आइएनजीओले गर्ने कामहरू नगरपालिकाले स्वयम्ले गरिरहेको र भक्तपुर नपामा एनजीओ र आइएनजीओहरूको स्वीकृतिमा रोक लगाइरहेको बताए ।
भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुले देशभरिका विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ भन्दै उनले भक्तपुर नपाले सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताए ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले भूकम्प प्रतिरोधी घर निर्माण गर्न भक्तपुरका डकर्मी, सिकर्मीलगायतका कालीगढ दक्ष र अनुभवी भएको बताए ।


भेटमा मिक्वाखोला गाउँपालिकाका प्रप्रअ योगेन्द्रराज गुरुङ, गाउँपालिका महासंघका कार्यकारी निर्देशक विमल पोखरेललगायतले विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा भक्तपुर नगरपालिका सबै स्थानीय तहहरूको लागि उदाहरणीय रहेको बताउदै उपभोक्ता समितिको सफल कार्यान्वयन भक्तपुर नगरपालिकाले गरिरहेको बताए ।
प्रतिनिधिमण्डल टोलीलाई नगर प्रमुख प्रजापतिले भक्तपुरको प्रसिद्ध मयुर झ्याल, नपाद्वारा प्रकाशित प्रकाशनहरू उपहारस्वरुप प्रदान गरेको थियो । टोलीले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको स्थलगत अवलोकन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *